ताजा अपडेट »

सिंगल्स डेः चिनियाँले १०० अर्ब डलरभन्दा बढीको सामान खरिद गरे

विहीबार, २७ कार्तिक २०७७, १८ : २९
2 Shares

हङकङ । यस वर्ष सन् २०२० को “सिंगल्स डे” सपिङ मेलाका अवसरमा चिनियाँ उपभोक्ताले १०० अर्ब डलरभन्दा बढीको सामान खरिद गरेका छन् । कोरोनाभाइरस महामारीका कारण संकट झेलिरहेको चिनियाँ अर्थतन्त्रमा सुधार आएको संकेत पनि यस खरिदले देखाएको अनुमान गरिएको छ ।

गत नोभेम्बर १ देखि ११ दिनसम्म भएको यस मेलामा टाओबाओ र टीमलबाट ७५ अर्ब डलर बराबरको सामान बिक्री भएको छ । यी दुबै इकमर्श प्लेटफर्महरु चीनको सबैभन्दा ठूलो इकमर्श कम्पनी अलिबाबाले सञ्चालन गरेको हो ।

पछिल्लो २४ घण्टामा मात्र ३८ अर्ब ४० करोड डलर बराबरको सामान बिक्री भएको अलिबाबाले जनाएको छ । अर्को प्रतिस्पर्धी चिनियाँ कम्पनी जेडी डट कमले पनि ४० अर्ब ९० करोड डलर बराबरको सामान बिक्री गरेको छ ।

विश्वमै सबैभन्दा ठूलो सपिङ मेला ठानिएको चिनियाँ सिंगल्स डे मेला पछिल्ला वर्षहरुमा निकै लोकप्रिय भइरहेको छ । यस मेलामा उपभोक्ताले विभिन्न किसिमका सामानमा भारी छुट पाउने गर्दछन् जसमा सामान्य घरायासी सामानदेखि बहुमूल्य वस्तु पनि राखिएका हुन्छन् ।

यस मेलामा साना खुद्रा पसलेदेखि ठूला र विश्व प्रसिद्ध ब्रान्डका सामान पाइन्छन् । एप्पल, नाइक र लोरियल समेतका लोकप्रिय ब्रान्डका सामान पनि अनलाइनमा सस्तोमा र भारी छुटमा पाइने गर्दछ । यस प्रकारको मेला सन् २००९ देखि शुरु भएको हो । अमेरिकामा संचालित ब्लाक फ्राइडे र साइबर मन्डे मेला झैं सिंगल्स डे चीनमा लोकप्रिय छ । एपी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।