ताजा अपडेट »

मंसिर कसैका लागि बाध्यता नबनोस् !

बुधबार, ०३ मंसिर २०७७, १८ : ५५
38 Shares

हरेक वर्ष जस्तै यस वर्षपनि मंसिर लागिसक्यो । यससँगै विवाहले चर्चा पाउँछ । मंसिर महिना विशेषतः लगनको महिना पनि हो । यो विवाहको लागि हो । कैयौं एकल युवायुयतीहरुको जोडी जोडिने महिना हो भने कतिको चाहिँ दिल र दिमाग खाने महिना भन्दा फरक नपर्ला । जे अर्थ लगाए पनि जसरी व्याख्या गरेतापनि मंसिर, मंसिर नै हो । मंसिर भन्ने बित्तिकै विवाहेत्तर मौसम, अविवाहितहरुलाई बारम्बार दोहोरी राख्ने एउटै प्रश्न : मंसिर लाग्यो, खै त ?

व्यक्तिगत कुरा गर्दा मेरो जन्म महिना पनि हो मंसिर । आफन्त इष्टमित्रबाट जन्मदिनका अनेकौ सुवेक्षाहरुसँगै आउने अनेकौं भलाकुसारी र व्यङ्गहरुले कता–कता आफैलाई चूूनौती दिएको भान हुन्छ । के छ विचार, यो मंसिर यसै नकटोस् है । अथवा आउँदो जन्मदिनसम्म त केही हुनै पर्छ है । यसको मतलब अर्को मंसिर..। यस्तै–यस्तै अनेक-अनेक संवादहरु बर्सिन्छ्न् । हो, यहि सर्वाधिक जिज्ञासामा तपाई मध्ये धेरैजना पक्कैपनि पर्नुभएको छ । ‘तावा नताती बिँड तातेर हैरान’ हाम्रो समाज छ । फलानोको छोरो बिग्रियो विहे गराइदिए बुहारीले सुधार्थी । छोरी बिग्रिई बिहे गराइदिन पाए उम्कनु हुन्थ्यो, हाइसञ्चो पो हुन्थ्यो कि कसैको जिम्मा लगाइदिन पाए । हुर्किएकी छोरी कतै नाक काट्ली ।

अब कसैको छोराको बानी व्यवहार सुधार्नकै लागि कसको छोरी ठिक्क परेर बसेकी होला र ? त्यस्ता धेरै बा–आमाहरू छन् जो छोरालाई सहि बाटोमा ल्याउनकै लागि बिहे गरिदिन्छन् । किनकि, बुहारीले सुधार्छे रे ! छोराको बानी सुधार्नकै लागि भनेर किन कसैको छोरीलाई प्रयोग गर्ने ? तपाई हामी बाँचेको समाजको वास्तविकता यहि होइन र ? विशेषगरी छोरीहरु २० औं बसन्त कटेपछि समाजको टाउको दुख्ने प्रमुख कारण बन्छन् । सबैको चासो र चिन्ताको केन्द्र बन्न पुग्छन् ।

मावलीदेखि लिएर फुपु घरसम्म सबैको चासोको विषय बन्छन् छोरी । अनि खोज्न सुरु हुन्छ उसको लागि योग्य केटा । आमा, दिदी, भाउजुहरु व्यस्त हुन्छन् फोटो देखाउन । फोटोमा भएको मान्छेको गुणगान गाउन । सहमत भए त ठिकै छ, इन्कार गरे सुरु हुन्छ केरकार गर्न । किन गरिन ?, के भएर गरिन ?, के समस्या छ ?, के अवगुण छ ?, तेर्साइन्छन् समाजका यी अनगिन्ती प्रश्नहरु ।

कोहि छ भने भन् होइन भने हामीले भनेको केटासँग बिहे गर्नुपर्छ । के जवाफ दिउँला ती समस्यै समस्याले झेलिएका तमाम प्रश्नहरुलाई ? कस्तो अचम्म, कस्तो दोधार, कति विडम्बना ? बिहे भन्ने कुरा पनि आफ्नो रोजाइँमा नहुनु, आफ्नो इच्छा अनि निर्णयमा नहुनु, करकापमा गरिएको निर्णय कसरी स्वविवेकी हुन्छ ? यो कस्तो खालको सम्झौता ? र, केका लागि ? जन्मघरको यो लिलापछि कुरा रह्यो कर्मघरको ।

