ताजा अपडेट »

फूलमा आत्मनिर्भर बन्दै दाङ, खेतीमा महिलाहरुको आकर्षण

सोमबार, २४ कार्तिक २०७७, १० : ३४
42 Shares

दाङ । हिन्दुहरुको दोस्रो ठूलो चार्ड दिपावली नजिकिँदै छ । तिहार नजिकिएसँगै फूल खेती गर्ने किसान सयपत्री र मखमलीमाला बिक्री गर्ने तयारीमा जुटेका छन् । कोरोना कहरका कारण लामो समयसम्म कुनैपनि औपचारिक कार्यक्रम नहुँदा व्यहोर्नु परेको नोक्सानीको केहि राहात तिहारले दिने विश्वासमा फूल खेती गर्ने किसानहरु छन् । विगत ७ वर्षदेखि घोराहीमा व्यावसायिक रुपमा फूल खेती गर्दै आएका लोकेन्द्र रोका मगरले विगतका वर्षको तुलनामा यस वर्ष फूल खेती फाइदामा नभएको बताए ।

रोका मगरले अहिले घोराही उपमहानगरपालिका वडा नम्वर १४ झिगौरामा जलजला पुष्प खेती तथा नर्सरी सञ्चालन गर्दै आएका छन् । तिहार नजिकिएसँगै मगर मखमली फूल टिपेर माला बनाउन ब्यस्त छन् । यसपालि तिहार लक्षित सयपत्री फूलको १ हजार वटा माला तयार पार्ने लक्ष्य रहेको उनी बताउँछन् । तिहारका लागि मालाको माग आउन थालेको बताउँदै उनले जिल्ला बाहिरबाट पनि यसको माग आएको बताए । उनको दैनिकी नै विहान उठ्ने फूल टिप्ने र माला उन्ने भएको छ । आफुलाई भ्याईनभ्याई भएको उनको भनाई छ । सरकारले फूल खेती ब्यवसायलाई माथि उठाउन महत्वपूर्ण भुमिका खेलेको उनले बताए । फूल खेतीको बजार सुनिश्चित भैसकेकाले आफ्नो बाँकी जिवन यसैमा बिताउने र यसबाट आफू सन्तुष्ट भएको उनले बताए । फूलको माला आवश्यक परेमा र नर्सरीको अवलोकन गर्ने सोचाई भएमा आउन उनले आग्रह गरे ।

तिहारलाई फूलको पर्व पनि मानिँदै आएकाले जिल्लामै व्यावसायिकरुपमा फूल खेती थालेको किसानहरुको दैनिकी अहिले फूलवारीमा छ । अहिले नेपालगञ्ज, टीकापुर, बुटवललगायतका स्थानबाट माग आएको रोकामगरले बताए । उनले १८ कठ्ठा जग्गा भाडामा लिएर खेती फूल खेती गरेका छन् । वार्षिक ७२ हजार भाडा तिर्ने गरेको उनले बताए । रोजगारीको शिलशिलामा ७ वर्ष कतारमा बिताएका रोकाले दाङमा दशै–तिहारलगायतका पर्व एवं अन्य शुभ कार्यका लागि फूलको माग देखेपछि यसको खेती गर्न थालेको बताउछन् । दाङमा व्यावसायिकरुपमा फूल खेती कतै नभएकाले आफूले सुरु गरेको रोकाले भने । अहिले एउटा मालालाई १ सय रुपैयाँदेखि १ सय ५० रुपैयाँसम्ममा बिक्री गरिने उनले बताए । पहिले तिहारका लागि मात्रै सयपत्री फूल उत्पादन गर्ने गरे पनि लोकेन्द्रले बाह्रै महिना फूल उत्पादन शुरु गरेको बताए ।

‘दाङमा १२ महिना नै फूलको माग भएकाले बाहै्र महिना नै फूल उत्पादन गर्न थालेको रोकाले बताए । त्यसैगरी उनले गुलाफको फूल पनि उत्पादन गर्ने सोच बनाएको बताए । अहिले सजावटका लागि जिल्ला बाहिरबाट गुलाफको फूल आउने गरेको उनले बताए । आफूसँगै परिवार तथा अन्य ४ जनालाई समेत रोजगारी प्रदान गरेको उनले बताए । व्यावसायिकरुपमा समय लगाएर काम गर्ने हो भने राम्रो आम्दानी हुने उनको भनाई छ । फूलको माग दशै–तिहारमा बढी हुने गर्दछ । त्यसैगरेर विभिन्न औपचारिक कार्यक्रम, विवाह, पूजाआजाका लागि फूलको माग हुने गरेको उनको भनाइ छ । तर यस वर्ष कोरोनाका कारण कुनै पनि औपचारिक कार्यक्रम नभएकाले फूल पनि बिक्री हुन नसकेको उनी बताउँछन् । थोरै लगानीबाट राम्रो आम्दानी गर्न सकिने भएकाले यसतर्फ लाग्नसमेत उनले आग्रह गरे ।

महिलाहरुद्वारा सामुहिक फूल खेती
घोराही १७ मा पनि महिलाहरु मिलेर सामूहिक रुपमा फूल खेती गरेका छन् । महिलाहरुले विगत ३ वर्षदेखि फूल खेती गर्दै आएको सुशीला पौडेलले जानकारी दिइन् । शुरुमा घोराही १३ डुमरगाउँमा ६ कठ्ठामा खेती गरिएको पौडेलले बताइन् । यसलाई व्यावसायिकरुपमा अगाडि बढाउने सोचमा रहेको उनको भनाई छ । अहिले कोरानाको कारण बाहिरी जिल्लामा फूल पठाउन नसकिएको बताइन् । गाउँघरमा आ–आफ्नो फूलवारीमै फूल खेती हुने गरेकाले पनि केही बजारी क्षेत्रमा मात्र यसको बिक्री वितरण हुने गरेको फूल किसानहरुको अनुभव छ ।

दाङमा हुने केही व्यापारिक मेला-महोत्सव तथा ठूला धार्मिक अनुष्ठानमा दाङमा उत्पादन भएको फूल पर्याप्त नहुँदा नेपालगञ्ज, बुटवल, धादिङलगायतका स्थानबाट फूलमाला खरिद गरिन्थ्यो तर अहिले दाङका विभिन्न स्थानमा फूलको व्यावसायिक खेतीको अभ्यास शुरु भए पछि यही फुलेका फूलले नै यहाँको आन्तरिक मागलाई सम्बोधन गर्न सकेको छ । पछिल्लो समय दैनिकरुपमा हुने औपचारिक कार्यक्रमहरुमा रेडिमेड फूलको आर्कषण घटेकाले फूलको बजार राम्रो रहेको छ । त्यसैले फुल खेतीप्रतिको मोह पनि बढ्दै जान थालेको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।