ताजा अपडेट »

'कोरोनाको कष्टकर अवस्थामा कागबाट सिक्दैछु'

शुक्रबार, २८ कार्तिक २०७७, १८ : १२
94 Shares

राम्री भन्थे तिम्लाई
अग्ली रैछ्यौ टौवा झैं
काली रैछ्यौ कौवा झैं

यो रोईला हो । गाउँघरतिर भजन, कीर्तन, ख्याली र रोईला गाउँदा दमदार लाग्छ सुन्दापनि । यो सटार सुन्दै रमाईला लाग्ने । भजन, चुड्का र रोईलामा पनि उस्तै दोहोरी चल्छ । खैंजडी, मादलमा गम्कदा त बिपत्तै रमाईलो पो हुन्छ ।

प्रसंग कौवाको हो । कौवालाई काग पनि भनिन्छ । संयोगले कार्तिक २८ गते शुक्रवार आज काग तिहार परेको छ । आजदेखि तिहार सुरु भयो । रमाईलो चाड हो तिहार । उज्यालोको पर्व ठानिन्छ, मानिन्छ । दिदीबहिनी, दाइभाइ बीचको प्रेमको पर्व हो । मिलन र आत्मीयताको उत्सव हो । हार्दिकता र उमंगको यो पर्वले मनमा मित्रता पलाउँछ र पीडालाई सजिलै भुलाउँछ ।

हाम्रो समाजमा कागसँग जोडिएर आउने केही जनश्रुतिहरु छन् । केही उखान टुक्काहरु छन् । केही रमाईला गीतहरु छन् । केही व्यवहारिक पक्षहरुसमेत छन् । सानामा हामीले काग कराउँदा पाहुना आउने, खुसीको कुरा सुन्न पाइने भनेर बुझेका थियौं । घरको बार्दलीमा वा परालको टौवामा काग कराउँदा आज शुभ समाचार सुन्न पाइन्छ भनेर अड्कल काट्थ्यौं ।

शास्त्रमा भनिएको छ -देउताको आँखा छलेर अमृत चोरेर खाएको हुनाले यो पक्षी अर्थात् काग अजम्बर (बुढो नहुने) हुने भनाई छ । अमृत खाएपछि कागले चुच्चो पुछेको हुनाले दुबो घाँसलाई अजम्बरी भन्ने मान्यता रहँदै आएको छ ।

यतिबेला म कोरोना संक्रिमत भएर होम आइसोलेसनमा छु । कतिबेला घरको छतमा घाम ताप्न निस्किन्छु । कतिबेला कोठाका झ्यालहरुबाट पर–परसम्म आँखा डुलाई रहन्छु काग हेर्न । घरी मोबाईलको स्क्रीनमा आँखा दौडाई रहन्छु । तिहार आएको भान फिटिक्कै छैन मलाई । तैपनि सम्झन्छु, सानामा तिहार आउन नपाउँदै देउसी, भैलो खेल्न उचालिने साथीहरुलाई । देउसी, भैलो खेल्दा पाएका सेलरोटी, झिनुवा कपाकप खाएको । अँध्यारोमा लड्दै हिडेको । घाँटीमा माला, साथीहरुसँगै अंगालो मारेर रातभर देउसी भैलो गाएको तस्वीर एकोहोरो नाचिरहन्छन् । देउसी, भैलोमा गाइएका गीतहरु कानमा बजिरहेका छन् ।

देउसी भैलो खेलेर आएको दानले सामाजिक कार्यहरु एवम् भौतिक निर्माण गरेको मनमा आज समेत ताजै छन् । तिहारमा उठाएको पैसाले साथीहरुसँगै वनभोज गएको । क्यामेरामा उल्टो रिल हालेर फोटो धुलाई गर्दा नआएको । सम्झदा नि आनन्द र रमाईलो लाग्छन् । यी त भए इतिहासका कुरा । आज काग तिहार । कागका बारेमा चलेका कुराहरुले मनमा अनेक प्रश्नहरु उब्जाउँछन् ।
कागलाई बेल पाक्यो हर्ष न विस्मात ! कति मज्जाको कहावत छ । बेलसँगको कुनै नाता छैन है कागको ? बेल पाक्दा न फोडेर खाने हैसियत राख्छ कागले ? न उसको सुगन्ध लिन सक्छ ।

यतिबेला कसैकसैलाई नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पनि यस्तै भएको छ । न जुटेकोमा कुनै हर्ष थियो न फुट्दा कुनै विष्मात हुने ? यस्तै यस्तै प्रसंगका कुराहरु फेसबुकका वालहरुमा प्रशस्तै भेटिन्छन् तर चासो नभए किन घरिघरि फेसबुकका वालमा त्यीनै कुराहरु एकोहोरो आउँछन् त ? हजारपटक घोटेपछि त फलाम पनि स्पात बन्छ भन्छन् ।

कागभन्दा कोईली चंख । यो उखान अति नै चलेको छ । साँचो पनि हो । बाठो भनिएको कागको अण्डा कोईलीले कतिबेला चोरेर लैजान्छ ? कागलाई हेक्कै हुन्न । कोइली अति चंख हुँदो रहेछ । हाम्रो समाजमा नि मै हुँ भन्नेलाई समेत अर्को पक्षले छक्काई दिने, ढालदिने र झुक्याइ दिने चलन नयाँ भने होइन । संसारमा सबै बाठा, टाठा हुन्छन् भन्ने कुरालाई हामीले बिर्सिनु हुँदैन । संस्कृतिविद् घनश्याम कोईरालाले भनेका छन् -कागबाट पाँच असल कुरा सिक्न सकिन्छ ।