बुहारी सुशील हुनुपर्छ, शिल-स्वभावकी हुनुपर्छ, संस्कारी हुनुपर्छ, घर र समाजको इज्जत राख्ने खालकी हुनुपर्छ । अझै आजकल त सबै गुणसहित कमाउने पनि हुुनुु पर्दछ । हाम्रो समाजमा छोरीहरु–बुहारी हुन अनेकौं चरणहरु पार गरेको हुनुपर्छ । बिहे भएको दिनदेखि नै कस्तो लगाउने, के खाने, कसरी हिड्ने सबै कुराको मापदण्ड बनाइएको हुन्छ ।

हँसिलो भएर बस्नु पर्ने, नम्र भएर बोल्नु पर्ने, आफूभन्दा निक्कै साना मान्छेहरुलाई तपाई भनेर सम्बोधन गर्नुपर्ने, सबैलाई खुवाएर आफुले खानुपर्ने, परिवारमा सबैको ख्याल राख्नु पर्ने सेवा गर्नु पर्ने आदि इत्यादि त असल छोरी(बुहारी) मा हुनुपर्ने सामान्य नियम नै भए । जुन हाम्रो समाजले तय गरिदिएको छ । अरु पनि धेरै छन् जुन यहाँ बयान गरेर साध्य नै छैन । रहर, इच्छा अनि सपना मारेर, नयाँ सुरुवातका लागि कन्भिन्स गरिरहँदा, परिवारले किन सोँच्दैन कि मैले छोरीलाई कति न्याय गर्न सके भनेर । घरमै सिमित गराउनु थियो भने पढाइमा लगानी बालुवामा पानी हैन र ? त्यस्ता धेरै अभिभावकहरु छन् जो छोरीहरुलाई राम्रो ज्वाईं पाउनकै लागि पढाएका छन् ।

इन्जिनियरिङ पढायो भने कम्तीमा इन्जिनियर, नत्र कुनै पिआरवाला त भेट्टाइहालिन्छ नि ! छोरीलाई यसै कारण चम्काइन्छ कि परैबाट लायक केटोको आँखामा परोस् ? अनि उसको सपना, उसको कमाएर घुम्ने खाने रहर, आफूलाई आफ्नो नामले चिनाउने रहर ? यी सब रहरको कुनै अर्थ छैन ? कि छोरीले सधै नाम अगाडि र पछाडी लोग्नेकै नाम र थर जोडेर बाँच्नपर्ने हो ? छोरीलाई ताते गरेर हिड्न सिकाउने बाउआमाले छोरीलाई आफ्नो खुट्टामा उभ्याउन किन चाहदैनन् ? ज्वाइँकै खुट्टाको आश किन गर्छन् ? भोलिको दिनमा तिम्रो ज्वाइँको खुट्टा भाँचियो भने, छोरीलाई पनि अपाङ्ग नै मार्छौ ? सोंचौ न शृंखला खतिवडाको तीन वर्ष अगाडि बिहे भएको भए ? रञ्जु दर्शना कसैको बुहारी भएकी भए ? हजारौं छोरीहरुको भिडमा उनिहरुको नाम पनि गुमनाम हुन्थ्यो ।

हामी हाम्रै घरको क्षमतालाई चिन्दैनौ । नेपालका थुप्रै घरमा हजारौं शृंखला र रञ्जु छन् जो क्षमता बीच पनि पछि परेका छन् । इमोस्नल भएर फोकटमा बेहोस हुने प्रवृत्ति बन्द गरौं, हस्पिटलको बेड जरुरी भएकाले पाउछन् । हरेक बुबा–आमाले एकचोटी भन्दिनुस आफ्नो मनको गर छोरी, पहिला करिअर अनिमात्र बिहे । अनि हेर्नुस् देशले अझै कति क्षमतावान् महिला पाउँछ ।

