ताजा अपडेट »

'न्यूनतम बचतको ग्यारेन्टीबाट कृषकका समस्या समाधान'

शुक्रबार, २८ कार्तिक २०७७, १७ : ५७
2 Shares

भैरहवा । कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुषालले कृषकका आधारभूत समस्या समाधान गर्न उनीहरुको न्यूनतम बचत हुने वातावरण सरकारले मिलाउनुपर्ने बताएका छन् । कृषकलाई मासिकरुपमा कम्तिमा पनि ३० देखी ३५ हजार रुपैँया सम्मको आम्दानी भएमात्रै कृषिमा आधारित जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्न सकिने उनको तर्क रहेको छ ।

जेसीआई सिद्धार्थले भैरहवामा आयोजना गरेको जेसीज सप्ताहको समापन तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै मन्त्री भुषालले कृषकका सोही आधारभूत समस्या समाधानको लागी ऐन, नीति नियम परिमार्जनको साथै कृषि गणना र यसको सूचनाको विकासमा लागेको दाबी गरे । उनले यसमा कम्तिमा पनि ३ बर्षको समय लाग्ने बताउँदै यो तिन बर्ष नेपाली कृषकहरुलाई धैर्य गरि दिन पनि आग्रह गरे ।

उनले कृषि मन्त्रालयमा आएलगत्तै यसको नीतिगत सुधारको प्रयास थालेको बताए । यसअघि सम्म कृषि अनुदानको दुरुपयोग भएको बताउँदै अहिले फिल्डमा देखिने गरि तल्लो तहसम्म साढे ४ अर्ब रुपैया पठाईएको बताए । उनले आत्मनिर्भर हुन कृषिमा उत्पादन बढाउनु पर्ने जिकिर गरे । कृषिमा उत्पादन बढाउने बित्तिकै त्यससँगै सम्बन्धित उद्योगहरुको आफै विकास हुने र रोजगारी बढ्दै जाने मन्त्री भुषालको तर्क रहेको थियो ।

रुपन्देही क्षेत्र नम्बर २ बाट सांसद समेत रहेका मन्त्री भुषालले सिद्धार्थनगर नगरपालिका सानो र गरिब नगरपालिका रहेको बताउँदै यसको विकासको लागी अझै धेरै काम गर्न बाँकी रहेको बताए । उनले नगरपालिकाको फोहोरमैला व्यवस्थापनको लागी खरिद भएको जग्गामा भएको राजनैतिक खिचातानीको कारण फोहोर प्रशोधन केन्द्र बन्न नपाएको आरोप लगाए । ‘राजनैतिक दलका प्रतिनिधिलाई उनीहरुकै कार्यकर्ताले टेरेनन् कि अरु के भयो खै ? तर नगरपालिकाको दिर्घकालीन फोहोर ब्यवस्थापन हुन सकेन ।’ भुषालले राजनैतिक दलका स्थानिय प्रतिनिधिलाई ईंगित गर्दै भने । यस्तै उनले कारागार रहेको र नेपाली सेना रहेको जग्गालाई व्यवस्थापन गरि त्यस ठाउँलाई पार्कको रुपमा विकसित गर्ने पहल भईरहेको जानकारी दिए ।

जेसीआई सिद्धार्थले साउन महिनामा आयोजना गरेको सातव्यापी कार्यक्रमको समापन गरेको हो । संस्थाका अध्यक्ष मंगल भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका मेयर हरिप्रसाद अधिकारी, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुल प्रसाद न्यौपाने, उद्योग व्यापार संगठन रुपन्देहीका उपाध्यक्ष रामचन्द्र रेग्मी, नेपाल उद्योग वाणिज्य महासंघका सदस्य कृष्ण प्रसाद शर्मा, पूर्व सभासद आदित्य नारायण कसौधन लगायतले बोलेका थिए । कार्यक्रममा साताव्यापी रुपमा सम्पन्न भएका कार्यक्रममा सहभागी तथा विजयी भएकाहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।