ताजा अपडेट »

शक्ति राष्ट्रका नेताले किन दिएनन् बाइडनलाई बधाई ?

सोमबार, २४ कार्तिक २०७७, ११ : ५२
8 Shares

काठमाडौँ । हालै सम्पन्न अमेरिकी राष्ट्रपतिय चुनावमा डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो बाइडनले बहुमत भन्दा धेरै इलेक्ट्रोरल भोट ल्याएर विजयी भैसकेका छन् । यद्यपी, आधिकारिक घोषणा भने भएको छैन ।

विश्वकै सबैभन्दा शक्ति राष्ट्रको सर्वोच्च पदमा निर्वाचित भएपछि बाइडनलाई विश्वभरका नेताहरुले बधाई दिइरहेका छन् । यतिसम्म कि, कतिपय विपन्न देशका जनताले समेत बाइडन र कमला ह्यारिसको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै उनीहरुलाई बधाइ र शुभकामना दिए । ह्यारिस अमेरिकाको इतिहासमा पहिलो महिला उपराष्ट्रपति हुन् । तर, केही शक्तिशाली देशका प्रमुख र नेताले भने बाइडन र ह्यारिसको जितप्रति कुनै पनि प्रतिक्रिया दिएका छैनन् ।

छिमेकी राष्ट्र मेक्सिकोले समेत बाइडनलाई बधाई दिन हिच्किचाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मेक्सिकन राष्ट्रपति एन्द्रेस म्यानुएल लोपेज ओब्रादोरले दुई देशबीचको समस्या समाधान नभएसम्म बधाई नदिने बताए । ओब्रादोरले प्रेस सम्मेलनको क्रममा भने, ‘चुनावसँग सम्बन्धित सबै कानुनी मुद्दा समाधान नभइन्जेल हामी रोकिन्छौँ, हामी लापरवाही गर्दैनौँ ।’ तर, डोनल्ड ट्रम्प र जो बाइडेन दुबै नेतासँग मेक्सिकोको उत्तिकै राम्रो सम्बन्ध भएको ओब्रादोरले बताए । ओब्रादोर ट्रम्प निकट मानिन्छन् ।

यस्तै, दक्षिण अमेरिकाकै ठुलो देश ब्रालिजका राष्ट्रपति जइर बोल्सोनारो र साउदी अरेबियाका राजकुमार मोहमद बिन सलमानले बाइडनको जितमा कुनै प्रतिक्रिया दिएका छैनन् ।अमेरिकापछि सबैभन्दा शक्तिशाली मानिएका शक्ति राष्ट्र चीन र रसियाका राष्ट्रपतिले राष्ट्रपति सी जिनपिङ र भ्लादिमिर पुटिनले बाइडनलाई बधाई नदिएको बताइएको छ । देशको तर्फबाट समेत कुनै शुभकामना बधाई नदिइएको सञ्चारमाध्यमले जनाएका छन् ।

चुनावी प्रतिस्पर्धाको बीचमा बोल्सोनारो र बाइडनबीच सम्बन्ध चिसिएको बताइन्छ । बाइडनले ट्रम्पसँगको पहिलो बहसको क्रममा अमेजोन जंगल रक्षाका लागि ब्राजिललाई दबाब दिनुपर्ने बताएका थिए । तर बोल्सोनारोले लगत्तै उक्त भनाइको खण्डन गर्दै बाइडेनको भनाइलाई ‘विनाशकारी’को संज्ञा दिए ।

नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु, फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्ते लगायत नेताहरुले भने बाइडन निर्वाचित भएलगत्तै बधाइ दिएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।