ताजा अपडेट »

‘एसिया सेल्टर फोरम’को कार्यशाला काठमाडौंमा

आइतबार, १४ मंसिर २०७७, १३ : ३३
8 Shares

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र शहरी विकास मन्त्रालयअन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभागको नेतृत्वमा एसिया सेल्टर फोरमको चौथो कार्यशाला गोष्ठी काठमाडौंमा हुँदैछ । एसिया प्रशान्त क्षेत्रमा आएका विपद्पछि आवास प्रतिकार्यमा हासिल गरिएका बृहत् अनुभव आदानप्रदान गर्ने मूल अभिप्रायले गोष्ठीको आयोजना गर्न लागिएको हो ।

गत वर्ष इन्डोनेसियामा आयोजित तेस्रो कार्यशाला गोष्ठीको सर्वसम्मत निर्णयबाट चौथो कार्यशाला नेपालमा गर्ने निर्णय भएको थियो । कोभिड–१९ को महामारीका कारण यसपटक यो कार्यशाला अनलाइन विधिबाट गर्न लागिएको हो । अवस्था सामान्य भए २०७७ चैतमा भौतिक उपस्थितिमा सप्ताहव्यापी कार्यक्रम काठमाडौंमै आयोजना गरिने बताइएको छ ।

गोष्ठीमा राम्रा अभ्यासको सिकाइबाट समुदायको संलग्नतामा समुदायबाट नेतृत्व गरिएका सुरक्षित र प्रतिष्ठित आवास कार्यक्रमका प्रयासलाई उजागर गर्दै विपद् प्रतिकार्यमा सहकार्यका लागि सम्भावनाको खोजी गरिनेछ । फोरमले एसिया प्रशान्त क्षेत्रका आवास तथा आवासीय क्षेत्रमा काम गरिरहेका अभ्यासकर्तालाई एउटै मञ्चमा ल्याएर ज्ञान, सीप र अनुभव आदानप्रदान गर्नुका साथै आवास अभ्यासकर्ताको क्षमता अभिवृद्धिका लागि प्रयास गर्नेछ ।

विपद् प्रतिकार्यमा सहकार्य एवं सहयोग गर्ने समुदायका लागि परीक्षण गरिएका उपयुक्त समाधानका विधिको जानकारी दिने र प्राविधिक सहयोग उपलब्ध गराउने लक्ष्यका साथ फोरमले यो क्षेत्रमा आफ्नो सञ्जाल विस्तार गर्दै आएको छ । कार्यशाला गोष्ठीलाई हाउजिङ रिकोभरी एण्ड रिकन्स्ट्रसन प्लेटफर्म (एचआरआरपी), क्याथोलिक रिलिफ सर्भिसेस(सिआरएस), इन्टरनेसनल फेडरेसन अफ रेडक्रस एण्ड रेड क्रिसेन्ट सोसाइटिज(आइएफआरसी), युरोपियन युनियन(इयू), अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन(आइओएम), ह्याविट्याट फर ह्युम्यानिटी र गैरसरकारी संस्था महासंघले समन्वय गर्ने प्राधिकरणले जनाएको छ । कार्यशालाको उद्घाटन आइतबार प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले गर्नेछन् भने अध्यक्षता मन्त्रालयका सचिव डा रमेशप्रसाद सिंहले गर्नेछन् ।

रासस
लेखकको बारेमा
रासस