ताजा अपडेट »

इराकमा नोभेम्बरको अन्त्यमा नयाँ शैक्षिक सत्र शुरु गरिने

सोमबार, २४ कार्तिक २०७७, १० : ५५
8 Shares

काठमाडौँ । इराकमा यही नोभेम्बर महिनाको अन्त्यदेखि नयाँ शैक्षिक सत्र शुरु गरिने भएको छ । सरकारी अधिकारीहरुले नोभेम्बर २९ देखि नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णय शनिबार गरेको समाचारमा जनाइएको छ । अधिकारीहरुका अनुसार इराकी प्रधानमन्त्री मुस्तफा अल काधिमीको उपस्थितिमा बसेको स्वास्थ्य तथा सुरक्षासम्वन्धी उच्चस्तरीय आयोगको बैठकले शैक्षिक सत्र शुरु गर्ने निर्णय गरेको हो ।

आयोगको बैठकमा भएको सहमतिअनुसार शिक्षा मन्त्रालयले आवश्यक प्रवन्ध गर्ने जानकारी दिइएको छ । यसअघि उप–शिक्षा मन्त्री फलाह अल क्विसीले गत अक्टोबर २७ का दिन प्रेस वक्तव्य जारी गर्दै शैक्षिक क्रियाकलाप सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिएका थिए। शैक्षिक क्रियाकलाप सञ्चालन गर्दा भने स्वास्थ्य सतर्कतासम्वन्धी आधारभूत मापदण्डको भने पालना गरिने उनले स्पष्ट पारे। उनले यसअघि लागु हुँदै आएको पाठ्यक्रममा संशोधन गरी नयाँ अवस्था अनुसारको नयाँ पाठ्यक्रम बनाउने कार्य भइरहेको पनि जानकारी दिएका थिए ।

त्यसैगरी अध्ययन अध्यापन कार्य विद्युतीय माध्यम तथा शैक्षिक टेलिभिजन च्यानल मार्फत् गर्ने बारेमा पनि सोँचविचार भइरहेको उनको भनाइ छ । अधिकारीहरुले शैक्षिक क्रियाकलाप सुचारु गराउने निर्णय गरिरहँदा पछिल्लो एक दिनमा इराकमा दुई हजार ८८० जना सङ्क्रमित भएका छन् । योसँगै इराकमा अहिलेसम्म कुल सङ्क्रमितको संख्या चार लाख ९६ हजार १९ पुगेको इराकी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।