कागले कान लग्यो भन्दा कागको पछि दौडिने ? यो अति नै मर्मस्र्शी उखान छ । अचेल हामी त्यस्तै भएका छौं । सत्यतथ्य कुरा हामीलाई पच्न छाडेको छ । कोरोना लागेपछि ज्यानै जान्छ रे, ज्यानै लाग्छ रे ! यो कुरा अति सुनियो पनि । कोरोनाका लक्षण /चिन्हहरु केके हुन् ? कोरोना प्रवेशपछि शरीरमा केकस्ता असर पार्छ, यसको उपचार कसरी गर्ने भन्दापनि यो रोग लागेपछि मनोवैज्ञानिक असर पर्ने, सबैले छिछि र दूरदूर गर्छन् भनी पहिले नै हीनतावोध गर्ने । कोरोनाका प्रायः लक्षण/चिन्ह देखिएपछि पनि स्वाब दिन वा कोरोना परीक्षण गर्न नजाने कारणले धेरैको ज्यान जान थालेका सुनेकै हो, जानेकै हो ।

कोरोना भाइरसका कारण लाग्ने एक किसिमको सरुवा रोग हो । निको हुन्छ, सञ्चो हुन्छ भन्ने कुरालाई ख्याल नगरी यो रोग लाग्दा मरिन्छ, रोग लागेमा घृणित भइन्छ भन्ने गिर्दो मनोवलले नै मानिसलाई यो रोगले धेरै असर गरेको छ । कागले कान लग्यो भन्दैमा आफ्नो कान नछामी कागको पछि दौडिने कुसंस्कारले गर्दा वा हीनग्रन्थीका कारण हामी पछाडि परेका छौं वा पारिएका हौं । आफ्नो निर्णय आफै गर्न सकिदैन भन्ने गलत मनसायको परिणाम हो यो ।

काग कराउँदैछ, पिना सुक्दैछ । यो कुरा पनि कागसँगै जोडिएर आएको कहावत हो । काग कराउन छाड्दैमा पिना नसुक्ने हुन्छ र ? हाम्रो जीवन पनि यस्तै हो । घडीको सूई चल्दै जान्छ, समय बित्दै जान्छ । दाउरा बल्दै जान्छ, खरानी हुँदै जान्छ । कसैले कसैलाई रोकेर केही हुँदैन । नेकपाको मिटिङ्ग हुँदै जान्छ, सरकार चल्दै जान्छ । नेताहरु झगडा गर्दै जान्छन् कार्यकर्ता सुन्दै जान्छन् । पार्टी जुट्ने र फुट्ने कुरा हुँदै गर्छ, तिहार आउँदै गर्छ ।

कागबाट हामी मानवले धेरै कुरा सिक्न सक्छौं । कागहरु मिलेर गुँड बनाउँछन् । यो उनीहरुको मिलनसार प्रवृति हो । मिलेर काम गर्नु पर्छ भन्ने संकेत हो । राम्रो गुँड नबनाई यौन क्रियामा सहभागी हुँदैनन् उनीहरु । उनीहरुको यौन क्रियाकलाप अरुको तुलनामा फरक हुने रहेछ । कागसम्बन्धी अध्ययन गर्ने अध्येयताहरुका अनुसार पोथी कागमाथि भाले काग चढेर यौन क्रियाकलाप गर्दैनन् । दुबै कागले एक आपसमा अनुहार जुधाएको अवस्थामा यौन क्रियाकलाप सम्पन्न गर्छन् ।

कोरोनाको कष्टकर अवस्थामा रहँदा समेत कागबाट धेरै कुरा सिक्न सकिदो रहेछ । तिर्खाको कागले आधा घैला पानीमा गिट्टी हालेर पानी माथि तारेर पानी पिएको कथा पढेको थिएँ सानोमा । संकटमा सद्बुद्धि दिने पक्षी कागप्रति म नतमस्तक छु । कोरोनाले प्रताडित हुँदा पनि काग झैं चनाखो हुनु पर्छ भन्ने बुझेको छु । काग चेष्टा ! कागको जस्तो चेष्टा, चाहना, रुचीलाई मनन गरेको छु ।

घरि तातो पानीसँगै बेसार, दूधसँग बेसार, ओखती पानी खाइ रहेको छु । छोराले पकाउँदै ल्याएको तातो चियासँगै बिस्कुट खाएको छु । साथीहरुसको सल्लाह र सुझावलाई शीरोधार्य गरेको छु । कहिलेकाँही लक्षण/चिन्हहरुले संकेत बदल्दा भने डर लाग्छ तैपनि हिम्मत हारेको छैन । बाँचिन्छ भन्ने आँट आएको छ । डाक्टरहरुसँग बेलाबेलामा सोधखोज गरेको छु । आवश्यक रायसुझावलाई पालना गरेको छु ।

सम्झिरहेको छु एकजना विद्धानले भनेको कुरा -जुनसुकै तनाव जन्मनुको मुख्य कारण मनस्थिति हो, परिस्थिति होइन । मैले मेरो मनस्थितिलाई स्थीर राख्ने कोशिश गरिरहेको छु ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।