ताजा अपडेट »

तिहार : दिर्घायू ,सद्भाव र समृद्धिको कामना

सोमबार, ०१ मंसिर २०७७, १० : ३३
78 Shares

नेपालीहरुको दोस्रो ठूलो तथा उल्लासको पर्व तिहारको आज अन्तिम दिन अर्थात् भाइटिका । कार्तिक शुक्ल द्वितीया तिथिका दिन यो पर्व विशेष उत्साहका साथ मनाइन्छ । वर्षौदेखि मानिँदै आएको धार्मिक, ऐतिहासिक, सामाजिक, सांस्कृतिक पर्व तिहार यस वर्ष विश्वव्यापी कोरोना महामारीका कारण निकै प्रभावित भएको छ । यद्यपि निरन्तरता भने कायमनै छ । यस पर्वमा दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्ने मान–सम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मिष्ठान्न आदि मनपर्ने कुरा ख्वाउने, दिदीबहिनीलाई दान–दक्षिणा एवं वस्त्र आदि दिने परम्परा छ । परापूर्वकालमा बहिनी यमुनाले यसै दिन दाजु यमराजलाई विशेष मान–सम्मान गर्दै भाइपूजा गरेको धार्मिक महत्व छ । यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा बास गर्छन् भन्ने हाम्रो धार्मिक विश्वास छ । भाइतिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दूबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदीबहिनी र दाजुभाइको सुख–समृद्धि, अरोग्य एवम् दीर्घायूको कामना गरिन्छ ।

रमाइलो पर्वका रुपमा पनि मनाइने तिहारमा पिङ खेल्ने, दीपावली गर्ने, देउसीभैलो खेल्दै सेलरोटी आदि मिष्ठान्न खाई रमाइलो गरी तिहार मनाउने गरिन्छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्मका पाँच दिन मनाइने भएकाले यसलाई यमपञ्चक भन्ने गरिन्छ । तिहारले एकातिर मानव तथा पशुपंक्षी बीचको प्रगाढ सम्बन्धको चित्र प्रस्तुत गर्छ भने अर्कोतर्फ दाजुभाइ तथा दिदीबहिनी बीचको आत्मीय र पवित्र स्नेह एवं सम्बन्धलाई पनि यसले छर्लङ्ग पार्दछ । ५ दिन मनाइने तिहारमा विभिन्न दिनमा विभिन्न पशुपंक्षी,देवी,देवता र भाईको पूजा गरिन्छ । पहिलो दिन तिहार पर्वको पहिलो दिन अर्थात कार्तिक कृष्ण त्रयोदशीका दिन कागको पूजा गरी मीठो मीठो खान दिएर काग तिहार मनाईन्छ । वैदिक मान्यताअनुसार कागलाई सन्देशवाहकका रुपमा मान्ने गरिन्छ । कागको पूजा गर्नुका विभिन्न कारण छन् । कागले सबैलाई समान दृष्टिले हेर्छ भने यसले अन्न बालीमा लाग्ने कीरा–फट्याङग्राहरू खाइदिन्छ । कागलाई यमराजको सन्देश सुनाउने यमदूतका रूपमा पनि लिइन्छ ।

यस दिन कागलाई पूजा आजा गरी खान नदिइकन आफूले खाएमा पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ । वैदिक सनातन हिन्दू धर्मानुसार कागलाई यमदूतका रुपमा मानिन्छ । त्यसैगरी यमपञ्चकको दोस्रो दिन अर्थात् कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरतिहार मनाइन्छ । कुकुरलाई पनि यमदूतका रूपमा लिइन्छ । कुकुर यमराजको अर्को प्रियभक्त हो । कुकुरलाई आज्ञापालक एवं रक्षक मात्र मानिँदैन, विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने, अध्ययन–अनुसन्धान गर्ने कार्य पनि कुकुरले गर्छ । कुकुरले घरको रेखदेख तथा चोररडाँकाबाट बचाउने कार्य गरी मानिसलाई सहयोग गर्दै आएको छ । त्यसैगरी कुनै प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा पूर्वसूचना समेत दिन्छ । कुकुरलाई भैरवको बाहन पनि भनिन्छ । तिहारको तेस्रो दिन अर्थात् कार्तिक कृष्णपक्ष औंसीका दिन लक्ष्मीपूजा र गाईतिहार मनाइन्छ । यस दिन लक्ष्मीलाई धनधान्यकी देवी र गाईलाई गौमाता मानेर पूजा गरिन्छ । योे दिन बिहान सबैको घरमा गाईलाई फूलमालाले सिंगारी शरीरमा चामलको पिठो र दूधले छाप लगाई अबीर, केशरी, फूल, अक्षता साथै जनै पूर्णिमामा लगाएका रक्षाबन्धनको डोरो गाइको पुच्छरमा बाँध्ने पनि गरिन्छ । यसरी गाईपूजा सकेपछि साँझ लक्ष्मीको पूजा गरिन्छ।


