ताजा अपडेट »

बुटवलका सटर टेण्डरमा अनियमितता भन्दै पुनः गर्न माग

मंगलबार, २५ कार्तिक २०७७, १० : ३०
4 Shares

बुटवल । बुटवल उपमहानगरको स्वामित्वमा रहेको बुटवल हाटबजारका व्यवसायिक सटरको टेण्डर प्रक्रियामा अनियमितता भएको भन्दै व्यवसायीहरुले विरोध जनाएका छन् । नगरपालिकाले बिचौलियाहरुलाई घुसाउन नियम विपरित रहेर टेन्डर दर्ता गरेको उनिहरुको आरोप छ । टेन्डर दर्ताका लागि सोमबार कार्तिक २४ गते मध्यान्ह १२ बजेसम्म अन्तिम म्याद रहेको म्याद नाघेर आएका टेन्डरहरुलाई समेत दर्ता गराइएपछि व्यवसायीहरुले विरोध जनाएका हुन् ।

बुटवल उपमहानगरको व्यवसायीक सटरमा रहेका व्यवसायीहरुले मँगलबार पत्रकार सम्मेलन गरी उपमहानगरले गरेको टेन्डर प्रक्रिया खारेज गरी पुनः अर्को टेन्डर आह्वान गर्न माग गरेका छन् । सटर व्यवसायी संघर्ष समितिका अध्यक्ष खुमानन्द खनालले टेन्डर प्रक्रियामा अनियमितता भएको भन्दै पुनः अर्को टेन्डर गर्न माग गरेका हुन् । ‘अन्तिम मिति कार्तिक २४ गते मध्यान्ह १२ बजेसम्मको म्याद रहे पनि उपमनागरले त्यसपछि आएका टेन्डरालाई समेत दर्ता गर्नुका साथै राष्ट्रिय वाणिज्य बैंकमा धरौटी रकम जम्मा गरी निवेदनमा भौचर जम्मा गर्नु पर्नेमा नियम विपरित सिधै खाममा पैसा राखेर आएका निवेदनलाई समेत दर्ता गरियो ।’-खनालले भने उपमहानगरले सूचनामा उल्लेख भएको भन्दा फरक ढँगले टेन्डर दर्ता गर्नु गलत हो ।

यता उपमहानगरका वित्तिय व्यवस्थापन महाशाखा प्रमुख विष्णुप्रसाद खनालले भने टेन्डर प्रक्रिया नियमानुसार भएको दाबी गरेका छन् । ‘सोमबार मध्यान्ह १२ भित्र आएका टेन्डरहरुलाई मात्रै हामीले दर्ता गरेका छौं । सबै निवेदनहरुलाई दर्ताका सम्पूर्ण प्रक्रिया पूरा गर्नका लागि मात्रै समय लागेको हो ।’-खनालले भने ‘खाममा भौचर वा पैसा आएको भन्ने आरोप जे भएपनि सिलबन्दी गरिएको खाम भित्र के छ हामीले पहिले नै जान्ने कुरो भएन । ती सबै विषयहरुलाई टेन्डर मूल्याङ्कन गर्दा हेर्छौ ।’ नियानुसार रहेका टेन्डरहरुलाई नै मूल्याङ्कन गरी छनोट गरिने बताउँदै उनले दुई÷तीन दिन भित्रै सूचिकृत भएका व्यवसायीहरुको नतिजा प्रकाशन गरिने बताए । ८७ वटा सटरका लागि कूल ३४१ वटा टेन्डर आवेदन दर्ता भएकामा अन्तिम दिन सोमबार मात्रै १७८ वटा टेन्डर दर्ता भएको उपमहानगरले जनाएको छ ।

१७ वर्ष पहिले शेर्पा टि कम्पनीसँग भाडामा लिएर बसेका ब्यवसायीहरूले उप महानगरको नयाँ टेण्डर खोल्ने क्रममा अनियमितता भएको बताएका हुन् । उप महानगरपालिकाका अनुसार १७ वर्ष पहिले सार्वजनिक साझेदारी कार्यक्रम अन्तर्गत शेर्पा टि ले सटर बनाउने र १५ वर्ष भाडामा लगाई १५ वर्षपछि उप नगरपालिकामा स्वामित्व जानेगरि तत्कालीन नगरपालिकाले सम्झौता गरेको थियो । सम्झौता अनुसार २ वर्ष पहिले म्याद समाप्त भएकोमा ब्यवसायीको माग अनुसार २ वर्ष म्याद थपिएको थियो ।

यहि कार्तिक ३० गते म्याद सकिनु अघि उपमहानगरले ३० दिने सुचना प्रकाशित गर्दै टेण्डर आह्वान गरेको थियो । टेन्डर दर्ताको विषयलाई लिएर विरोध जनाएपछि सोमबार प्रहरी र व्यवसायीहरु बीच झडप समेत भएको थियो ।

https://www.globalaawaj.com/archives/63687
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।