ताजा अपडेट »

फेरि पोजेटिभ म !

बुधबार, ०३ मंसिर २०७७, १७ : ०७
20 Shares

सबैकुरामा पोजेटिभ हुनु राम्रो तर कोरोनामा पोजेटिभ हुनु नराम्रो ! कोरोना रोग, समस्या, यसको सर्ने तरिका, यसका लक्ष्ण/चिन्हहरु र यसबाट बच्ने उपायहरुका सन्दर्भमा धेरै नै जानकारीमूलक लेखहरु लेखियो तर आफै यही रोगबाट ग्रसित हुन पुगियो र आज अनुभव लेख्दैछु ।

कोरोना कसरी सुरु भयो भन्ने इतिहासभन्दा पनि यसको असर यस्तै रहिरहेमा संसारभरका कति नागरिकहरुले ज्यान फाल्ने हुन् एकीन छैन । कति नागरिकहरुले दुःख, पीडा भोग्नु पर्ने हो, हेक्का छैन । धनजनको क्षति कति पुग्ने हो थाहा छैन । यसको दूरगामी असर के रहने हो भन्न सकिने अवस्था छैन । रोग आफै बाजा बजाएर आउँदैन भन्थे तर यसले त संसारभर झ्याली पिटेरै जानकारी दिदै आयो । बच्ने अनेक उपायहरुका बारेमा थाहा भएर पनि यो रोगबाट दूर हुन सकिएन । हेलचक्राइँ हो भनुँ कि बाध्यता ?

ज्वरो आयो, खोकी निरन्तर लागि रह्यो । कहिले श्वास फेर्न कठिन, कहिले टाउको दुखे झैं हुने ? मेरा बा मेरी आमा कसैलाई रुघाले सताउने । कसैलाई पखाला चलाउने कसैलाई दिसामा गोट्टा परेर(कब्जियत) पेटमै शूल चलाउने । कसैलाई सामान्य लक्षण÷चिन्ह नै नदेखिई यसै हराउने । कसैलाई अस्पतालको बेडमा, आइसियू र भेण्टिलेटरमा राख्न पर्ने बाध्य बनाउने । आखिर रोग उही कोरोना तैपनि व्यक्तिपिच्छे देखिने समस्याले कसलाई के गर्ला र कहाँ पुराउला अनुमानको भरमा हनुमान बन्नै नसकिने रहेछ ।

तिहारको दिन । बहिनीहरु माइती आएनन् । भाइहरु पनि घरमा रहेनन् । कोरोनाले संकट ल्याएको बेलामा निधारमा सप्तरङ्गी टीका र सयपत्रीफूलको माया लगाउन रहर पनि गरेनन् । पर्व आफ्नो हो फेरिफेरि आउने छ तर रोगले ज्यान लग्यो भने त सर्वनाशै गर्ने छ भन्ने उस्तै डरले भाइटीकामा रमझम चलेन । भाइबुहारीले पकाएको सेल खाएर कोरोना पीडित तिहार मनाइयो । छोरोले तिहार मनाउन नपाएकोमा खासै ठूलो गुनासो गरेन । श्रीमतीलाई कोरोनाको कष्टकर अवस्थाले तिहारको रमाईलो थाहै नपाइने बनाइ हाल्यो । तिहारको दिन साथीहरुलाई, इष्टमित्रहरुलाई तिहारको शुभकामना पठाएँ । केही फोनहरु रिसिभ गरें । नजिकका आफ्नाहरुसँग मनका कुराहरु पनि गरियो ।

तिहारको पर्सिपल्ट अर्थात् मंगलवार कोरोनाको फेरि स्वाब परीक्षण गरें । तर बुधवार कोरोना फेरि सकारात्मक आएको म्यासेजमा खबर आयो । त्यतिबेला चियाबिस्कुट खाँदै थियौं । जिउ ढक्क फुलेर आयो । मन एकछिन अशान्त भयो । सीटी भ्यालु पहिलेको तुलनामा घटेर आएपछि जिउमा काँडा उम्रियो । तैपनि आत्मबल बढाएँ । दुई हप्ता नाघिसक्यो । लक्ष्णहरु खासै छैनन् । समस्या त कहिलेकाँही हल्काफुल्का देखिनुलाई ठूलो मानिनँ ।

घाम तापें । बेसारपानी, जुवानोपानी, दूधबेसार, चिया अण्डाले जिउलाई सोझ्याउने कुरामा मलाई शंका छैन । सम्झें –यति धेरै तागतिला खाद्यदार्थहरु खाएर पनि मरुँला र ? मासु, सुप, तागतिलो कुरा सेवन गरेकै छु फेरि किन नेगेटिभ हुन सकिन मनमा कुरा खेल्यो तैपनि हिम्मत हारिन र फेरि पुस्तकमा आँखा दौडाएँ । साथीहरुको फोनमा आएका कुराहरुमा आफ्नो कुरा मिसाएँ ।