रहरभन्दा जिम्मेवारी ठूूलो भयो । सपना भन्दा बाबा आमाको अनुहार प्यारो भयो । बेलैमा छोरीको बिहे गराइदिन पाए व्यबहार सकिन्थ्यो भन्ने हरेक अभिभावकको मानसिकताको कारण पनि कति छोरीहरु आजसम्म आफ्नो व्यबहार मिलाउन सकिरहेका छैनन् । मेरै एकजना साथीको कुरा गरौं जसको प्लस टू पढ्दै गर्दा बिहे भयो । आफूलाई पढ्ने चाहना हुँदाहुँदै पनि पढ्न नदिई सानैमा विवाह गरेर डाँडा कटाएको तत्कालीन समाज र परिवार प्रतिरुष्ट हुँदै मलाई सम्झाउँछे, पहिला करिअर अनिमात्र बिहे है !

‘सायद बेलैमा बोल्न सकेको भए अनि परिवारको कुरालाई प्रतिवाद गर्न सकेको भए आजको दिन देख्नु पर्दैनथ्यो ’ भनेर उ पछुताउनु सिवाय केही छैन । आफ्ना इच्छा त सबै विलिन भए तै पनि उ हार मानेकी भने छैन । आफ्नो बच्चाको लागि भएपनी संघर्ष गरिरहेकी छ । उसको मनभित्र लागेको आगोले उसमा उर्जा पनि थपेको छ, हेरौं उनले गरेको आँट कसरी सफल हुन्छ ।

उमेर पुगेका हरेक दिदिबहिनीहरुप्रतिको एउटै जिज्ञासा, ‘बिहे कहिले गर्ने, पढाई सकियो, बेला बिति सक्यो आदि इत्यादि ।’ परिवारमा मात्र हैन हरेक बिहे, पार्टी वा कुनै पारिवारिक भेलामा सुन्नुपर्ने यो नियमित प्रश्न हो । अझ कोहि बढी नै हितैषी आफन्तहरू त उसको ब्वाइफ्रेन्ड छैन भने उनीहरुले चिनेका गतिला केटाहरुसँग कुरा चलाइदिने प्रस्तावसम्म पनि राख्न भ्याउँछन् । ती अघोषित लमिहरु कसैको भान्जा, कसैको भतिज, साथीको छोरा, छिमेकीको सालोदेखि पिआरसम्मको कुरा गरेर लोभ्याउन खोज्छन्।यस्तो देख्दा लाग्छ उनिहरु सबैको काम नै हुर्केका चेलीबेटीको बिहे गराउनु हो ।

हाम्रो सामाजिक मान्यता नै अचम्मको छ । छोरी भनेको त अर्काको घर जाने जात हो । प्रत्येक बाबुआमाले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा दिनहुँ अनेक कसरत गरेर आफ्नी छोरीलाई अर्काको घरकी लायक बुहारी बनाउनका लागि मात्र हुर्काएका हुन् । यो कुरामा अझ विशेष आमाको बढी चासो हुन्छ । त्यसैले अलिकति हुर्किनासाथ छोरीहरुलाई खाना पकाउने र कपडा धुने लगाएतका गृहस्थी कामहरूको तालिम दिन सुरु भैहाल्छ । मेरो आफ्नै कुरा गर्दा, टिनएज प्रवेश गरेदेखि नै मम्मी भन्नुहुन्थ्यो, ‘खाना पकाउन सिक् है, नत्र तैले पछि दुःख पाउछेस् ।’

हाम्रो समाजमा छोरी मान्छेका लागि यो दुःखको अर्थ फरक हुन्छ । पकाउन नजानेर, मिठोचोखो नखाएर अथवा स्वस्थ्यको हिसाबले पाउने दुःख हैन, अरुको घरमा गएपछि श्रीमान्, सासू–ससुरा, देवर, जेठाजुलगायत त्यहाँका अरु सदस्यलाई रिझाउन नसकेर, पाउनु पर्ने स्थान, स्नेह र सम्मान नपाएको हिसाब-किताब हुने गर्छ । तैपनि अलि–अलि मम्मीको कर र अलि–अलि आफ्नो रहरले आज म ठिकठाक खाना पकाउन जान्ने भएकी छु ।

