ताजा अपडेट »

डिप बोरिङमार्फत घरघरमा पानी झरेपछि स्थानीवासी खुसी

सोमबार, २४ कार्तिक २०७७, ११ : २०
4 Shares

मङ्गलबारे : वर्षौँदेखि पानी बोकेर खाने इलाम सोयाकका स्थानीयवासी घरघरमा जडित धारमा पानी झर्न थालेपछि खुसी भएका छन् । नेपाल सरकारको विशेष अनुदानमा इलाम नगरपालिकाले वडा नं ११ सोयाकमा बोरिङ प्रणालीमार्फत घरघरमा पानी पुर्याएपछि स्थानीयवासी खुसी भएका हुन् । 

नगरपालिकाले सोयाक खानेपानी आयोजना खण्ड १, २ र ३ सञ्चालन गरी १०० भन्दा बढी घरपरिवारलाई पानी उपलब्ध गराएको हो । कति परिवार पानी नभएकै कारण सो स्थान छोडिसकेको भए पनि पानी पाएपछि सोही ठाउँमा फर्किन थालेका छन् ।

स्थानीय नरेन्द्रप्रसाद आचार्य पानी अभावकै कारण आफू जन्मेको थातथलो छोडेर पानी भएको ठाउँमा बसाइँ सरेका थिए । गएको चैतबाट पानीको काम अगाडि बढेपछि उनले पुनः फर्किएर सोही ठाउँमा घर बनाएका छन् । उनले मात्र होइन धेरैले सो ठाउँ छोडिसकेका थिए । पानी आउने खबर पाएका विस्थापितहरु सोही स्थानमा फर्किन थालेको उनले बताए। 

अहिले नगरपालिकाले बोरिङ प्रणालीमार्फत पानी निकालेपछि केही हदसम्म भए पनि समाधान हुनेमा स्थानीयवासी ढुक्क भएका छन् । सो क्षेत्रको खानेपानीको सङ्कट टार्न पहाडी क्षेत्रमा डिप बोरिङमार्फत समस्या समाधान गरिएको इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताए । बर्सेनि पानीको मुहान सुक्न थालेसँगै स्थानीयवासीले गाउँ छाड्न थालेपछि नगरापालिकाले बोरिङ प्रणालीमार्फत स्थानीयवासीलाई पानी वितरण गरेको उनले बताए । 

पानी अभावले थलिएका स्थानीयवासीले हाल आवश्यकतानुसार पानी पाउने भएपछि राहत महसुस गरेका छन् । स्थानीय पवित्रा मगरले यसअघि एक पटक ल्याएको पानी आठ दिनसम्म प्रयोग गर्नुपरेको बताए । यो प्रविधि प्रयोग गरेर पानी निकालेपछि पानी अभावमा बस्ती सर्नुपर्ने बाध्यताको अन्त्य भएको नगर प्रमुख बस्नेतको भनाइ छ । 

बोरिङमार्फत पानी निकालेपछि गाउँमा खुशीयाली छाएको वडाध्यक्ष रविन एक्तेनले बताए । चौँसठ्ठी घर परिवारलाई लक्षित गरेर बनाइएको खानेपानी आयोजना हाल ८४ घर परिवारलाई वितरण गरिसकिएको छ । एक्तेनका अनुसार क्रमिकरूपमा घरधुरी अनुसार खानेपानीको लाइन विस्तार गर्दै लगिने छ । 

इलाम नगरपालिका र नेपाल सरकारको विशेष अनुदानमार्फत रु दुई करोड ४७ लाखको लागतमा सो आयोजना निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत कालीप्रसाद भुजेलले जानकारी दिए। आयोजनामा एक लाख लिटरको एउटा, ५० हजार र १० हजार लिटर क्षमताको एक/एक वटा रिजर्भ ट्याङ्की निर्माण गरिएको नगरपालिकाका इन्जीनियर दिपक गुरागाइँले बताए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।