ताजा अपडेट »

रित्तिदै गाउँ : व्यवस्था फेरियो, अवस्था फेरिएन

सोमबार, २४ कार्तिक २०७७, १८ : ३०
112 Shares

समाज आधुनिकतातर्फ लम्किदै गर्दा गाउँबस्तीहरु खाली हुँदै गएका छन् । पहिले हराबरा देखिने गाउँका खेतियोग्य जमीन बाँझो भएका छन् । प्रत्येक घरमा कम्तिमा ६/७ जना परिवारका सदस्य हुने घरमा अहिले वृद्ध बुबा-आमा मात्र भेटिन्छन् । गाउँमा भएका घरहरु पनि प्राय खाली भएका छन् । पहिले घना बस्ती भएको गाउँ अहिले जंगली जनावरको बास स्थान बनेको छ । कति धेरै मानिसहरूको आवाज जावत थियो हाम्रो गाउँमा ।

वरपर, तल-माथि बस्ती कति बाक्लो थियो । सबै घर–घरमा मानिसहरू टन्न हुन्थे, निकै रमाइलो थियो । चाडपर्वमा छुट्टै रौनक र उल्लाहसमय वातावरण हुने गर्दथ्यो । साथी–भाईहरूको ठूलो जमघट हुन्थ्यो । दशैंको सराए नाच हेर्न होस या तिजको राम हेर्न, तिहारमा देउसी खेल्न वा भजन किर्तनमा कुनै पनि मेला महोत्सवमा धेरै मानिसहरूको उपस्थिति हुने गर्दथ्यो । चाडपर्व आउँदा पनि मनमा छुट्टै किसिमको आनन्दको अनुभूति हुन्थ्यो ।

कुनै यस्तो चाडपर्व थिएन जहाँ हर्ष उमङ्ग नहोस् । आज पनि कहिलेकाँही सपनीमा देख्ने गर्छु बालापनका विगत, ती ईष्ट मित्रहरू, साथीभाई तथा गाउँ–घरका दृश्यहरु । मानष्पटलमा रहेको विगत र आजको एथार्थ धेरै फरक भैसकेको छ । गाउँघरको रमाईलो र साथीभाईसँगको रमझम सायदै फर्केर आउँला । गाउँमा मेलापाता गर्दा होस या गाई बाख्रा चराउन वन जंगलमा जाँदा तिजु काफल टिपेर खाँदाका ती पल कति रमाईला थिए । वर्षा याममा होस् या हिउँदमा जुन सुकै समयमा पनि हाम्रो गाउँघरमा छुट्टै रौनक हुने गर्दथ्यो ।

नेपालमा राजनीतिक परिवर्तन जे–जति भए ती सबै सत्ता र शक्तिका लागि मात्र भए । राजनीतिक व्यवस्था जति फेरिए पनि जनताका समस्याहरु झन जटिल हुँदै गए । हिजो गरिब निमुखा जनताको हकअधिकार सु–निश्चित गर्न भन्दै, गरिब जनताको टाउकोमा टेकेर एकापसमा लडाउने साशकहरूको जीवन र जीवन शैलीमा धेरै ठूलो परिवर्तन भयो तर परिवर्तनका लागि ज्यान आहुती दिने सर्वहारा वर्गको स्थिति झन जटिल बन्दै गएको छ । हिजो गरेका प्रतिवद्धताहरू आज किन लागू हुन सकेनन् ? परिवर्तनका कुरा जति गरेपनि त्यो आफूलाई सत्तामा पुग्नका लागि जनतालाई भर्याङ बनाउने काम मात्र भयो ।

उनीहरुले परिवर्तन आयो भन्छन् । केलाई परिवर्तन भन्ने ? गरिबी कै कारण विस्थापित हुन पुगेको गाउँ, भत्किएका घर, भत्किएर बाँकी रहेका माटे गारोमा ठिङ्ग उभिएको मक्किएका खावा जस्तै जनताको मन पनि मक्किएको छ । जनता भोक भोकै मर्नु पर्ने अवस्था छ । स्वास्थ्य, शिक्षा लगायत आधारभुत आवश्यकता पनि पूरा हुन सकेका छैनन् । गरिबीका कारण अवसरको खोजीमा आज गाउँ बस्तीहरू रित्तिएका छन् ।

