ताजा अपडेट »

मुस्लिम दाजु र हिन्दु बहिनीले लगाए तिहारको टिका

मंगलबार, ०२ मंसिर २०७७, ०७ : २५
76 Shares

कपिलबस्तु । पर्वहरु विशेषगरी धर्म र समाज अनुसार रहेका र मनाउने गरिन्छ । तर,फरक धर्म र समुदायका मानिसहरुले पनि अर्को धर्म वा समुदायको पर्वलाई सहर्ष स्विकारी सम्मानका साथ मनाउँदा धार्मिक सहिष्णुता र स्वतन्त्रता झल्किन्छ । यस्तै कपिलबस्तुका मुस्लिम समुदाय र धर्मका एक व्यक्तिले हिन्दु धर्म अन्तर्गत मनाइने तिहार मनाउँदै आउने गरेका छन् । उनले यस वर्षको तिहारमा पनि हिन्दु परम्परा अनुसार भाइटिका लगाएका छन् । उनले हिन्दु एक महिलाबाट टिका लगाएका हुन् ।

जिल्लाको विजयनगर गाँउपालिका वडा नं–२बगहियाका महोमद हनिफ धुनिया मुस्लिम समुदायको भए पनि हिन्दूहरूको तिहार पर्व अति नै मनपर्ने हुनाले मनाउँदै आएको बताउँछन् । तिहार पर्व दाजुभाइ र दिदी बहिनीहरूको आत्मिएता जोड्ने पर्व भएको हुनाले विगत आठ वर्षदेखि तिहारको सप्तरङ्गी टिका लगाउँदै आएको उनले बताए। शिवराज नगरपालिका वडा नं –५ हेलोडिया निवासी यमकला भट्टराइको माइतमा गई उनले टिका ग्रहण गरेका छन् ।

उनले भट्टराइका ३ दाजुभाई सँगै बसेर सोमबार परेको तिहारमा पनि बहिनी यमकलाको हातबाट टिका, माला, र ढाका टोपीमा सजिएर भाइटिका मनाएका थिए। भट्टराइको माइती बस्याल भएको र आफू पनि सोही परिवारको सदस्य जस्तै लागेको हुनाले बहिनी मानेर तिहारको सप्तरङ्गी टिका लगाउँदै आएको बताए। यमकलाले आफ्ना दाजुभाइ जस्तै मानेर हरेक वर्ष उनलाई संगै राखेर तिहार पर्व मनाउने गरेको बताइन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।