ताजा अपडेट »

कोरोनाको किरिया : कोरोनाबाट मुक्ति पाएपछि...

मंगलबार, १६ मंसिर २०७७, १८ : ४९
4 Shares

कोरोनाले मलाई करिव एक महिना थुनेर आफू खुब सयर गर्यो। कोरोना प्रमाणित भएको १३ दिनपछि पुनः परीक्षण गर्दा म फेरि सकारात्मक भएँ । त्यसले सुरुको कोरोना पोजेटिभभन्दा झन् तनाव दियो । सीटी भ्यालू झन् घटेर आयो । मोबाईलमा पोजेटिभको सन्देश आउँदा श्रीमतीसँगै खाना खाँदै थिएँ । निधारमा चिट्चिट् पसिना आयो । छाती कस्सिएको भान भो । कोठामा हामी घुमे जस्तै भयौं । गिलासको पानी सिनित्तै पिएँ र म हात धुन निस्किएँ ।

श्रीमती र म दुबै पोजेटिभ थियौं । छोराले खाना पकाएर खुवाउँथ्यो । उसको कक्षा १२ को अन्तिम परीक्षा सुरु हुन केही समय बाँकी थियो । छोरोको पनि कोरोना परीक्षण गर्दा उ नकारात्मक देखियो । तर खाजा, खाना र हामी बाबुआमाको स्याहार सुसार गर्दा पढ्न मुस्किल भयो । तैपनि उसले असल सन्तानको भूमिका निर्वाह ग¥यो । उसको मनोविज्ञान कस्तो भयो होला मलाई बुझ्न कठिन थिएन । उता नजिक आइरहेको परीक्षा यता बाबुआमा दुबै कोरोनाबाट सकारात्मक ?

मलाई तीन दिन अत्यधिक ज्वरो आयो अनि बिसेक भयो । खोकी १२ दिनसम्म अखण्ड लागि रह्यो । साथीहरुको फोन आउँदा समेत उठाइन । पाँच मिनेट बोलेमा १५ मिनेट कुकुरे खोकी खोक्नु पर्ने बाध्यता थियो । डाक्टरको सल्लाहमा नै मैले खोकीको झोल ओखती ४ फाइल र एण्टीबायोटिक एक साता खाएँ । एक दिन क्रिमसन हस्पिटलमा बुढाबुढी भएर छातीको एक्सरे गर्न गयौं । डाक्टर मनीष विकले थप दुई दिनका लागि औषधी थपिदिए । शरीर कमजोरीले हुइया भएको थियो ।

हिन्दू संस्कारमा मान्छे मरेको १३ दिनपछि किरिया गरेर उम्किने चलन हुन्छ । मैले १३ दिनमा दाह्री फालें । अटो साईज नुहाइधुवाइँ गरें । एनपिएल,बुटवलमा पुनः स्वाब परीक्षण गर्न गएको थिएँ तर दुर्भाग्य कोरोनाको किरिया गरेर उम्किन सकिनँ । फेरि परीक्षण गर्दा बल्ल नकारात्मक देखिएँ । दुईपटक किरिया गर्न पर्यो अर्थात् २६ दिन लाग्यो मलाई कोरोनालाई जित्नका लागि । हाम्रा बाबाआमाका मृत्युमा हामीले किरिया गरेनौं कारण बौद्ध परम्परामा लामा,गुरु आफैले किरिया गरिदिने संस्कार रहेछ । दाउन्नेमा हामीले मृतक बाबा आमाको लास जलाएका थियौं । नून बार्नु परेन । सेतो कोरा लगाउन परेको थिएन । कपाल खौरिनु अनिवार्य थिएन । तैपनि हामी हिन्दू समाजमा बसेको कारण र हामीले नै काट्छौं कपाल भनेर पाँचै दाइभाइहरुले काटेका थियौं ।

