ताजा अपडेट »

सैनामैनामा नेपालकै ठूलो क्रिकेट रंगशाला, ठेक्का प्रक्रिया यसै वर्ष

मंगलबार, २५ कार्तिक २०७७, १७ : २५
16 Shares

सैनामैना । रुपन्देहीको सैनामैनामा नेपालकै ठूलो र नमुना गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला बन्ने भएको छ । सैनामैना-७ लम्टैयामा रहेको करिब १५ बिगाह जग्गामा उक्त क्रिकेट रंगशाला बन्न लागेको हो । रंगशाला निमार्णको काम नगरपालिकाले अगाडी बढाएको छ । गत वर्ष मैदानको लागि ३० लाखको बजेटमा माटो कटिङ्ग, शौचालय र ड्रेसिङ रुम निमार्ण गरेको छ भने यस वर्ष १ करोडको बजेटमा माटो कटिङ्ग, तारबार र डिपिआर बनाएको छ ।

सैनामैना नगरपालिकाले रंगशालाको डिपिआर तयार गरी छलफल गरेको छ । निर्माण सम्पन्न हुन करिब २ अर्ब १९ करोडको लागत प्रस्तुत गरिएको डिपिआरमा ९४ हजार ८१७ वर्गमिटर क्षेत्रफल समेटिएको छ । महामानव गौतम बुद्धको जन्म स्थल लुम्बिनीबाट करिब १२ कि.मि उत्तर तर्फ निमार्ण हुन लागेको उक्त रंगशाला नेपालकै सबै ठूलो ९० यार्डको रहेको नगरपालिकाले जनाएको छ । उक्त रंगशाला महेन्द्र लोकमार्गबाट २ कि.मि दक्षिण तर्फ रहेको छ । स्थानीय, प्रदेश र संघीय सरकारको सहभागितामा उक्त रंगशाला निर्माण सम्पन्न गरिने लुम्बिनी प्रदेशसभा सदस्य तथा नेकपाका प्रमुख सचेतक भुमिश्वर ढकालले बताए । गौतमबुद्ध अन्तरराष्ट्रि क्रिकेट रंगशाला नेपालकै गौरवको आयोजनाको रुपमा बजेट व्यवस्थापन गरेर निमार्ण सम्पन्न गरिने समेत प्रदेशसभा सदस्य ढकालको भनाई छ ।

खेल पर्यटनमार्फत सैनामैनाको बिकास गर्ने उद्देश्यले गौतमबुद्ध अन्तरराष्ट्रि क्रिकेट रंगशाला निमार्ण गर्न लागिएको सैनामैनाका नगर प्रमुख चित्रबहादुर कार्कीले बताए । निमार्णधिन गौतमबुद्ध अन्तरराष्ट्रि क्रिकेट रंगशाला गौतमबुद्ध अन्तरराष्ट्रि एयरपोर्टबाट पनि नजिकै रहेकोले भबिष्यमा अन्तरराष्ट्रिय स्तरका खेल आयोजना गर्नसमेत सहजहुने बताउँदै प्रमुख कार्कीले यसबाट नेपालकै खेल जगतको बिकासमा टेवा पुग्ने बताए । बजेट ब्यवस्थापन गरेर यसै वर्ष ठेक्का प्रक्रियामा जाने प्रमुख कार्कीले बताए ।

करिब ६ महिनाको स्थलगत अध्ययनपछि रंगशालाको डिपिआर तयार गरिएको सैनामैनाका योजना प्रमुख सुरज न्यौपानेले बताए । रंगशाला ब्यवस्थापन उपभोक्ता समितिका अध्यक्ष किशोर रानाले निमार्णधिन रंगशाला सम्पन्न हुँदा यस क्षेत्रको गरिमा उच्च हुनुको साथै क्रिकेटको माध्यमबाट सैनामैनाले राष्ट्रमै योगदान पुर्याउन सक्ने बताए ।

सैनामैनामा अन्तरराष्टिय स्तरको रंगशाला निमार्ण गर्न भौगोकिरुपले पनि उचित रहेको क्राउन डिजाइन एण्ड रिसर्ज सेन्टर काठमाण्डौका प्रमुख ई.सुनिल लम्सालले बताए । रुपन्देही जिल्ला क्रिकेट खेलाडीहरुको उर्वरा स्थल भएको र अन्तराष्ट्रिय हवाई केन्द्र पनि नजिकै भएको र यसै आसपास भैरहवा, तिलोत्तमा र कंचन गाउँपालिकामा समेत क्रिकेट मैदान हुनाले यस रंगशालालाई भोलीका दिनमा खेल आयोजना गर्न सहज हुने ई.लम्सालले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।