ताजा अपडेट »

एउटाे मास्टरकाे बकपत्र !

शनिबार, ०६ मंसिर २०७७, १८ : ३६
159 Shares

आम नेपाली बालबालिकाको जस्तै मेरो जीवनको लक्ष्य पनि डाक्टर वा ईञ्जिनियर बन्छु भन्ने थियो । कारणबस उक्त लक्ष्य बदलियो र शिक्षक हुन पुगें । प्रारम्भिक शिक्षा गाउँको विद्यालयबाट लिएँ । कक्षा चार देखि आवासीय विद्यार्थी भएर बोर्डिङ्ग स्कुलबाट माध्यमिक तहको पढाई पुरा गरें । ५० को दशकमा प्रथम श्रेणीमा प्रवेशिका परीक्षा उत्तीर्ण हुन सक्नु निकै गौरवको विषय मानिन्थ्यो । एस. एल. सी. नतिजामा उत्कृष्ट दश विद्यार्थीको नाम घोषणा हुन्थ्यो । हाम्रो ब्याचदेखि यो व्यवस्था हट्यो ।

पढ्नका लागि मात्र पढियो भन्दा पनि हुन्छ विद्यालय तहको औपचारिक शिक्षा । शैक्षिक उपलब्धिको रुपमा प्रतिशत र डिभिजनको महत्व खासै बुझेको थिइंन । अपेक्षित नतिजासहित एस. एल. सी. उत्तीर्ण भएपछि पिताजीको इच्छा अनुसार प्रविणता तहमा विज्ञान विषय रोजें । नेपालको पुरानो त्रि-चन्द्र क्याम्पसमा भर्ना भएँ । संगत रह्यो स्नातकोत्तर तहमा अध्ययन गर्ने अग्रज आफन्तहरुको । विज्ञानको विद्यार्थी भएतापनि संगत अर्थशास्त्र र अंग्रेजी साहित्य पढ्ने मामा डा. ध्रुब भट्टराई, भिमलाल अर्याल, डा. खगराज शर्मा, डा. खेमकुमार अर्यालहरुसँग भयो । पढाई–लेखाइका अतिरिक्त उहाँहरुबीचमा छलफल र बहस सुन्थें । बसाई थियो किर्तिपुर । उच्च शिक्षाका लागि देशभरीबाट आएका विद्यार्थीको भिडभाड हुन्थ्यो किर्तिपुरमा ।

फुर्सदको समयमा नजिकै रहेको त्रिभुवन विश्वविद्यालयको केन्द्रिय पुस्तकालयमा जान्थें । के पढ्ने, कसरी पढ्ने ? केहि मेसो हुन्थेन । पत्रपत्रीका, म्यागजिन र विज्ञानका पुस्तक हेरेर डेरामा फर्किन्थें । त्रि-चन्द्रमा राजेश आत्रेय भेटिए । उनी न्यू होराइजन स्कुल बुटवलका हाम्रो ब्याचका प्रथम विद्यार्थी रहेछन् । उनको संगतबाट अंग्रेजी पत्रीका र साहित्य पढ्न सिकें । त्यतिबेलासम्म पाठ्यपुस्तकभन्दा बाहिरका पुस्तक पनि पढ्नुपर्छ भन्ने चेत थिएन ममा । एकदिन जर्नालिज्म, जर्नालिष्ट भन्ने शब्दको अर्थ नबुझ्दा निकै लाजमर्दो अनुभव भयो । ममा ज्ञानको दायरा निकै साँघुरो रहेछ भन्ने बोध भयो । हुनत कक्षा ८, ९ र १० मा पढ्दा अतिरिक्त विषयको रुपमा मुनामदन, नासो कथा संग्रह र नेहरुज लेटर पढाई हुन्थ्यो स्कुलमा । कहिलेकाहीं प्रकाश कोविदका उपन्यास पनि पढिन्थ्यो घण्टौं लगाएर ।
भर्खर बहुदल आएको माहोल थियो ।

राजनीतिक कार्यक्रम र गतिविधिहरु निकै हुन्थे काठमाडौमा । विद्यार्थी संगठनको सदस्यता लिएँ । क्याम्पसको प्रारम्भिक कमिटीमा रहेर कृयाशिल भएँ । २०५३ को स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा सदस्यको प्रत्याशी पनि भइयो । उता बाबा पनि गाउँ विकास समितीको अध्यक्ष निर्वाचित हुनुभएको थियो । तर कुन पार्टीबाट भन्ने मलाई थाहा थिएन । यता म भने तत्कालिन नेकपा एमाले पार्टीको भातृ संगठन अनेरास्ववियुमा गोलबन्द भैसकेको थिएँ । रत्नपार्क, खुल्लामञ्च र बागबजारको रातो घर अगाडिका फुटपाथमा बेच्न राखिएका किताब र पत्रपत्रीका उभिई-उभिइ पढ्थें । अभाबग्रस्त विद्यार्थी जीवन थियो । अतिरिक्त खर्च गर्ने पैसा हुन्थेन । दर्शनशास्त्रको प्रारम्भिक ज्ञान लगायतका नेपाली भाषामा अनुवाद गरिएका रुसी साहित्यका किताब पाईन्थे ।

