ताजा अपडेट »

तिहार : माटाका सामग्री बनाउने कुमाल समुदाय व्यस्त

विहीबार, २७ कार्तिक २०७७, १२ : ०६
73 Shares

नवलपरासी । तिहारमा माटाका नयाँ भाँडाको प्रयोग गरिने भएकाले पाल्ही नन्दन ५ गेरमाका करिब ३० घर परिवार रहेका कुमाल समुदायलाई सामग्रीहरू बनाउन र गाँउगाँउमा गएर बेच्न भ्याइनभ्याई छ । यसै परम्पराको बिँडो थाम्न अहिले कुमाल बस्तीमा माटाका भाँडा बनाउने काम चलेको देखिन्छ ।

गेरमा गाउँको उत्तर तर्फ रहेको पोखरीबाट हिउँद महिमामा आवश्यक माटो खनेर ल्याउने, चिम्टाइलो माटो ओसार्न, डल्ला फुटाएर माटो धुल्याउन, पानी हालेर मुछ्न र भाँडा बनाउने चक्रसम्म पुर्याउन परिवारका सबै सदस्य लागिपरेका वृजलाल प्रजापतिले बताए । मुछिएको माटोलाई चक्रमा राखेर सीप भएका कुमाले आफ्नो हात चलाउँदै माटोलाई चक्रमा घुमाएर तयार भएका भाँडा केही दिन सुकाई आगोको भट्टीमा पकाएपछि यो क्रमले पूर्णता पाउँछ । तर नजिकै कुनै पनि बनजङ्गल नभएको हुनाले भट्टी सञ्चालन गर्न समस्या हुने गरेको प्रजापतिले बताए ।

केही दशकअघिसम्म पानी राख्ने घैँटा, खाना पकाउने डेक्ची र राखनधरन प्रयोजनका भाँडा माटाकै प्रयोग गरिँदा जीवन गुजारा नै यसैबाट चल्थ्यो । अब भने घरायसी दैनिक प्रयोजनमा प्लाष्टिकका भाँडाको प्रयोग बढेपछि परम्परागत कुमालेको पेशा सङ्कटमा परेको छ । चाडबाडमा माग हुने भाँडाले मात्र जीवन गुजारा नचल्ने भएपछि पछिल्लो पुस्ताका अस्तित्व नै संकटमा पर्ने हो कि भन्ने चिन्ता बढेको राजकुमार कोहारले बताए । उनले समयअनुसार परिवर्तन आवश्यक रहेको बताउँदै आफ्नो घुम्ने चक्रमा बिजुलीको मोटर जडान गरी बनाउँदा धेरै मात्रामा उत्पादन हुने गरेको र समयअनुसार रङ्गको प्रयोग गरेर आकर्षित बनाउन सके सजावटका सामानहरू बनाउनु पर्नेमा जोडदिए ।

स्थानीय महिला भगवती कोहारले दशहरा दीपावली, छठ, जितिया लगायतका प्रसिद्ध पर्वमा दही जमाउनदेखि अन्य पूजा सामग्री राख्नसमेत माटाकै भाँडा चाहिने विधि भए पनि आम उपभोक्ताले दैनिक प्रयोगमा प्लाष्टिकका भाँडा रोज्न थालेपछि कुमालेको पेशा अब चाडबाडमा खुम्चिएको बताईन । सम्पूर्ण बस्तीनै यस पेसामा लागेको भएपनि सबैले घरमा उत्पादन गर्ने र अन्य व्यक्तिहरुले माग अनुसार पश्चिम नवलपरासीका परासी, सुनवल, भुमही, बर्दघाट, गोपिगंज र हरेक हाटबजार सम्म साईकलमा राखेर बिक्री गर्ने र भारतीय बजार तथा खैरहनी बुटवलमा समेत सामग्रीहरू पुर्याउने गरेको कोहारले बताइन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।