ताजा अपडेट »

पूरा हुँदै लुम्बिनी गुरुयोजना, पर्खाल भित्रको लुम्बिनीले बाहिरीसँग पनि सम्बन्ध बढाउँदै

सोमबार, २४ कार्तिक २०७७, १६ : ४७
6 Shares

भैरहवा । लुम्बिनी बिकासको गुरुयोजना सम्पन्नतातिर लम्केको छ । लुम्बिनी धेरै समय पछि तोकिएको रुप रेखामा देखिन थालेको छ । लुम्बिनी गुरुयोजना बनेको करिब ४ दशक पछि अहिले लुम्बिनीको बिकास ब्यवस्थित रुपमा हँुदै गएकोमा बिकास कोषका पदाधिकारी मात्र नभई स्थानीयहरु समेत सन्तुष्ट देखिन्छन । धेरै आरोह अवरोहहरु पारे गरेको लुम्बिनी गुरुयोजना पूरा हुन अझै केही वर्ष लाग्ने भए पनि अब गुरुयोजना पूरा हुने आश लिन सकिन्छ ।

पछिल्लो समय लुम्बिनीमा सम्पन्न भएको भौतिक पूर्वाधार र पुरा हुने तरखरमा रहेका पूर्वाधारहरुले गुरुयोजनालाई मूर्त रुप दिन थालेको छ । गुरुयोजना पूरा गर्नुको साथै लुम्बिनी विकास कोषले अहिले स्थानिय स्तरमा पनि राम्रो छवि बनाउदै लगेको छ । “पर्खाल भित्रको लुम्बिनी र पर्खाल बाहिरको लुम्बिनी” भन्ने स्थानियहरुको गुनासोलाई पनि बिकास कोषले न्यूनिकरण लगेको कोषको भनाई छ ।

यसैको प्रयास स्वरुप अहिले पवित्र उद्यान क्षेत्रमै पर्ने पर्सा–लोहखडिया मार्गलाई सौन्दरीकरण थालिएको छ । पवित्र उद्यानको प्रवेशद्वार रहेको पर्सादेखि तौलिहवा जाने मूल सडकको लोहखडिया चोकसम्म करिब ८ सय मिटर सडक खण्डलाई कोषले सुन्दरीकरण गर्न सुरु गरेको छ । ५ करोड ३५ लाख ११ हजार ९ सय ५६ रुपैया लागतमा सडकको दुवैतर्फ हरियाली, फुटपाथ, सौर्यबत्ती सहितको पूर्वाधार तयार पारिने कोषले जनाएको छ ।

कोषका योजना अधिकृत सरोज भट्टराईका अनुसार २०७८ सालको माघ महिना भित्रमा सकिने गरि लुम्बिनी–अर्घाखाँची–बाबुल जेभीलाई यसको ठेक्का दिईएको छ । यस्तै करिब २ करोड ५० लाख लागत लाग्ने गरि स्वागत द्वारको डिजाईन पनि स्विकृत भई सकेको र चाडै नै टेण्डर प्रक्रियामा जाने भट्टराईले जानकारी दिए । लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनीमा अब भौतिक पूर्वाधार मात्र नभई यसको सौन्दरीकरणमा पनि जोड दिईने बताए । “सौन्दरीकरणको प्रयास स्वरुप नै पर्सा–लोहखडिया मार्गलाई सौन्दरीकरण थालिएको छ ।” उनले भने यसले “यसले लुम्बिनी घुम्न आउने तिर्थालु मात्र नभई स्थानियहरुलाई पनि उत्तिकै महत्व राख्नेछ ।” भैरहवा–तौलिहवा सडकखण्डमा रहेको पर्सा–लोहखडिया मार्ग पवित्र उद्यान भएर गएको छ ।

लुम्बिनी विकास कोष अहिले ३ वटा प्राथमिकता निर्धारण गरि अगाडि बढेको लुम्बिनी बिकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले बताए । लुम्बिनीको विकासको लागी लुम्बिनी गुरुयोजना, लुम्बिनी भित्रको पर्खाललाई लुम्बिनी बाहिर कसरी जोडने र स्थानियहरुको शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखी लुम्बिनी वरिपरि करिब ८ किलोमिटरको क्षेत्रमा शहरी करणको खाका रहेको उनले बताए । यसका प्रयास पनि थालिएको उनले जानकारी दिए । उनले ३० शैया क्षमताको मातृ–शिशु अस्पताल निर्माण सुरु गरिएको बताए ।

उपाध्यक्ष मैत्तेयले लुम्बिनीमा २ प्रकारको आन्तरिक परिवर्तन गर्न थालिएको बताए । उनले तिर्थालुहरुको शान्तीको महशुश गराउन लुम्बिनीलाई प्राकृतिक रुपमा तयार पारिने बताए । यसका साथै लुम्बिनी बाहिरको क्षेत्रलाई पनि लुम्बिनीसंगै बिकास गर्दै लैजाने उनले दावी गरे । यसैको प्रयास स्वरुप पर्सा–लोहखडिया मार्गको सौन्दरीकरण, स्वागतद्वार निर्माण सुरु गरिएको उनले बताए । साथै भैरहवा लुम्बिनी, तौलिहवा, सैनामैना, देवदह र रामग्राम लगायत बौद्ध परिपथ जोड्ने गरि द्रुतमार्गको पनि कोषले परिकल्पना गरेको उनले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।