मान्छे गाउँबाट विस्थापित हुने परिस्थिती माओवादी जनयूद्धबाट सुरु भएको थियो । त्यतीखेरदेखि सुरु भएको यो क्रम अझै पनि रोकिएको छैन । गाउँघरमा बनेका विकासका पूर्वाधारहरू जनयुद्धका नाममा पूरा–पूरा धोस्त पार्दै हिड्यौं । विनाश अति गर्यो तर विकास केही गर्न सकेनौं । गाउँ घरमा खुलेका बोर्डिङ्ग स्कूललाई बुर्जुवा शिक्षा भन्दै आगो लगाइयो, गाउँ समाजको लागि केही गर्छु भनेर अगाडि बढ्ने समाजसेवी, शिक्षक वर्ग टाठाबाठाहरू अल्लि पैसा वाला हुने खाने वर्गलाई दिनदहाडै कत्यालम गर्दै हिँड्यौं । गाउँ घरमा बस्न नसक्ने वातावरण सिर्जना भयो । हुने खानेहरू शहरमा जग्गा जमीन किनेर बस्न लागे । गरिब निमुखाहरू भारत लगायत तेस्रो मुलुकमा जान बाध्य भए ।

त्यसैको परिणामस्वरूप आज गाउँ रित्तिदै गएको छ । गाउँ घरमा बस्ने मन कसलाई हुँदैन होला ? मन र बाध्यता बीचको ठूलो खाडल छ । त्यँही खाडलले जटिल परिस्थिती सिर्जना गरिदिएको छ । बाँकी भएका गाउँहरु पनि पञ्चायती व्यवस्था भन्दा कम छैन । टाठा–बाठाहरूकै हालिमुहाली छ । उती बेलाकै गाउँका जिम्बाल मुखियाहरूका साखा सन्तानको बर्चस्व कायम छ । अहिले पनि आवाज बिहिनहरू छायाँमामा छन् । पूरा गाउँनै दुषित राजनीतिमा चुर्लुम्म डुबेको छ । शक्तिको आडमा गाउँमा उधुम मच्चाउनेहरूको कमी छैन । सोझासाझाको कुनै अस्तित्व छैन । तिनिहरूलाई उत्पिडनमा पारिदै आएको छ । गाउँ–गाउँमा सिँहदरबार आयो भन्छन् तर कसका लागि ? पहुँच नहुनेहरूलाई त्यसको कुनै आभास छैन । लुटतन्त्र मच्चाईएको छ । यी र यस्तै कारणले मानिसहरु गाउँ छाडेर हिड्नु पर्ने बाध्यतामा छन् ।

गाउँको मिठो हावा–पानी, पुर्खाहरूले पसिना बगाएको ठाउँ कति प्यारो लाग्छ । मनमा गाउँप्रतिको माया छुट्टै किसिमको छ । तर त्यति मात्र भएर जिविकोपार्जनको लागि प्रयाप्त हुँदो रहेनछ । भोको पेट पाल्नै पर्ने, आफ्ना सन्तानको भविष्य हेर्नै पर्ने । यी र यस्ता कारणले गाउँ छोड्नुको विकल्प छैन । रोजगारीका अवसर भैदिएको भए, बाबु नानीलाई कख मख गराउने विद्यालय भइदिएको भए सायद रहर कसैलाई हुने थिएन गाउँ छाड्ने । देशमा शान्ति सुव्यवस्था कायम भयो । लोकतन्त्र स्थापना भयो । देशमामा नयाँ संविधान जारी भयो । देशमा संघीयता पनि लागू भयो । तर नागरिकको अवस्थामा भने केही फेरिएन कुनै परिवर्तन आएन ।

