ताजा अपडेट »

चितवनमा प्रदेश ३ को लगानी सम्मेलन

शुक्रबार, ०६ बैशाख २०७६, १९ : २६
4 Shares

वैशाख ६,

काठामाण्डौं । चितवनमा शुक्रबार र शनिबार लगानीकर्तासँग बृहत् अन्तक्रिया कार्यक्रम हुँदैछ । प्रदेश ३ मा लगानी भित्र्याउनका लागि बृहत् अन्तक्रिया कार्यक्रम हुन लागेको हो । प्रदेश सरकारको प्रदेश नीति तथा योजना आयोगले लगानी सम्मेलनकै ढाँचामा बृहत् कार्यक्रम गर्न लागेको हो । आयोगका उपाध्यक्ष डा. खिमलाल देवकोटाले अन्तक्रिया कार्यक्रममा निजी क्षेत्रलाई गुणस्तरीय पूर्वाधार, उद्योग, विशिष्टीकृत सेवा, विशिष्टीकृत कृषि र सम्पदामैत्री पर्यटन गरी पाँच वटा क्षेत्रमा लगानी केन्द्रीकृत गर्न उत्प्रेरित गरिने बताए ।

तीन नं प्रदेशमा संघीय राजधानी रहेको भन्दै उनले देशको २१ प्रतिशत जनता यही क्षेत्रमा बसोबास गर्ने जानकारी दिए । अत्यधिक माग रहेको र साधन स्रोतको हिसाबले पनि सम्पन्न यस प्रदेशमा लगानीका धेरै अवसर रहेको उनले बताए ।कार्यक्रममा लगानीका क्षेत्रहरुलाई प्रस्ट्याइने बताउँदै उनले १३ जिल्लाका उद्योगी–व्यवसायी, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष, राष्ट्रिय पूँजीपति तथा उद्योगपति छलफलमा सहभागी जानकारी दिए ।

प्रदेश नं. ३ का विभागीय मन्त्रीहरुले आ–आफ्नो क्षेत्रको छलफलमा अध्यक्षता ग्रहण गरी गहिराइमा विज्ञहरुसहित छलफल गरिने पनि सो अवसरमा जानकारी दिइयो । कार्यक्रममा पहिलो दिन दुई वटा कार्यपत्र र दोस्रो दिन विशेष क्षेत्रका विज्ञबाट पाँच वटा कार्यपत्र प्रस्तुत हुनेछन् । मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जगन्नाथ थपलियाले यो कार्यक्रमले निजी क्षेत्रलाई लगानी गर्न प्रोत्साहित गर्ने बताए । लगानीकर्ताको सुरक्षा र सहजीकरण प्रदेश सरकारले गर्ने बताउँदै उनले ढुक्क भएर लगानी गर्न सक्ने वातावरण सिर्जना गरिने बताए । -रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।