ताजा अपडेट »

राजधानी विषयमा राजीनामा दिएका बुटवलका उद्योगी/व्यवसायीलाई जिम्मेवारीमा फर्कन नेकपाको निर्देशन

बुधबार, २६ कार्तिक २०७७, १८ : ३३
30 Shares

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश राजधानीको विषयमा असहमति जनाउँदै राजीनामा दिएका पार्टी निकट उद्योगी व्यवसायीलाई आ–आफ्नो जिम्मेवारीमा फर्किन निर्देशन दिएको छ । नेकपा उद्योग व्यवसाय विभाग रुपन्देहीले असन्तुष्ट उद्योगी व्यवसायीको भेला गरी पुर्ववत पार्टी काममा फर्किन निर्देशन दिएको पार्टीका उद्योग व्यवसाय विभाग रुपन्देही प्रमुख गोपाल रानाले जानकारी दिए ।

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी लगायतका पार्टी नेताहरु समेत सहभागी भेलामा उद्योगी व्यवसायीले १३ बुँदे मागसहितको ज्ञापनपत्र समेत बुझाएका थिए । ज्ञापनपत्रमा उल्लेखित मागहरु पूरा गर्ने प्रतिवद्धता जनाएपछि राजीनामा दिएका उद्योगी व्यवसायीहरु पार्टी काममा फर्किन तयार भएका छन् । ‘प्रदेश राजधानी यहीं हुनुपर्छ भन्ने हामी सबैको माग थियो, उद्योगीहरुले पनि यसैमा असन्तुष्टी जनाएर राजीनामाको घोषणा गरेका थिए, तर अब उनीहरु पार्टीको जिम्मेवारीमा फर्किन तयार भएका छन्–रानाले भने ।

बुटवललाई प्रदेशको स्थायी राजधानी कायम नगरिएपछि नेकपा निकट २२ सय ४९ जना उद्योगी व्यवसायीले पत्रकार सम्मेलन गरी सामूहिक राजीनामाको घोषणा गरेका थिए । राजधानी तय गर्न दवावस्वरुप राजीनामा घोषणा गरिएको तर अव यो विषय टुंगिसकेको र पार्टीले अन्य मागहरु सम्बोधन गर्ने प्रतिवद्धता जनाएकाले पुनः पार्टी जिम्मेवारीमै फर्किने गरी सहमति भएको रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोराले बताए ।

उद्योगी व्यवसायीले बुटवललाई लुम्बिनी प्रदेशको आर्थिक र पर्यटकीय राजधानी बनाउने घोषणा प्रदेश सरकारले गरेको त्यसको ठोस आधार खाजेका छन् । ‘हामीले आर्थिक र पर्यटकीय राजधानीको ठोस आधार खोजेका छौं, पार्टीले यसका लागि समेत प्रतिवद्धता जनाएपछि हामी राजीनामा फिर्ता गर्न सहमत भएका हौं र काममा फर्किन तयार भएका हौं’ उनले भने ।‘

नेपाल औषधि व्यवसायी संघका पुर्व राष्ट्रिय अध्यक्ष बाबुराम भट्टराईले बुटवललाई स्थायी राजधानी घोषणा गर्न दवाव पुगोस् भनेर राजीनामा घोषणा गरिएको तर पार्टीले अन्य मागहरुमा सकारात्मक प्रतिक्रिया जनाएकाले पुर्ववतः जिम्मेवारीमा फर्किन तयार भएको बताए ।

उद्योगी व्यवसायीको भेलामा सहभागी भएका प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री मन्त्री बैजनाथ चौधरीले रुपन्देहीलाई आर्थिक र पर्यटकीय राजधानी बनाउने घोषणा प्रदेश सकरारले गरिसकेकाले यसका लागि विकास प्रवद्र्धन, लगानीको आकर्षण र यस क्षेत्रको प्रशासकीय सेवा उपलव्ध गराउने गरी कानुन निर्माण गरिने प्रतिवद्धता जनाएका थिए । भेलालाई पार्टीका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इञ्चार्ज एवं मन्त्री लिला गिरीले पनि सम्बोधन गरेका थिए ।

नेकपा रुपन्देहीका प्रचार विभाग प्रमुख मोहन चापागाईले तत्कालीन अवस्थामा असन्तुष्टी हुनु स्वाभाविक भए पनि अन्ततोगत्वा पार्टीको जिम्मेवारीमा फर्किनुको विकल्प नभएको बताए । 'प्रदेश राजधानीको सन्दर्भमा हामी सबैको असन्तुष्टी थियो, तर निर्णय भइसकेपछि आ-आफ्नो जिम्मेवारीमा फर्किनु सबैको दायित्व हो, यसका लागि राजीनामा दिएका उद्योगी व्यवसायीले भेलामार्फत जिम्मेवारीमा फर्किन तयार भएका हुन्छ'-उनले भने ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।