ताजा अपडेट »

हुम्लामा अत्यधिक चिसो, पानीको धारामा बरफ जम्न थाल्यो

सोमबार, २४ कार्तिक २०७७, १० : ३६
6 Shares

हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सामा चिसोले पानीको धारामा बरफ जम्न थालेको छ । कात्तिक महिनाको दोस्रो सातादेखि हुम्लामा चिसो बढ्न थालेपछि हिल्सामा जम्मा गरेर राखेको पानी बरफ हुन थालेको हो ।

रातिको समयमा अत्यधिक चिसो हुने भएकाले धारामा बिहानको समयमा बरफ जम्न थालेको छ। बाल्टिन लगायत अन्य सामग्रीमा जम्मा गरेर राखेको पानीसमेत जमेर बरफ हुन थालेको सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी बल हुम्लाका प्रहरी निरीक्षक तथा बिओपी हिल्साका प्रमुख सुरज केसीले जानकारी दिए। यहाँको तापक्रम माइनसमा झरेकाले खानेपानीका धारामै बरफ जमेको छ ।

दिउँसो घाम लागेपछि मात्रै जमेको पानी बिलाउने गरेको हो । हिल्सामा होटल व्यवसायी कोही नभए पनि सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका सुरक्षाकर्मी रहँदै आएको केसीले जानकारी दिए । चिसो बढ्दै गएपछि हिल्सा प्रहरी चौकीले मङ्सिर पहिलो सातातिर सिमकोट सर्ने तयारी गरिरहेको उनले जानकारी दिए। उनका अनुसार नेपाल प्रहरीको टोली जिल्ला फिर्ता भए पनि सशस्त्र प्रहरी हिउँदको समयमा पनि हिल्सामै रहने छ । मङ्सिर लागेसँगै हिल्सा, लिमी लगायतका उच्च क्षेत्रमा रहेका प्रहरी चौकी जिल्ला सदरमुकामतिर सर्ने गरेका छन् ।

हिल्सामा बिओपी स्थापना भएसँगै यो वर्षदेखि सशस्त्र प्रहरी बल बाह्रै महिना सीमा सुरक्षामा खटिने भएको छ । पुस र माघ दुई महिना हुम्लामा अत्याधिक हिमपात हुनुका साथै तापक्रम माइनस १५ डिग्रीभन्दा बढी हुने गर्दछ । तापक्रम माइनसमा झरेसँगै चिसो बढेकाले पानीका धारामै बरफ जम्न थालेको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।