ताजा अपडेट »

'राष्ट्रिय गौरवका आयोजनामा ढिलाइ गर्न नुहुने'

मंगलबार, ०१ माघ २०७५, १६ : ५७
8 Shares


माघ १,
चितवन।   राष्ट्रियसभा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा “पार्वती”ले राष्ट्रिय गौरवका आयोजना गुणस्तरीय र छिटो सम्पन्न गर्न समितिले दबाब दिइरहेको बताउनुभएको छ ।

उहाँले पत्रकारसँग आज यहाँ कुराकानी गर्दै आफ्नो कार्यक्षेत्रभित्र धेरै विषय रहे पनि अहिले राज्यको तहगत संरचना र राष्ट्रिय गौरवका आयोजनामा केन्द्रीत भएको बताउनुभयो । सरकारले २१ वटा महत्वपूर्ण गौरवका आयोजना घोषणा गरेको भन्दै उहाँले यी आयोजनालाई तोकिएको समयमा गुणस्तर कायम गर्ने हिसाबले सम्पन्न गर्नका लागि केन्द्रीत भएको बताउनुभयो । ती गौरवका आयोजना सरकारका पाँचवटा मन्त्रालयसँग सम्बन्धित रहेका छन् । सभापति थापाले धेरैजसो त्यस्ता आयोजनाको समय सीमा सकिएको भन्दै काममा ढिलासुस्ती भएको बताउनुभयो ।

सरकार आवश्यक बजेट दिन तयार हुन्छ तर काम भएको पाइदैन थापाले भन्नुभयो, “सरकार भन्छ राष्ट्रिय गौरवका आयोजनालाई बजेटको अभाव छैन जति चाहिन्छ सरकार दिन तयार छ । तर समयमा सम्पन्न हुनसकेका छैनन् ।” थापाले ती आयोजना समयमा सम्पन्न हुन नसक्नुको कारण यस्तो देख्नुभएको छ, “आयोजना प्रमुखको फेरवदल,बन्द हड्ताल, छोटो अवधिका सरकार ।” ती सबै समस्याको हल गर्दै अब कामलाई तीव्रता दिन भनिएको उहाँले बताउनुभयो ।

अहिले सम्म २० वटा गौरवका आयोजनाका सरोकारवालासँग समितिले छलफल गरिसकेको भन्दै उहाँले दुई÷चारवटा आयोजनामा सोचे भन्दा राम्रो प्रगति भइरहेको बताउनुभयो । भेरी बबई डाइभर्सन, पोखरा विमानस्थल, लुम्बिनी गौतमबुद्ध विमानस्थलमा दु्रतगतिमा काम भइरहेको छ । आयोजना रहेका रक्षाबाहेकका सबै मन्त्रालयसँग छलफल गरिसकेको बताउँदै उहाँले रक्षामा पनि पत्राचार गरिएको जानकारी दिनुभयो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।