बस्ती–बस्तीमा गुणस्तरीय स्वास्थ्य शिक्षा लगायत विकासका पूर्वाधारको सुनिश्चित हुनेछ भन्दै जनतालाई सधै भ्रममा मात्र राखियो । देश भित्र नै रोजगारीका प्राप्त अवसरहरू हुने छन । कल कारखाना खुल्ने छन् । कृषि क्षेत्रमा निकै ठूलो परिवर्तन हुने छन । हरेक क्षेत्रमा उत्तिकै अवसरहरू सिर्जना हुने छन । नागरिकको सरकार अभिभावक बन्ने छ । यी र यस्ता लाखौं लाख सपना जनता माझ बाँडिएको थियो । तर यसको ठ्याक्कै बिपरित भैदियो । जताततै बेथिति भष्टाचार र अपराध सत्ता शक्तिको दुषित राजनीति खेल र नेताहरुको देशद्रोही प्रवृत्तिको मात्र विकास भयोे । नेताहरु भष्ट्र हुँदै गए । तिनका कार्यकर्ताहरूले विधंश मच्चाएका छन् । जताततै, दुषित राजनीतिक खेल सुरु भयो । शिक्षा स्वास्थ्य लगायत पुर्वाधारका हरेक क्षेत्रमा लुटतन्त्रको मात्र खेल सुरु भयो । कताबाट आफ्नालाई मात्र पोस्न सकिन्छ भन्ने किसिमका प्रचलन सुरू भएको छ । सत्ता र शक्तिको चरम दुरुपयोग हुँदै आएको छ ।

गलत राजनीतिक प्रवृत्ति सुरु भयो । गाउँमा एउटा शिक्षकको जागिर खान पार्टीको कार्यकर्ता हुनु पर्ने स्थिति सिर्जना भयो । अधिकांश गाउँमा राम्रोसँग बस्नलाई पनि राजनीतिक पहुँचको खाँचो पर्ने स्थिति सिर्जना भएको छ । बेथिति अति भएको छ । विकासका नाममा खाली भ्रष्टाचार मात्र छ । त्यँही बाध्यात्मक अवस्थाले गर्दा पनि आज गाउँ बस्तिहरू खाली हुँदै आएका छन् । उचित किसिमको व्यवस्था गरिदिएको भए राज्यले आज गाउँलाई त्यागेर शहरमा हराउनु पर्ने कुनै पनि अवस्था सिर्जना हुने थिएन होला ।

गाउँमा बसेर दैनिकी गुजारा चलाउन समेत गाह्रो छ । कृषि क्षेत्रमा उल्लेख्य योगदान पुर्याउँछु भन्नेहरुलाई सरकारले राम्रोसँग व्यवस्थापन गर्न सकेको छैन । जसोतसो उब्जाउ गरेका कृषि जन्य सामाग्रीहरूको समेत बजार व्यवस्थापन भएको छैन । उनीहरुको उत्पादनले उचित मूल्य पाएको छैन । देशको उत्पादनले बजार नपाइरहेका बेला छिमेकी देश भारतबाट आएका कृषिजन्य सामाग्रीले बजार पाउँछन् । संविधानमा भएका कुरा संविधानमा मात्र सिमित छन् । कृषि कर्म गर्नेहरूलाई आधुनिक कृषि पद्धतिमा लैजान नसकेको अवस्था छ । कृषि पेशामा लाग्नेहरूलाई सरकारले बिना धितो अनुदान दिने भनेपनि सर्वसाधारणलाई त्यो प्रदान गर्न सकिराखेको छैन ।

सानोतिनो पहुँचले कुनैपनी क्षेत्रमा स्वच्छ काम नहुने स्थिति सिर्जना आएको छ । जबसम्म यस्तो किसिमको दुषित राजनीति खेल हुँदै जान्छ शक्ति को चरम दुरुपयोग गरिन्छ । राजनीतिलाई कमाई खाने भाँडोको रुपमा लिइन्छ । राजनीतिलाई जहिलेसम्म समाज सेवाको रूपमा लिन सकिदैंन, बेथितिको जरालाई उखेल्न सकिदैन, ग्रामीण क्षेत्रमामा प्रयाप्त रोजगारका अवसर सिर्जना सकिदैन, स्वास्थ्य शिक्षा लगायत आधारभुत आवश्यकताको ग्यारेन्टी जबसम्म सरकारले गर्न सक्दैन तबसम्म गाउँ रित्तने खेल क्रम चलिरहन्छ ।

