ताजा अपडेट »

कोरोनाले खस्कियो शिकार : एक झारल र एक नाउर मात्र शिकार

विहीबार, १८ मंसिर २०७७, १३ : ०५
14 Shares

गलकोट । कोरोना कहरले बागलुङको शिकार पर्यटन खस्किएको छ । कोरोना कहर हुन्थेन भने यतिबेला बागलुङको ढोरपाटन शिकार आरक्षमा विदेशी पर्यटकको चहल पहल हुन्थ्यो । यस वर्षको पहिलो शिकार याम शुरु भइसके पनि कोरोनाका कारण विदेशी शिकारी कम आउँदा जम्मा एक झारल र एक नाउरको मात्र शिकार भएको छ भने शिकारसँग जोडिएको पर्यटन खस्किएको छ ।

कोरोना अगाडि धेरै नाउर र झारल शिकार गर्ने नेपालको एक मात्रै शिकार आरक्षण ढोरपाटन शिकार आरक्षण बागलुङमा यस वर्षको पहिलो शिकारयाममा जम्मा एक नाउर र एक झारलको मात्रा शिकार भएको ढोरपाटन शिकार आरक्ष कार्यालयले जनाएको छ । कोरोना त्रासले गत वर्षको चैतदेखि शिकार हुन नसकेको आरक्षमा यस वर्षको पहिलो याममा तोकिएको एक झारल र एक नाउरको शिकार भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले चालू आर्थिक वर्षको पहिलो याममा १० नाउर र ६ झारलको शिकारको लागि असोज ९ गते बोलपत्र प्रकाशन गरेकोमा कोरोनाले गर्दा एउटा कम्पनीले मात्रै आवेदन दिएपछि यस वर्ष शिकार पर्यटन घटेको ढोरपाटन शिकार आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले जानकारी दिए ।

विभागले शिकारका लागि अन्र्तराष्ट्रिय बोलपत्र आह्वान गरे पनि नेपाल ट्राभल्स कम्पनीले मात्र प्रस्ताव पेश गरेको थियो । अन्य कम्पनीले नेपालमा कोरोनाका कारण देखाउँदै शिकार गर्न नआएका हुन् । शिकार आरक्षको धुस्तुङ्ग ब्लकमा एक झारल र एक नाउरको शिकार गर्न उक्त कम्पनीलाई अनुमति दिएको र सोही अनुरुप शिकार भएको ढोरपाटन शिकार आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले जानकारी दिए।

विभागको अनुमतिमा आएका शिकारी मङ्सिर ५ देखि ९ गतेसम्म उक्त ब्लकमा गएर एक नाउर र एक झारलको शिकार गरिएको हो । “गत वर्षको दोस्रो सिजनमा कोरोनाले गर्दा १० नाउर र पाँच झारलको शिकार अनुमतिमै सीमित हुन पुगेको थियो”, उनले भने, “यस अघि अनुमति लिए पनि बन्दाबन्दीले शिकार भएन ।” प्रमुख संरक्षण अधिकृत कँडेलका अनुसार कोरोनाले विदेशी शिकारी नगन्य मात्रमा आउँदा राजश्व घटेर शून्यजस्तै भएको छ भने आरक्षमा पर्यटकको चलहपहल ह्वात्तै घटेको पाइएको छ ।

नेपाल ट्राभल्स सफारी कम्पनीमार्फत बेल्जियम नागरिकले मात्रै यसपटक ढोरपाटनमा शिकार गरेका हुन् । विदेशी शिकारीले नाउरका लागि रु एक लाख ६० हजार र झारलको लागि रु ९० हजार राजश्व बुझाएका थिए । प्रतिस्पर्धा नहुँदा नाउर र झारलको शिकार मूल्य निकै घटेर गएको छ । शिकार अनुमति प्राप्त कम्पनीले १५ दिनको अवधिमा आरक्षबाट खटिएका कर्मचारीको प्रत्यक्ष निगरानीमा शिकार गर्ने व्यवस्था छ । आरक्षणमा शिकारका लागि अमेरिका, रसिया, स्पेनलगायत देशबाट धनाढ्य शिकारी हेलिकप्टर चार्टर गरी ढोरपाटन आउने गरेका छन् ।

आरक्षणमा असोज–मङ्सिर पहिलो र फागुन–वैशाख दोस्रोयाममा शिकार हुने गरेको छ । बागलुङ, रुकुम र म्याग्दी जिल्लाका केही भागमा यो शिकार आरक्ष फैलिएको छ । आरक्षलाई सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तिवाङ र घुस्तुङ गरी सात ब्लकमा विभाजन गरी शिकार खेल्न दिने व्यवस्था गरिएको छ । अहिले आरक्षणको सुरक्षाका लागि नेपाली सेनाको शत्रुमर्दन गुल्मसमेत आरक्ष क्षेत्रमा स्थापना गरिएको छ ।

कोरोनाअघि हिमालयन सफारिज, ग्लोबल सफारिज, नेपाल वाइल्ड लाइफ एडभेन्चर, हिमालय आउटफिटर, ट्रयाक एण्ड ट्रेल्स, नेपाल वाइल्ड फाइ, समारीलगायत कम्पनीमार्फत शिकारका लागि शिकारी आउने गरेका थिए । कोरोना कहरका कारण यस वर्ष अन्य कम्पनीले बोलपत्रै भरेनन् ।

रासस
लेखकको बारेमा
रासस