खाना खाएर घाममा आङ् सेकिरहेको बेलामा फोन आयो काठमाडौंबाट । फोन थियो विश्व वन्यजन्तु कोष, नेपालमा कार्यरत मेरा प्यारा मित्र गौतम पौडेलको । म बिरामी भएको अड्कल काटेर उनले मलाई गम्भीर मुद्रामा केही सोधे । उनले सो कुरा मेरो फेसबुक वालबाट थाहा पाएको अनुमान गरें मैले । केहीबेर कुराकानी भो । के, कसरी, कहिले, कहाँ र कसबाट तपाइँमा कोरोना संक्रमण हुन पुग्यो भन्ने कुराले चासो बढी पायो ? मैले सबै कुरालाई छाडेर मेरो कमजोरी वा हेलचक्राइँ नै म आफू कोरोना पोजेटिभ हुन पुगेकोमा दुःख मनाउँ गरें ।

उनी वन, वातावरण र जैविक विविधता संरक्षणमा निरन्तर ढाइ दशकदेखि लागिपरेका युवा तर कर्मशील व्यक्तित्व हुन् । उनमा देखिने त्यो संरक्षणमुखी निरन्तर सक्रियताले धेरै उत्साह थपेको छ, जाँगर भरेको छ । डोल्पादेखि रसुवा लामटाङ्ग, तराईका फाँटदेखि हिमालका टाकुरामात्र होइन, से–फोक्सुण्डोको चिसो बतास खाएका उनमा संरक्षणको रक्त सञ्चालन हुने गरेको सजिलै अनुमान लगाउन सक्छु । उनमा वातावरणीय ज्ञान हुनु स्वभाविकै हो । उनले सोही विषय पढे र कर्म समेत गरे ।

उनीसँगै डोल्पो जाने सल्लाह भएको थियो दसैं अघि । यही मंसीर ९ गते उनी उता जाँदै रहेछन् काम विशेषले । तर म भने जान नसक्ने अवस्थामा रहें । से–फोक्सुण्डो, सालदाङ्ग गाउँका कुरा गर्ने, एरिक भ्यालीले ‘द क्याराभान’ फिल्म खिचेका स्थलहरु हेर्ने रहर बन्दकी नै बस्यो मनमा । घोडा चढ्ने र विश्वको जीवित सङ्ग्रशालय डोल्पो पुग्ने मिठो सपनामा ताल्चा लाग्यो । से–फोक्सुण्डो गाउँ नजिकै रहेको साइजल गाउँ, चुनुवार उपत्यका, सुलिगाड झरना, रिङ्मो गाउँ पुग्ने अभिलाषामा तुसारापात भयो । यी सबै म कोरोना पोजेटिभ हुन गएर नै मेरो अवसरमा पहिरो गएको ठहर गरें मैले ।

गौतम सरले मलाई डोल्पोको संस्कार, संस्कृति, त्यहाँको आम्ची (बौद्ध परम्परागत, स्थानीय परम्परा अनुसारको ओखती गर्ने चलन) पद्धतिका सन्दर्भमा प्रकाश पारेका थिए । उनको वर्णनात्मक शैली साँच्चिकै डोल्पो नपुग्दै डोल्पो पुराउने खालको थियो । जीवनमा थुपैं यात्रा गरियो तर यात्राले जीवन फराकिलो र फरासिलो बनाउँछ भन्ने कुरा मेरो अनुभवले सिकाउँदैछ मलाई नै । जलचरबिहीन से-फोक्सुण्डो ताल तर हिउँ जम्दैन, नेपालकै सबभन्दा गहिरो ताल पुगेर, शिरमा त्यही तालको जल चढाउन नपाउने पीरले मनै भरङ्ग भो । २९ थरिका पुतली र ३५ थरिका जनावरहरु भेटिने से-फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा दुई सय ८६ थरिका वनस्पतिहरु पाइन्छन् तर मेरो मनको क्यामेराले खिच्न नपाउने चिन्ता सधैंलाई घिड्किसो नबने हुन्थ्यो लाग्दैछ । तालकै छेउमा रहेको नौ सय वर्ष पुरानो थोसाङ् छ्यालिङ गुम्बालाई मनमा गुम्साएर राख्ने योजनामा बिर्को नलागे हुन्थ्यो लाग्दैछ फेरिफेरि ।

कोरोनाले पर्यटन प्रवद्र्धनमा हानी गरेको छ । स्वास्थ्य क्षेत्रमा विषम परिस्थिति ल्याएको छ । होटल व्यवसायमा धराप थापेको छ । आर्थिक फड्को मार्न दिएको छैन । धेरैका जीवन गतिशीलतालाई ठप्प पारेको छ । घरबारबिहीन बनाउँदैछ । सम्बन्धमा तगारो हालेको र बिछोडका बाँसुरी बजाउन बाध्य बनाएको छ । आत्मबलले नै कोरोनालाई पराजति गराउनु छ । आफू संक्रमित भइसकेपछि अरुलाई बचाउने सपना साँचेको छु । यो रोगबाट सबैलाई जोगाउनु पर्ने अवस्था छ । जाँडो, चिसो बढ्दैछ । रोगको संक्रमण बढ्ने डाक्टरहरु अनुमान लगाउँदैछन् । कोरोनामुक्त देश कहिले बन्ला नेपाल । सोचिरहेको छु ।

https://www.globalaawaj.com/archives/63807
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।