गुल्मीबाट उच्च अध्ययनका लागि बुटवल आएपछि त्यो जानेकै कारण मेरो डेरा जीवन निकै सहज पनि भएको छ । तर, हाम्रो सिकाई र बुझाई नै गलत छ, अनर्थकारी छ । ‘पछि पढाईका क्रममा एक्लै हुन्छ्यौ, खाना बनाउन सिक्यौ भने बाहिरको खानामा भर पर्नुपर्दैन जसले गर्दा पैसा बचत र स्वास्थ्यको ख्याल रहन्छ’ भनेर कति बाबुआमाले आफ्ना छोरीहरुलाई सिकाएका होलान् त ? भात पकाउन जान्यो भने घर गरेर खान सजिलो हुन्छ भन्ने ब्रह्माज्ञान मात्रै मजस्ता हरेक छोरी मान्छेले सुनेकै हुनुपर्छ । फेरि यो ब्रह्माज्ञान केवल केटीका हकमा लागू हुन्छ । कोहि केटा खाना पकाउन जान्दछ वा भान्छाको काममा रुचि राख्छ भने यसको अर्थभन्दा बढी अनर्थ मात्रै खोज्ने गरिन्छ ।

कुनैपनि काम आफै गर्न सक्नु नराम्रो त कदापि हैन । तर, छोरी भएकै कारणले मात्र र बिहेपछि अरुलाई रिझाउनका लागि भनेर यावत कामहरू सिक्नैपर्ने भन्ने चलन कतिसम्म न्यायसँगत होला ? यी र यस्ता कुरा, प्रश्न, सरसल्लाह र चेतावनी म मात्र हैन, म जस्ता ‘मिड–ट्वाइन्टी’का हरेक छोरीहरुले भोग्दै र सुन्दै आएका दैनिकी हुन् । एउटी छोरी भएर पनि कुनै पुरुषको ‘सहारा’ बिना जीवनमा कसरी स्वतन्त्र र प्रसन्न भएर जिउन सकिन्छ भन्ने आशय त हाम्रै देशका विभिन्न क्षेत्रमा आफूलाई स्थापित गरेर बसेका कैयौं दिदिबहिनीहरुमा स्पष्ट देख्न सक्छौ । जो आज समाजले तय गरेको उमेरको हदबन्दी काटिसकेर पनि डटेर आफ्नो कर्म गरिरहेका छन् ।

यसो भनिरहँदा म विवाहको विरोधी भन्ने अर्थ पनि नलागोस् । विवाह मेरा लागि कुनै भावाना विशेष वा सामाजिक करकापको अघि समर्पण वा सम्झौता गर्ने विषय होइन । यो त जीवनभरको लामो सहयात्राका लागि गरिने वाचा हो । विवाह त एउटा नयाँ र सुखद अध्यायको सुरुवात हो जसका लागि शारीरिक र मानसिक रुपमा आफू तयार हुनु सर्वोपरि हो । विवाह समाजले तोकेको उमेर पुगेर भन्दापनि आफू मानसिक रुपमा गाँसिएर आउने सम्बन्ध र जिम्मेवारीका अर्थहरुलाई हरेक बाबु-आमाले बुझ्न सकेमात्र विवाहले कथम्कदाचित ल्याउन सक्ने सामाजिक, शारीरिक, मानसिक र आर्थिक दुर्घटनाबाट हरेक छोरीको जीवन बचाउन सकिन्छ ।

जिम्मेवारीको नाममा कोही कसैलेपनि छोराछोरीको सपनालाई त्यसै विलिन हुन नदिनुस्, के थाहा ? भोलि यो देशको लागि चाहिने सक्षम र क्षमतावान् नारी तपाईं हाम्रो घर आँगन मै पो छन् कि ? साच्चै मंसिर, मंसिर जस्तै बनोस् । कोहि कसैको लागि पनि मंसिर बाध्यता नबनोस्, स्वेच्छाले वैवाहिक जीवनमा जोडिन लाग्नुभएका सबैमा शुभकामना !

https://www.globalaawaj.com/archives/45993
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।