‘आफ्नो गाउँ आफै बनाउ’–भन्ने नारालाई मुर्त रुप दिने हो भने पुरानो विधार धाराका छोटे राजाहरूलाई चुनावमा बहिस्कार गर्न सक्ने सामथ्र्य अब जनताले राख्न सक्नु पर्दछ । जनता अब दुई बोतल रक्सी र मासुमा नबिकी लोभ लालज र प्रलोभनमा पर्ने संस्कारलाई अन्त्य गर्नुपर्ने छ । एउटा गाउँपालिकामा वर्षमा करोडौं बजेट विनियोजन हुन्छ । त्यही बजेटलाई सही ढंगले परिचालन गर्न सके मात्र पनि हाम्रा गाउँ पुनः हराभरा हुने थियो । एउटा असल व्यक्तिहरूलाई नेतृत्व तहमा पुर्याउन सक्ने प्रमुख जिम्मेवारी जनताको हातमा हुन्छ । त्यसैको लागि अब जनता सच्चिनु पर्ने छ । जनताको सोचमा परिवर्तन आउनु पर्ने हुन्छ । राजनीति आडमा भ्रष्टाचारको आतंक मच्चाउने यी कलंकहरू निर्मुल पार्नु पर्छ । राजनीतिमा युवाहरुले बर्चस्व कायम राख्नुपर्ने हुन्छ । परम्परागत रूपमा फैलिएको गलत राजनीतिक प्रवृत्तिलाई अब अत्यन्त गर्नुपर्दछ ।

पञ्चायत कालदेखिका साशकहरूलाई उचित किसिमको व्यवस्था गर्नु पर्छ । राजा महाराजाको शैली अपनाउनेहरूलाई खबरदारी गर्नु पर्छ । सहेर बस्ने होइन गलतका विरुद्ध सशक्त रूपमा आवाज उठाउनु पर्छ । आगामी चुनावमा हामी जनता होसियार हुनु आवश्यक छ । ठूलो पार्टी को मान्छे हो आफ्नो मान्छे हो भन्दा पनि क्षमतावान व्यक्तित्वलाई साथ दिनु नै असल नागरिकको दायित्व हो । यो दायित्वलाई आत्मसात सिकौं । परिवर्तन हुदै जान्छ । त्यसैले अब देशको बागडोर, भिजन वाला सक्षम व्यक्तिको जिम्मा लगाउनु जनताको नैतिक दायित्व हो । हामीले जस्तो यो दुःख कठिनाई यो बिवस्ता अब आउने सन्ततीहरूले भोग्न नपरोस । त्यसको लागि तपाईं हामीमा सचेतना आउनु जरुरी छ ।

त्यसैको लागि गलत प्रवृत्ति र नियत भएका नेताको नाममा लुटतन्त्र मच्चाउनेहरूलाई हामीले छाड्नु हुँदैन । धेरै सहयौं, अब हामी जागरूप हुनुपर्छ । देश सिध्याउन बनेका यी भाइरसहरूलाई निर्मूल पार्ने काम अब सचेत नागरिक को हो । त्यसैले अब हिम्मत शाहस र आँट गरी अनुशासन सहितको यो देशको नागरिक हुनुको जिम्मेवारीलाई बोध गर्दै नेपाल आमाको मायालाई सिरमा राखेर अगाडि बढौं । बेथिति बिसँगती भ्रष्टाचारलाई जरैदेखि निर्मूल पार्ने कार्यमा तपाईं हामी एक ठाउँमा उभिन जरुरी छ । राजनीतिक धरातलभन्दा माथि उठेर खबरदारी गरौं, जय मातृभूमि नेपाल आमाको जय होस ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।