आइ एस्सी उत्तीर्ण भएँ । विश्वविद्यालयको नियमानुसार त्यो वर्ष स्नातक तहमा भर्ना हुन मिलेन । गाउँ गएको बेला भर्खरै खुलेको प्रस्तावित मा. वि. मा विज्ञान शिक्षक बन्ने प्रस्ताव आयो । १८/१९ वर्षको अल्लारे किशोर समवयी साथीहरुको विज्ञान शिक्षक बन्न पुगें । यसरी नियमित आकस्मिकताले शिक्षण पेशामा जोडिएँ । उच्च शिक्षामा ब्रेक लाग्छ भनेर पिताजीले फेरी काठमाडौ पठाउनुभयो । बि. एस्सी पढे शिक्षक बन्नु बाहेक अर्को बिकल्प देखिन । त्यसैले संकाय परिवर्तन गरेर व्यवस्थापन संकाय रोजें । शंकरदेव क्याम्पसमा भर्ना भएँ । परिवारको आर्थिक अवस्थाले मेरो पढाई खर्च धान्ने अवस्था रहेन । स्नातक प्रथम वर्षमा अध्ययन गर्दागर्दै फेरी बाध्यताबस शिक्षक भएँ । बुटवल आएँ । बोर्डिङ्ग स्कुलमा शिक्षक भएँ । स्व-अध्ययन गर्दै बि.बि.एस. पास गरें । २१/२२ वर्षको उमेरमा सहायक प्राचार्य बनें । १० बर्ष यसरी बित्यो । यसैक्रममा अंग्रेजी साहित्य र समाजशास्त्र मुल विषय लिएर बि.ए. उत्तीर्ण गरें स्व-अध्ययनबाट नै ।

स्थानीय तथा राष्ट्रिय स्तरका पत्रपत्रीका पढ्थें फुर्सदमा । यो देखेर विद्यार्थीहरु मलाई जिस्काउँथे । भन्थे यो सरलाई पत्रीका भए केहि चाहिन्न । सहकर्मी राजेश श्रेष्ठसँग मिलेर विद्यालयको स्मारिका प्रकाशन गयौं । फुर्सदको समयमा केही न केही पढिरहेको हुन्थें । पत्रीकामा आफ्ना लेख रचना छाप्ने हुटहुटी हुन्थ्यो । स्व-अध्ययन गर्ने बानिले होला सायद विद्यालय तहमा बहुविषय अध्यापन गरें । विज्ञान, जनसंख्या, स्वस्थ्य र वातावरण, शारीरिक शिक्षा, स्वास्थ्य शिक्षा, जनसंख्या शिक्षा, कार्यालय संचालन तथा लेखा, सामाजिक शिक्षा जस्ता विषय अध्यापन गरें ।

स्नातकोत्तर तह पढ्न फेरी काठमाडौं गएँ । सेन्ट जेभियर्स कलेज, माईतिघरमा भर्ना भएँ पूर्णकालिन विद्यार्थीको रुपमा । बिहान कलेज र दिनभरी लेखपढमा समय बित्थ्यो । सेन्ट जेभियर्सको सुबिधासम्पन्न पुस्तकालयले मेरो पढ्ने तिर्खा झन बढायो । पाठ्यक्रमको अतिरिक्त प्रत्येक दिन एउटा नयाँ किताब पढ्न थालें । पकेट खर्चको रकम पत्रपत्रीकामा खर्च हुन्थ्यो । दश बर्षको शिक्षण अनुभवले मलाई यो पेशाबाट अन्यत्र भाग्न दिएन । जे पढ्थें भोलि शिक्षकको रुपमा विद्यार्थीलाई कसरी बुझाएर पढाउन सकुँला भन्ने लाग्थ्यो । प्राध्यापकहरुले अध्ययन पश्चातको योजना सोध्दा भन्थें-म त पहिले पनि शिक्षक हो र भविष्यमा पनि लेक्चरर (शिक्षक) नै बन्न चाहन्छु । व्यवसायिक अध्यययनको विद्यार्थी भएपनि ममा व्यवस्थापक वा उद्यमी बन्नेभन्दा पनि लोकप्रिय अध्यापक (लेक्चरर) बन्नुपर्छ भन्ने लागिरह्यो ।

डिग्रीको परीक्षा सकेर फर्किनासाथ पुनः शिक्षण कर्ममा जोडिएँ । बुटलको अक्सफोर्ड कलेजमा स्नातक तहमा प्राध्यापन गर्ने अवसर मिल्यो । विश्वविद्यालय तहमा पढाउनु चानचुने काम होइन भन्ने लाग्थ्यो । कताकता मनमा डर पनि थियो । पूर्वतयारीका साथ उच्च मनोबलका साथ कक्षा प्रवेश गरें । क्याम्पस प्रमुख पशुपति अधिकारी सरको हौसला र प्रेरणा कहिल्यै भुल्न सक्दिन । छोटो अवधिमा नै विद्यार्थीमाझ लोकप्रिय लेक्चरर बन्न पुगें । व्यवस्थापन विषय अन्तर्गत वित्तशास्त्र मेरो विशिष्टिकरण हो । तर प्रायः जसो सैद्धान्तिक विषय पढाउँदै आएकोछु अहिले स्नातक र स्नातकोत्तर तहमा ।