आज साँचिक्कै मैले बाबाआमाको साटो कोरोनाको किरिया गरें २६ दिनमा । आकासतिर फर्किएको लामालामा कपाल काटें । तिलचाम्ले दाह्रीजुंघा खौरिन सैलुन पुगें । सैलुनको ठाकुर भैयाले किन यति लामो पालेको भनेर सोध्यो । मैले कोरोनाको कारण सैलुन आउन डर लाग्यो भनें । उसले टाउको हल्लाएको ऐनामा देखें । बाथरुमा पसेर महिना दिनको सातपत्रे मयल फालें । शरीर देख्न नपाएको साबुनले मच्चिमच्चि शरीरमा चिप्लेटी खेल्यो । तातोपानीले नुहाउँदा शरीर हलुको भो । किरियाबाट उम्किएका किरियापुत्री जस्तै म पनि उन्मुक्त भएँ । संसार जितेको भान भो ।

कोरोनाका लक्ष्ण/चिन्हहरु फरक फरक देखिदो रहेछ ब्यक्ति अनुसार । कसैलाई टाउको दुख्ने, शरीर पिटेको जस्तै दुख्ने,रुघा लाग्ने,पखाला लाग्ने, कसैलाई कब्जियत हुने, सिंगान बगिरहने, पिडौंला फर्किने, श्वास फेर्न सकस हुने, खोकी लाग्ने, दम बढ्ने पनि हुँदो रहेछ । कहिलेकाँही घाँटी कस्सिएको झैं हुने,छाती चर्किने र टाउको दुख्ने कारण मलाई अप्ठ्यारो भइरहन्थ्यो । मेरी श्रीमतीलाई खाना नरुच्ने, स्वाद नआउने वा गन्ध वा बास्ना केही थाहा नपाउने कारण थप समस्या भइरहन्थ्यो । हामीले विहे गरेको २३ वर्ष पुग्दैछ । विहे गरेर यसरी संगै बसेको पहिलो कीर्तिमान हो । कोरोनाले कनेक्सन समेत गरायो । मनोवैज्ञानिक र भौतिक पीडाले गर्दा लाग्थ्यो–कतै हामी दुईजना नै सँगै,साथ लागेर मृत्युको पहाड चढ्नु पर्ने बाध्यता त आउन्न ? कतै छोरोलाई एक्लो बनाएर गइने त होइन ! यही कुराले तनाव हुन्थ्यो घरिघरि । म दीर्घरोगी । श्रीमतीलाई भनिरहन्थें–मलाई केही भएपनि तिमीलाई खासै केही हुने छैन । छोरोको सहारा तिमी नै हुनेछ्यौ । नभन्दै १७ दिनमा श्रीमतीको कोरोना नकारात्मक देखियो । खुसीको सीमा रहेन तर उनी मेरो नतीजाको पर्खाइमा थिइन् ।

कोरोना लागेको सूचना गर्ने कि नाइँ भन्ने द्विविधा थियो तर मैले कवितामार्फत फेसबुक वालमा सूचित गरें । धेरैले कविता राम्रो भने तर म संक्रमित भएको पत्तै पाएनन् । फेरि मैले अनलाइनमा लेखहरु लेख्दै कोरोनाको संक्रमण हुँदा देखिने स्वास्थ्य समस्याहरु र आफ्नो अनुभवहरु लेखिरहें । म आफै सञ्चारकर्मी र स्वास्थ्यकर्मी भएकोले रोग लुकाउन हुन्न भन्नेमा ढुक्क थिएँ । तैपनि हामीले काभ्रेमा भएका सासुससुरालाई आफ्नो समस्या बताएनौं । उनीहरुले पीर मान्लान् भन्ने डर र त्रासले गर्दा नबताएका हौं ।

आफूहरुलाई परेको समस्याहरुका बारेमा घरिघरि साहित्यकार एवम् डाक्टर रबीन्द्र समीर,डाक्टर मनोज ढुंगाना,डा.सागर न्यौपानेसँग सोधिरहन्थें । आवश्यक सुझाव पालन गथ्र्यौं । आत्मबलले नै कोरोना जितिन्छ र लक्ष्ण अनुसारको (सिम्टोमेट्रिक ) उपचार गर्नुपर्छ भनेर सुझाव दिइरहन्थे । औषधी व्यवसायी संघ,रुपन्देहीका अध्यक्ष एवम् छिमेकी सुरज भट्टराई ओखती नै बनेर आए हाम्रा लागि । छिमेकीहरु हरि सर, गैरे बा, ढकाल बाहरुले फोन गरेर अवस्था बुझिरहन्थे । यसको अर्थ छिमेकी हुनुको गहिराई र सम्बन्ध बुझ्न सजिलो हुँदो रहेछ ।

