ताजा अपडेट »

मानहुँको विकासका लागि प्रदेश सरकारको चासो

विहीबार, २७ कार्तिक २०७७, १४ : ५३
4 Shares

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित मानहुँकोटको विकासका लागि गण्डकी प्रदेश सरकारले चासो देखाएको छ । पर्यटकीय गन्तव्यको रूपमा विकास भइरहेको मानहुँकोटमा आवश्यक पूर्वाधार निर्माणका लागि प्रदेश सरकारले चासो देखाएको हो ।

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बुधबार मानहुँकोटको अवलोकन गर्दै यहाँको विकासका लागि प्रदेश सरकारको तर्फबाट सहयोग रहने प्रतिबद्धता जनाए । “मानहुँकोटको विकासका लागि एकीकृत ढङ्गबाट पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता देखिएको छ”, मन्त्री गुरुङले भने, “यहाँ खानेपानी, सडक र सरसफाइको मुख्य समस्या देखिएको छ । गुरुयोजना बनाएर यसको समग्र विकास गर्न प्रदेश सरकार स्थानीय तहसँग समन्वय गरेर अगाडि बढ्न तयार छ ।” यहाँको भौगोलिक अवस्थालाई नबिगार्ने गरी भौतिक संरचना निर्माण गर्नुपर्नेमा मन्त्री गुरुङले जोड दिए।

मानहुँकोटमा प्याराग्लाइडिङ, पिङ लगायतको पनि सम्भावना रहेकाले त्यसमा लगानी गर्न निजी क्षेत्रलाई मन्त्री गुरुङले आग्रह गरे । “समग्र योजना बनाएर अगाडि बढ्न सकिने विषयमा अध्ययनका लागि म मानहुँकोट आइपुगेको हूँ, यहाँको मुख्य समस्या भनेको खानेपानीको देखियो, त्यसका लागि अध्ययन तत्कालै शुरु गरिनेछ”, उनले भने ।

प्रदेशसभा सदस्य आशा कोइरालाले मानहुँकोटलाई गण्डकी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा सूचीकृत गरिने बताइन् । “व्यास नगरपालिकाको तर्फबाट पनि यहाँ विकास योजना अगाडि बढिरहेको छ, नगरपालिकासँग सहकार्य गरेर प्रदेश सरकारको तर्फबाट गर्न सक्ने सबै सहयोग गर्छौँ”, कोइरालाले भने। व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले मानहुँको विकास र प्रवर्धनमा नगरपालिका अत्यन्त प्रतिबद्ध भएर लागेको बताए । मानहुँकोटबाट प्याराग्लाइडिङ गर्न सकिने सम्भावना भए पनि यहाँ भएका टेलिकम र विद्युतका तारहरुका कारण समस्या आएकाले सम्बन्धित निकायसँग समन्वय गरेर यहाँको तार हटाउन पहल गरिने न्यौपानेले जानकारी दिए । मानहुँकोटमा पूर्वाधार निर्माणका लागि सङ्घीय र प्रदेश सरकारसँग साझेदारी गरिने नगरप्रमुख न्यौपानेले बताए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।