ताजा अपडेट »

ट्राफिक प्रहरीलाई प्रोत्साहन भत्ता

शुक्रबार, ०६ बैशाख २०७६, १० : २६
6 Shares


वैशाख ६,

काठमाडौँ । ट्राफिक प्रहरीलाई प्रोत्साहन भत्तासरकारले काठमाडौँ उपत्यकामा काम गर्ने ट्राफिक प्रहरीलाई प्रोत्साहन भत्ता दिने भएको छ ।धुलो, धुँवा र अन्य कार्यालयमा भन्दा बढी समय सेवामा खटिनुपर्ने भएकाले ट्राफिक प्रहरीलाई सरकारले भत्ता दिन लागेको हो ।

भत्ताको व्यवस्थासहित ट्राफिक प्रहरीको प्रोत्साहन भत्ता व्यवस्थापन निर्देशिका–२०७५ समेत स्वीकृत भएको छ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ट्राफिक प्रहरीमा कार्यरत कार्यालय सहयोगी, सिपाही र हवल्दारका लागि ४० प्रतिशत, प्रहरी सहायक निरीक्षक र प्रहरी नायब निरीक्षकका लागि २० प्रतिशत र प्रहरी निरीक्षक र प्रहरी नायब उपरीक्षकका लागि १० प्रतिशत भत्ता पाउने व्यवस्था भएको जानकारी दिनुभयो ।ट्राफिक प्रहरीले आफ्नो तलबको आधारमा भत्ता पाउनेछन् ।

सरकारले विसं २०६९ मा ट्राफिक प्रहरीले उठाएको राजश्वको १५ प्रतिशत कमिसन ट्राफिक प्रहरीलाई दिने निर्णय गरेपछि आर्थिक वर्ष २०७०÷७१ मा मात्र ट्राफिक प्रहरीले अतिरिक्त भत्ता पाएका थिए । ट्राफिक प्रहरीले भत्ताकै लागि सवारी चालकसँग जथाभावी पैसा लिए भन्ने व्यापक गुनासो आएपछि सरकारले विसं २०७४ जेठ १५ गते उक्त कमिसन हटाएर अतिरिक्त भत्ता दिने निर्णय गरेको थियो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले सरकारले ट्राफिक प्रहरीलाई अतिरिक्त भत्ता दिने निर्णयसँगै ट्राफिक प्रहरीको मनोबल बढेको बताए । “जो धुवाँ, धुलो, घाम, पानी नभनी सडकमा खटिन्छन् त्यसलाई भत्ता दिने निर्णय गरेर सरकारले राम्रो काम गरेको छ”, उनले भने । महाशाखाका अनुसार काठमाडौँ उपत्यकामा एक हजार ८३ दरबन्दी भए पनि एक हजार ४०० हाराहारीमा ट्राफिक प्रहरी कार्यरत छन् । -रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।