एउटै घरमा बस्ने मीन राना सहारा नै बने । घरमा चाहिने हर सामानहरु उनलाई अनुरोध गथ्यौं । अभाव र कष्टमा नै मित्रताको परिचय खुल्दो रहेछ । उनको सहयोग हाम्रा लागि सम्झन लायक बन्यो । तलमाथि कोठामा बसेर म्यासेन्जरमा कुरा गथ्यौं हामीले । दोभानबाट राजेश सर, अमर सर, सन्तोष सर, रवीन्द्र सर, सुरज सर, कमल सर, लोक सर लगायत साथीहरुले फोन गरिरहन्थे । तोयाको जिज्ञासालाई मेसेन्जरमा पूर्ति गर्थे । चक्रव्यूह थापा, बुद्ध दाइ, सिद्धबाबाका पण्डितहरु र विष्णु बहिनीको सम्झना कम्तिको थिएन । भैरहवाबाट रुपकुमार रायमाझी,झुम्साबाट महेन्द्र पाण्डेय, शिव सर, कृष्ण पाण्डेय लगायतले हालखबर र स्वास्थ्य लाभको कामना गर्दा आत्मबल थपिन्थ्यो ।

खोकीको कारण संघीय सांसद माननीय सोमप्रसाद पाण्डेय, लुम्बिनी प्रदेशसभाका सांसद माननीय वसन्त घर्तिमगर र मुख्यमन्त्रीका प्रेस सल्लाहकार मित्र शेरबहादुर केसीको फोन उठाउन पाइन । लुम्बिनी प्रदेशका सांसदहरु रमा घर्ति र गीता थापाले मेसेन्जरबाट स्वास्थ्यका बारेमा बुझिरहँदा खुसी लाग्थ्यो । डाक्टर मुरारि पराजुली, साहित्यकार देवेन्द्र दाइ, मित्र गौतम, जिउँदा जीवराज वृत्तचित्र निर्माण उपसमितिका संयोजक कुमार थापा, निर्देशक मनीष पन्थको हाम्रो परिवारप्रतिको चासो र चिन्ता जीवनभरिका लागि ऋण बन्ने भो । बुटवल खानेपानी संस्थानका हाकिम साहेव र तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीमगर, गाउँपालिकाका अधिकृत टेकप्रसाद घिमिरेले कोरोनाका बारेमा भनेका कुरा मेरा लागि प्रेरणाका स्रोत भए । घरमा बसेर कति सुत्नु,कति किताव पढ्नू र कति मोबाईल चलाउनू ? वाक्क लाग्थ्यो । इन्द्रेणी कार्यक्रममा रमेश प्रसाई,राजु परियार, टीका सानु, कल्पना दहाल, मिलन टमाटा,प्रिन्स लम्साल, कमला घिमिरे, रबिना बसेल, कृष्णा बजगाइँ, छत्र शाहीका गीतसँगै कृष्ण कंडेलको टुक्काले मन ढुक्क हुन्थ्यो ।

साथीहरु सुन्दर बासी र भेषराज घरमै भेट्न आए । राजनीतिक कुराकानी भए । शैक्षिक अवस्थाका चासो ब्यक्त गरिए । माधव गौतम र माधवकुमार पौडेलहरुसँग किताबका कुरा भए । खुब पढ्न सुझाए उनीहरुले । सोही मेसोमा जीवा लामिछानेको देश देशावर, सरसर्ती संसार, अर्चना थापाले सम्पादन गरेको पुस्तक स्मृतिकथामा सत्व, मनोज पण्डितको सिनेमा मन्थन पढें । स्मृतिकथामा सत्व पुस्तक पढ्न युवा अध्येता रामचन्द्र श्रेष्ठले सुझाएका थिए ।

