ताजा अपडेट »

शुरु भयो पर्वतीय उडान, १० महिनापछि यतीको पहिलो उडान

शनिबार, २० मंसिर २०७७, १३ : ०४
2 Shares

काठमाण्डौं । बन्दाबन्दीको करिब आठ महिनापछि आजदेखि नियमित पर्वतीय उडान शुरुआत भएको छ । कोभिड-१९ सङ्क्रमणका कारण बन्द रहेको मुलुकको पर्वतीय उडान औपचारिकरुपमा खुलेको हो । महामारीका कारण विदेशी पर्यटक नभए पनि आन्तरिक पर्यटकलाई लक्षित गर्दै निजी क्षेत्रका ठूला वायुसेवा कम्पनी बुद्ध एयर र यती एयरलाइन्सले पर्वतीय उडान शुरु गरेका हुन् । बुद्ध एयरले आज एक एटिआर-७२ र दुई थान एटिआर-४२ जहाजमार्फत तीन उडान गर्यो । जम्मा १५० यात्रु पर्वतीय उडानमा सहभागी थिए । त्यस्तै यती एयरलाइन्सले एक एटिआर-७२ र एक जेटस्ट्रिम जहाजबाट ९२ यात्रुलाई पर्वतीय उडान गराएको कम्पनीले जनाएको छ । यी दुवै कम्पनीले अब हरेक शनिबार पर्वतीय उडान गर्नेछन् । यात्रुको माग बढेमा उडान थप्ने उनीहरुको योजना छ ।

यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले शुरुआती पर्वतीय उडान उत्साहववर्द्धक रहेको र थप उडानको बुकिङसमेत राम्रो रहेकाले बीचमा उडान सङ्ख्या पनि बढाउन सकिने बताए । यतीले हरेक शनिबार दुई पर्वतीय उडान गर्नेछ । बुद्ध एयरले पनि तीन उडान गर्ने जनाएको छ । सामान्य अवस्थामा बुद्धले पर्यटकीय मौसममा दैनिक आठदेखि नौ र कम्तीमा चार उडान गर्ने गरेको थियो । बुद्धले पर्वतीय उडानका लागि रु आठ हजार ९०० भाडादर तोकेको छ । अहिले पर्वतीय उडानका लागि अनुकूल मौसम मानिन्छ । सर्वोच्च शिखर सगरमाथासहितका आकर्षक एवं मनोरम हिमश्रङ्खला दृश्यावलोकनका लागि पर्वतीय उडान निकै आकर्षक मानिन्छ । पर्वतीय उडानका लागि स्वदेशी तथा विदेशी यात्रु निकै लालायीत हुन्छन् ।

आन्तरिक पर्यटलाई आकर्षण गर्नेगरी एयरलाइन्सले छुट तथा अफरसहित पर्वतीय उडान सञ्चालन गरेका हुन् । बुद्ध र यतीले पर्वतीय उडानका यात्रुले एक टिकट खरिद गर्दा थप एक टिकट निःशुल्कको व्यवस्था गरेका छन् । कोरोना सङ्क्रमण कायमै रहेको र विदेशी पर्यटक उल्लेख्य सङ्ख्यामा नआएकाले पनि एयरलाइन्सले आन्तरिक पर्यटकलाई आकर्षण गर्न उडान शुरु गरेका छन् । शनिबार बिदाको समय भएकाले परिवार आफन्त तथा साथीभाइ घुम्न सहज र सुलभ होस् भन्ने हेतुले अहिलेलाई अफर ल्याइएको एयरलाइन्सले जनाएका छन् ।

१० महिनापछि यतीको पहिलो उडान

झण्डै १० महिनापछि आज यती यरलाइन्सले पहिलो पर्वतीय उडान गरेको छ । कम्पनीले प्रत्येक आज एउटा उडान गर्नेगरी बुकिङ शुरु गरेको भए पनि यात्रुको मागबमोजिम दुई उडान गरिएको विज्ञप्तिमार्फत जनाएको हो । एयरलाइन्सका हवाई सुरक्षा प्रमुखसमेत रहेका प्रवक्ता सुदर्शन बर्तौलाले यात्रुको माग बढेकाले अब प्रत्येक शनिबार एटीआर-७२ जहाजमार्फत दुई वटा पर्वतीय उडान हुने बताए ।

‘हाम्रो सगरमाथाकै उचाइ बराबरको भाडादरमा दुई वटा टिकट पाइने आकर्षक प्याकेज, सङ्क्रमणरहित उडानका लागि हामीले अपनाएका विधि र प्रक्रियाप्रति यात्रुको विश्वास बढेकाले हामीलाई अझ उत्साहित बनाएको छ’, उनले भने । बिहान ७ः२० मा पहिलो उडान भरेको यतीले आज ९२ जना यात्रुलाई पर्वतीय उडानमा लगेको थियो । नेपाली यात्रु तथा आवासीय विदेशी नागरिक र भारतीय नागरिकका लागि छुट्टाछुट्टै प्याकेज ल्याएको यतीले दुई टिकटका लागि क्रमशः रु आठ हजार ८४८र र १३ हराज २७५ भाडादर तोकेको छ ।

पर्वतीय उडान काठमाडौँबाट आवतजावत गरी एक घण्टाको हुन्छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट उडान शुरु भई गणेश हिमाल, सगरमाथा हुँदै कञ्चनजङ्घा हिमाल नजिक पुगेर पुनःकाठमाडौँमा अवतरण हुन्छ । अग्ला हिमालसँगै महाभारत पर्वत शृङ्खलाको रमणीय दृश्य हेर्न स्वदेशी तथा विदेशी पर्यटक लालायीत हुन्छन् । आन्तरिक उडानका लागि हाल १० हेलिकप्टर कम्पनीसहित १९ वटा वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् ।

https://www.globalaawaj.com/archives/67127
रासस
लेखकको बारेमा
रासस