ताजा अपडेट »

संघीयताकोविरुद्धमा बुटवलमा विरोध

आइतबार, १४ मंसिर २०७७, १६ : ५३
8 Shares

बुटवल । संघीयताको विपक्षमा उभिएको राष्ट्रिय जनमोर्चाले आईतबार देशभर संघीयताको विरोधमा सभाहरु गरेको छ । राष्ट्रिय जनमोर्चाले रुपन्देहीको बुटवलमा पनि संघीयताको विरुद्ध विरोध सभा गरेको छ ।

सो अवसरमा बोल्दै राष्ट्रिय जनमोर्चाका नेता चन्द्रबहादुर केसीले संघीयताका कारण नेपालको अवस्था कमजोर भैसकेको बताए । उनले नेपाल र नेपाली जनताले संघीयतालाई धान्न नसक्ने बताउँदै प्रदेश खारेज गरी प्रदेश चलाउने खर्च शिक्षा र स्वास्थ्यमा खर्च गर्नुपर्ने बताए । नेपालको भौगोलिक, आर्थिक र सामाजिक अवस्थाले संघीयता थेग्नै नसक्ने नेता केसीको दाबी छ ।

भारतको ग्राइन डिजाइन र युरोपिएन युनियनहरुको स्वार्थमा ल्याइएको संघीयतालाई समयमा खारेज गर्न नसकिए भविष्यमा संघीयताले नेपालनै खारेज गर्न सक्ने नेता केसीको तर्क छ । उनले नेपालको राज्य, सरकारले जनताका आधारभूत समस्याहरु समाधान गर्न नसकेको बताउंदै हत्या, हिंसा, राष्ट्रघात, भ्रष्टाचार र अत्याचार बढेको बताए ।

यस्तै राष्ट्रिय जनमोर्चा रुपन्देही अध्यक्ष बद्रे आलमले संघीयताले जनतामा निरासा छाएको बताए । उनले राष्ट्रिय जनमोर्चाको एकल प्रयासले मात्र संघीयता खारेन सम्भव नभएकाले संघीयताविरुद्व संगठित भएर आन्दोलनमा उत्रन सबैलाई आग्रह गरे । संघीयताको नाममा राष्ट्रिय विखण्डन गर्ने, तराईलाई पहाडी भूभागबाट अल्ग्याउने, सामाजिक सद्भाव खल्बल्याउने, साम्प्रदायिक भड्काव पैदा गराउने काम भइरहेको आरोप लगाए ।

अखिल नेपाल किसान महासंघ रुपन्देही अध्यक्ष गणे गौतमले संघीयताले देशको विकास हुन्छ भन्नु गलत मानसिकता भएको उल्लेख गर्दै संघीयताले दशे ओरालो लागेको आरोप लगाए । राष्ट्रिय जनमोर्चा रुपन्देही उपाध्यक्ष इन्द्रिरा ज्ञवालीको अध्यक्षता र सचिव टानबहादुर केसीको सञ्चालनमा भएको कार्यक्रममा अखिल नेपाल महिला संघकी लक्ष्मी कुवंर र अखिल छैठौ रुपन्देही अध्यक्ष सरोजमान सिंहले संघीयताविरुद्धको संघर्षप्रति ऐक्यवद्धता जनाउन सबैलाई आग्रह गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।