कोरोना एउटा रोग तर त्यसले देखाउने लक्ष्ण तथा चिन्ह फरक फरक भएझैं मैले पनि फरक फरक व्यक्तित्तब्यक्तित्वसँग यहीबेला फोन, मेसेन्जर र प्रत्यक्ष रुपमा भेट्ने अवसर पाएँ । जीवा लामिछानेसँग साथी भइयो । मेसेन्जरमा उनले मेरो स्वास्थ्यलाभका लागि गरेको शुभेच्छाले मलाई थप उत्सकु बनायो । मेरा बहिनी तथा मित्रहरु गौरी तमू, जगमाया घले, पूर्णकला गुरुङ, वसन्ती झाँक्री, जुनु आचार्य, धनकुमारी अर्याल, दिलु मगर, भुवनसिंह दाजुको उत्साहवद्र्धक सम्झना र छिटो निको हुन गरेको पुकार मेरा लागि उत्प्रेरणा भए ।

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी,उपप्रमुख गोमा आचार्य, देवदह नपाकी उपप्रमुख विद्यालक्ष्मी गुरुङ, सैनामैना नपाकी उपप्रमुख बिना राना, बुटवल नगर योजना आयोगका सचिव मेघराज भट्टराई लगायतको टेलिफोन सन्देश मेरा लागि जीवनभरका लागि अविस्मरणीय रहने छ । डोल्पोबाट मित्र गौतम पौडेल र काठमाडौबाट तिलक ढकाल सरको आत्मबल दिने उत्साहप्रदक एवम् उल्लेखनीय सुझावले मलाई कोरोना जित्न बल मिल्यो । धेरै साथीहरुको नाम उल्लेख गर्न सकेको छैन । सबै मेरा लागि उत्तिकै प्रिय छन् ।

आइसोलेसनबाट पत्रकार भाइ बिनोद परियारले फोन गरेर सम्झेका थिए । आफ्नोकोरोना कहर नागरिक अनलाइनमा लेखेका थिए । धेरैले कोरोना केही होइन भनेको सुनेको थिएँ । केहीले कोरोना खतरा हो भनेको बुझेको थिएँ । तर कोरोनाप्रति अति विचार राख्नु हुँदैन भन्ने लाग्यो । कोरोना रोग हो । ख्याल गर्नु पर्दोरहेछ । ख्याल ख्याल गर्दा स्याल पल्टिन केही बेर नलाग्दो रहेछ । मैले यही बुझें । कोरोनाको ओखती भनेकै आत्मबल रहेछ । मनोवैज्ञानिक त्रास हटाउन सक्नु पर्दोरहेछ । मेरी श्रीमतीले कोरोनाको समाचार आउँछ भनेर डरले रेडियोमा समाचार नसुनेको कुराले मलाई आज पनि मनोविज्ञान बुझ्न टाढा जान पर्दैन ।

मंसीर १५ गतेसम्म एक हजार पाँच सय आठ जनाको कोरोनाले नेपालमा ज्यान लगेको कुनै ठट्टाको विषय होइन । मैले अब कोरोनाबाट सिकेको कुरा बताउनु छ मेरै समाजमा । बरु डर यो पो लागि रहेको छ –कोरोनाबाट संक्रमितहरुको फोक्सो ९० प्रतिशत् ड्यामेज हुन्छ र धेरै बाँच्न सक्दैनन भन्ने मन गढन्ते कुराहरुलाई यस्तै लेखहरुबाट हटाउनु छ । गतिलो सन्देश दिनु छ । सकेसम्म सचेत रहौं र कोरोनाबाट टाढा रहौं । यो रोग लागि हालेमा सर्तकतापूर्वक चिकित्सकको सल्लाहमा उपचार गरौं । आइसोलनमा बसौं । कोरोनाको किरिया बस्नु पर्ने दिन कसैलाई नआओस् ।

https://www.globalaawaj.com/archives/65000
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।