ताजा अपडेट »

म्यानमारमा सूचीको एनएलडी पार्टीलाई बहुमत

मंगलबार, २५ कार्तिक २०७७, १५ : ४८

याङ्गुन: म्यानमारका सत्तारुढ दल नेश्नल लिग फर डेमेक्रेसी (एनएलडी) ले बहुमत प्राप्त गरेको छ ।  प्रजातन्त्रवादी नेतृ आङ साङ सूची नेतृत्वको पार्टीले आइतबार भएको निर्वाचनबाट प्रतिनिधि सभामा बहुमत प्राप्त गरेको हो । उनको पार्टीले बहुमत प्राप्त गरेको केन्द्रीय निर्वाचन आयोगले मंगलबार घोषणा गरेको छ । 

निर्वाचनमा कुल पाँच हजार ६३९ जना उम्मेदबार मध्ये सूचीको सत्तारुढ दलको तर्फबाट एक हजार १०६ जना उम्मेदबार रहेका छन् । म्यानमारका एक हजार ११७ संसद सदस्यका लागि निर्वाचन भएको हो । मंगलबार विहान सम्ममा कुल ४७ जना निर्वाचित भएकोमा सूचीको पार्टीले मात्रै ४४ सिटमा जित हासिल गरेको छ । विपक्षी युएसडीपी तीन सिटमा मात्रै विजयी भएको थियो ।

म्यानमारमा सन् २०१२ मा उपनिर्वाचन भएको थियो भने सन् २०१५ मा आम निर्वाचन भएको थियो । त्यो कार्यकाल सकिएपछि अहिले फेरि निर्धारित समयमै निर्वाचन भएको हो । सन् २०१५ मा भएको निर्वाचनमा पनि सूचीको पार्टीले पूर्ण बहुमत प्राप्त गरी सन् २०१६ देखि सरकार संचालन गर्दै आएको थियो ।  

अहिलेको निर्वाचनमा विपक्षीहरुको कमजोर उपस्थितिका कारण नोबेल शान्ति पुरस्कार विजेता सुचीकै पार्टीले जित्ने पुर्वानुमान गरिएको थियो ।    सुचीले म्यान्मारको शक्तिशाली सैनिकहरुको हातबाट शासनसत्ता लिएर नागरिक तहमा सरकार गठन गरेकाले उनी म्यानमारमा लोकप्रिय रहेकी छन्। उनले स्टेट काउन्सिलरका रुपमा सरकार संचालन गरेकी छन् । 

उनको सरकारले पनि जनअपेक्षा अनुरुप काम गर्न नसकेको, म्यान्मारमा व्याप्त गरिबी न्यूनीकरण गर्न तथा देशभित्र जारी जातीय समूहबीचको सशस्त्र द्वन्द्व न्यून गर्न नसकेको आरोप भने लाग्दै आएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।