January 25, 2021, Monday
२०७७ माघ १२, सोमबार

आवास ग्रुपमा १४ उद्योग : एकैदिन २ को शिलान्यास ,१ को शुभारम्भ

६ महिना भित्र सञ्चालनमा आउने ,थप ८ सय जनालाई रोजगार

1.9K

बुटवल । आवास ग्रुपले थप दुई उद्योग स्थापना गर्ने भएको छ । हालसम्म ११ वटा उद्योग सञ्चालनमा ल्याएको ग्रुपले सोमबार दुई ओटा उद्योगको शिलान्यास गरेको छ भने स्थापित एकको शुभारम्भ गरेको छ । ग्रुपले रुपन्देहीको तिलोत्तमा एक र देवदह नगरपालिकामा एक गरी थप दुई उद्योग निर्माणका लागि शिलान्यास गरेको छ । जस अन्तर्गत तिलोत्तमा–१७ कोटिहवामा ज्याकर पाइप्स एण्ड फिटिङ इण्डष्ट्रिज शिलान्यास उद्योगको शिलान्यास गरेको छ भने देवदह–१० भलुहीमा डुङ्गारी गार्मेण्ट इण्डष्ट्रिज प्रालिको शिलान्यास गरेको हो ।

तिलोत्तमामा बन्ने उद्योगको आवास गु्रपका थैव परिवारले सामुहिक रुपमा शिलान्यास गरेको आवास ग्रुपका प्रबन्ध निर्देशक महेश थैबले बताए । २० करोडको लागतमा बन्ने ज्याकर इण्डष्ट्रिज प्रालि,निर्माण सम्बन्धी सो उद्योगमा CPVC,PVC,UPVC ,HDPE पाइप तथा फिटिङका सामग्रीहरु उत्पादन हुने उनले बताए । उनले डेढ बिघामा निर्माण हुने उक्त उद्योगमा ३ सय जना रोजगार हुने बताए । त्यसैगरी देवदह–१० भलुही डुङ्गारी गार्मेण्ट इण्डष्ट्रिज प्रालिकोको नगर प्रमुख हिरा बहादुर केसीले शिलान्यास गरेका छन् । शिलान्यास कार्यक्रममा बोल्दै उनले उद्योग स्थापनाले स्थानीयमा रोजगारको सिर्जना हुने बताउँदै नगरको तर्फबाट सहकार्य गर्नेमा प्रतिवद्धता जनाए । २५ करोडको लागतमा बन्ने उक्त उद्योग निर्यातमूलक उद्योग रहेको प्रबन्ध निर्देशक थैबले बताए । उद्योगले जिन्सका कपडा,स्पोर्ट सूज उत्पादन गरी विदेश निर्यात गर्ने उनले बताए । सो उद्योगमा ५ सय जनाले रोजगारी प्राप्त गर्ने उनले जनाए ।

हालसम्म ११ वटा उद्योग सञ्चालनमा ल्याएको ग्रुपले १२ औं उद्योगको भने सोमबारबाट शुभारम्भ भएको छ । देवदहमा नै रहेको लिडर ट्याप्स एण्ड भल्भ उद्योगको नगरप्रमुख हिरा बहादुर केसीले शुभारम्भ गरेका हुन् । करिब ८ करोडमा सञ्चालनमा आएको सो उद्योगले खानेपानी सप्लायर्स निर्माणमा लाग्ने सामग्री,फिटिङका सामग्री , बाथरुम सेट उत्पादन गर्नेछ । उद्योगमा करिब एक सय जनाले रोजगार प्राप्त गर्ने प्रबन्ध निर्देशक महेश थैबले बताए । शिलान्यास भएका उद्योग ६ महिना भित्र निर्माण सम्पन्न गरी सुचारु गर्ने लक्ष्य रहेको र यसका लागि रातदिन काम हुने थैबले जनाए ।

पछिल्लो अपडेट