तिहारको चौथो दिन अर्थात कार्तिक शुक्लपक्ष प्रतिपदाको हल तिहार वा गोवर्धन पूजा मनाइन्छ । नेपालीहरुले परम्पराअनुसार गोरु तथा गोबर्धन पूजा गरि मनाउँछन् । हिन्दु धर्मावलम्बीहरुले आ–आफ्नो घर आँगनमा गाईको गोबर र रातोमाटोले लिपपोत गरी गोबर्धन पर्वतको आकृति बनाई गोवर्धन पूजा गर्दछन् । कृषकको जमिन जोत्न र गाडा तान्न सहयोग गरेकाले विभिन्न परिकार गोरुलाई खुवाउने र पूजा गर्ने परम्परा छ । यसरी तिहार,यमपञ्चक र भाइटिका भनेर चिनिने यस धार्मिक पर्वका नामजस्तौ तीन पक्षपनि महत्वपूर्ण रहेका छन् । पशुपंक्षीप्रतिको सम्मान र महत्व,धन र धनकीदेविप्रतिको सम्मान र महत्व र, दिदीभाई,दाजुबहिनी बीचको अगाध प्रेम र सम्बन्धको महत्व । त्यस्तै गरी उज्यालो र हर्षको पर्व पनि मानिने तिहारमा बत्तिको भिलीमिली,देउसी–भैलोमार्फत साथीभाई सितको मिलन र रमाइलो निकै महत्वपूर्ण र रमणीय अवसर हुन्।घर,गाउँ,शहर,भिलीमिली उज्यालो बनाउँदै,रङ्गहरुले सजाउँदै नजिक वा टाढा,स्वदेश वा विदेश रहेका दाजुभाई–दिदीबहिनीहरु भेला भई मनाउने यस हर्षको पर्वमा सबैलाई त्यो अवसर नमिल्न पनि सक्छ ।

विवाह गरेर टाढा जाने कैंयौ दिदीबहिनीहरु वा वैदेशिक रोजगारमा गाउँघरबाट शहर वा विदेश जाने दाजुभाईहरुहरु पर्वमा भेट नहुने गर्दछ ।यस वर्ष त कोरोना महामारीले थप त्रास र संकट उत्पन्न गरेको छ । यस्तो अवस्थामा दिदीभाई र दाजुबहिनी बीचको भौतिक उपस्थिति रहेन रहेपनि दिर्घायुको कामना र पारस्परिक सम्बन्ध र सद्भाव भने झनै बढ्न आवश्यक छ । त्यसैगरी लामो समयको लकडाउन र प्रतिकुल समयका कारण कैंयौं दाजुभाई वेरोजगार हुनु परेको वा व्यापार व्यवसाय ठप्प हुँदा आर्थिक संकट परेको छ । यस्तो अवस्थामा तिहारमा गरिने लक्ष्मीपूजा र पर्वले प्रदान गर्ने वरदानले सो संकटबाट मुक्त भई समृद्धिको यात्रातर्फ उन्मुख गरोस् । पर्व मनाउनका लागि मात्र भई तीनका विशेष्ता र परिणामका लागि विशेष र महत्वपूर्ण हुन्छन् । तसर्थ तिहारले वर्तमान संकटको सामना गर्दै दिर्घायु ,सद्भाव र समृद्धिको विश्वासिलो आधार बनोस् । हाम्रा सम्पूर्ण पाठकवृन्द,विज्ञापनदाता,शुभेच्छुक,सहयोगी,कर्मचारी लगाएत सम्पूर्ण महानुभाव ,दाजुभाई तथा दिदीबहिनीहरुमा तिहारको अवसरमा हार्दिक शुभकामना ।

https://www.globalaawaj.com/archives/62466
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।