ताजा अपडेट »

कविता : कलम

शुक्रबार, १९ मंसिर २०७७, १९ : ५३
116 Shares

अचेल महँगीले
तारा छुने यान चढेको छ ।
नबढ्नुपर्नेको भाउ बढेको छ
तर,
घट्दैन पेटको क्षेत्रफल
घट्दैन भोकको आयतन
बरु बढेको छ आँसुको गहिराइ
अहँ ! कतै छैनन् माझीहरु
कतै देखिँदैनन् डुङ्गाहरु
महङ्गीको कालो बादलभित्र पूरै देश डुबेको छ
र अचेल कलमले पनि मौनधारण गर्न थालेको छ ।

देशको लगभग आधा ब्रह्माण्डले
एउटै शरीर लिएर सत्ता चलाइरहेको छ
शक्तिको चङ्गुलभित्र फसेका छन्
कलम र आवाजहरु ।
कलमलाई मौनधारण गर्न लगाइएको छ
भने आवाजलाई जेल पठाइएको छ।
र त उनीहरु बोल्दैनन् भोका पेटहरुको पीडा
सुन्दैनन् नाङ्गा छालाहरुको चित्कार ।

देश दुख्दा नदुख्ने कस्तो कलम हो रु
चेली रुँदा आँसु नपुछिदिने कस्तो कलम हो ?
आमा खोसिँदा रक्षा नगर्ने कस्तो कलम हो र?
बाको साहस लुटिँदा उजुरी नगर्ने कस्तो कलम हो ?
धरा बलात्कारमा पर्दा मूकदर्शक बन्ने कस्तो कलम हो ?
लेख्न बिर्सिने कस्तो कलम हो ?
त्यो कलम होइन जसले पाइला सार्दैन
त्यो कलम हो जो अन्यायविरुद्ध यात्रा गर्छ ।

आउ साथी
निदाएका कलमहरुलाई उठाऔँ
अल्छी कलमहरुलाई जाँगर उपहार दिऔँ
बिकाउ कलमको छातीमा मिसाइल पड्काऔँ
घाइते कलमहरुको उपचार गरौँ
मृत कलमको दाहसंस्कार गरौँ
र बुझौँ,
आमाको श्यामश्वेत चेहेरामा रंग भर्ने
एकमात्र पहिलो शर्त कलम हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।