मलाई लाग्छ शिक्षक हुन केबल प्रमाणपत्र मात्रले पुग्दैन । विश्वविद्यालयको डिग्रीमात्र पर्याप्त हुँदैन । कक्षाकोठामा खरो उत्रिन ज्ञानको दायरा फराकिलो हुनुपर्दछ भन्ने लाग्छ । कला, साहित्य र समसामयिक विश्व परिवेश बुझ्नुपर्दछ । पुरानो नोट र रेडिमेड स्लाइडको भरमा त केबल यान्त्रिक शिक्षण हुन्छ भन्ने मेरो मान्यता हो । शिक्षक खासमा एउटा सहजकर्ता मात्र हो । ऊ आफै रोल मोडल हुनसक्नुपर्छ । आफूले केहि नपढ्ने शिक्षकले कुन नैतिकताले विद्यार्थीलाई पढ भन्ने ? किताबी ज्ञानको पुनर्वितरण मात्र होईन प्रभावकारी शिक्षण । शिक्षण कर्मबाट बचेको समय पढ्ने, लेख्ने र चिन्तन गर्ने काममा तल्लिन भैरहेकोछु । पुस्तक पसल जान्छु । बजारमा नयाँ पुस्तक कुन आयो होला भन्ने जिज्ञासा भैरहन्छ । अन्य खर्च कटाएर भएपनि किताब किन्न मन लाग्छ । ‘पुरानो कोट लगाउ, नयाँ पुस्तक किन’ भन्ने दार्शनिक थोरोको भनाइ मेरो आदर्श हो ।

पछिल्लो समय ईन्टरनेटको सहज पहुँच र सामाजिक संजालको कारण पत्रपत्रीका पढ्न, विश्व साहित्य बुझ्न सजिलो भएकोछ । मेरो पठन संस्कारमा अझ टेवा मिलेकोछ । म मोबाइलमा होस् या ल्यापटपमा प्रायःजसो केहि न केहि पढिरहेको हुन्छु । आफूले पढ्दै गरेका किताबको फोटो श्येयर गर्छु । समिक्षा लेख्छु । कलेजमा पनि खालि समयमा किताब नै पढिरहेको हुन्छु । यो देखेर कतिपय विद्यार्थीले पढ्ने प्रेरणा मिलेको बताउँदा खुशी लाग्छ तर दुःखका साथ भन्नुपर्छ मेरा कतिपय सहकर्मी शिक्षक साथिहरुलाई लाग्दो रहेछ मेरो रुचि अध्यापन भन्दापनि साहित्यतर्फ बढि भयो रे ! हो म कतिपय शिक्षक साथीहरु जस्तो जग्गा दलालिमा लागिन । शिक्षण पेशाले मलाई सामान्य जीवनयापन गर्न पुगेकैछ । दुई छाक खान र लगाउन पुगेकोछ । ट्युसन माष्टर बनेर धन आर्जन गर्ने हुटहुटी पनि कहिल्यै भएन । शेयर कारोबारमा पनि संलग्न छैन । चियागफ गरेर र जुवातास खेलेर समय बिताउनु भन्दा मलाई किताब नै प्यारो लाग्छ ।

गुरुघण्टाल अर्थात् मन्दिर, देवालय आदिका पूजाआजामा हुने भजन किर्तन, गानबजन आदि नसुन्ने उद्देश्यले आफ्नै कानमा घण्टी झुण्ड्याएर बजाउँदै हिड्ने भनी कहलिएका एक गुरु बन्नु छैन मलाई । आफैलाई श्रेष्ठ मान्ने अहंकारी, मै हुँ भन्ने मानिसजस्तो हुनुभन्दा वास्तविक गुरु (शिक्षक) अर्थात् शिक्षा प्रदान गर्ने शिक्षक, अध्यापक जो बुद्धि, बल, उमेर, विद्या आदिमा श्रेष्ठ तथा आदरणीय र पूज्य व्यक्ति बन्ने रहर छ मलाई । पुँजिवाद वा भनौं पैसा भएपछि जे पनि हुन्छ भन्ने उपभोगवादी संस्कृति मलाई कहिल्यै प्यारो भएन । पढ्नु, लेख्नु, ज्ञान आर्जन गर्नु, जानेको कुरा २/४ जनाका बीचमा अनुभब साटासाट गर्नु, पठन संस्कृतिमा रमाउनु यदि मेरो कमजोरी नै हो भने पनि सहि । मलाई यस्तै जीवन प्यारो छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।