ताजा अपडेट »

मोतिपुर औद्योगिक क्षेत्र निर्माणले गति लिने, इआइएको प्रक्रिया जारी

आइतबार, २३ कार्तिक २०७७, २० : १४
22 Shares

बुटवल । बुटवलको मोतिपुरमा बन्दै गरेको मोतिपुर औद्योगिक क्षेत्र निर्माणको कामले गति लिने भएको छ । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणको काम सम्पन्न भैसकेको र वातावरणीय प्रभाव मूल्याँकन (इआईए) को क्रममा रहेकाले अव निर्माणले गति लिने भएको हो ।

इआईएका लागि उद्योग मन्त्रालयले प्रदेश उद्योग मन्त्रालयलाई यथास्थितिका विषयमा बुझेर पठाउन भनेपछि मोतिपुर औद्योगिक क्षेत्र निर्माणको कामले गति लिने संभावना बढेको हो । त्यसैगरी औद्योगिक क्षेत्रको उद्योग सचिव, राष्ट्रिय योजना आयोगका उपाध्यक्षसहित उद्योग मन्त्रालयको टोलीले स्थलगत निरिक्षण समेत गरेको छ । मोतिपुर औद्योगिक क्षेत्र परियोजना कार्यालयको जिम्मेवारी समेत हेरिरहेको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय बुटवलका प्रमुख निमेष अधिकारीले मोतिपुर औद्योगिक क्षेत्रको काम अब अघि बढ्ने बताए । कोभिड–१९ ले निर्माण प्रकृयामा केही ढिलाई भएको बताउँदै वातावरणीय प्रभाव मूल्याँकन स्वीकृत हुनासाथ काम अघि बढ्ने बताए ।

दुई वर्षअघि नै निर्माण सम्पन्न भैसक्नुपर्नेमा सरकारकै कारण ढिलाई भएको भन्दै उद्योगीहरुले निर्माण प्रकृया छिटो सुरु गर्न माग समेत गरेका छन् । इआईएपछि मोतिपुर क्षेत्रको वस्तीको व्यवस्थापन, प्रशासनिक संरचना निर्माण, नदी तटीय क्षेत्रको जग्गा व्यवस्थापन, बाटो, पानी, बिजुली लगायतका केही विषयमा विवाद रहेकोले छलफलपछि ती सबै समाधान हुने परियोजना कार्यालयले जनाएको छ । मोतिपुर औद्योगिक क्षेत्रको जग्गाभित्र केही वन क्षेत्रको जग्गा समेत परेको कुरा आएपछि इआइए प्रकृयामा केही बिलम्ब भएको बुझिएको छ ।

उता बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमवहादुर हमालले मोतिपुर औद्योगिक क्षेत्र निर्माणमा ढिलाई भएकोमा असन्तुष्टी जनाएका छन् । संघकै प्रस्तावनामा संघीय सरकारले मोतिपुरमा औद्योगिक क्षेत्र निर्माणको काम अघि बढाएपनि अहिले निर्माण प्रकृयामै ढिलाई भएकोमा उनको गुनासो छ । औद्योगिक क्षेत्रमा कुन प्रकृतिका उद्योग स्थापना हुने, कस्तो प्रकृतिका उद्योगलाई पहिलो प्राथमिकतामा राख्ने भन्ने कुरा महत्वपूर्ण रहेको भन्दै उनले चारसय बढी उद्योगीले उद्योग स्थापनाका लागि रुची देखाएको बताए ।

एक वर्ष अघि नै मोतिपुर औद्योगिक क्षेत्र परियोजना कार्यालयले उद्योगीहरुसंग लिखित आसयपत्र माग गरेको थियो । जसमा चारसय बढी उद्योगले मोतिपुरमा उद्योग स्थापना गर्न चाहेको आसयपत्रको फारम भरेका थिए । औद्योगिक क्षेत्रका लागि साविकका मोतिपुर, फर्साटिकर, अमुवा, टिकुलीगढ र आनन्दवन गाउँ विकास समिति समेत समेटिएको बुटवलस्थित तिनाउ नदीको उकास क्षेत्रको ८ सय १३ विघा सरकारी जग्गा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा जग्गा धनी पुर्जा प्राप्त भएको छ । त्यसमध्ये नदी, वस्ती, बाटो र मोतिपुर कोरिडोर निर्माणका लागि जग्गा छुट्याँउदा करिव ५ सय विगाहा जग्गामा मात्र औद्योगिक क्षेत्र वन्ने कार्यालय प्रमुख अधिकारीले बताए । औद्योगिक क्षेत्र भित्र विद्यालय, खेल मैदान, स्वास्थ्य चौकी लगायतका संरचनाका लागि जग्गा छुट्याउनु पर्ने स्थानीयले माग समेत गरेका छन् । उक्त औद्योगिक क्षेत्रमा साना, मझौला र ठूलो उद्योगका लागि छुट्टाछुट्टै क्लस्टर निर्माण गरिने जानकारी अधिकारीले दिए ।

मोतिपुर औद्योगिक क्षेत्र स्थापनाका लागि नीजिस्तरबाट पहल गर्ने बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा उद्योगी नवराज श्रेष्ठले दुई वर्ष अघिसम्म धेरै अघि बढेको निर्माणको प्रकृया आफूहरुले हस्तान्तरण गरेपछि सुस्त भएको बताए । करिव ६ वर्षअघि मोतिपुरमा नीजिस्तरबाट औद्योगिक क्षेत्र बनाउन बुटवल उद्योग वाणिज्य संघले पहल गरेको थियो । पछि तत्कालीन उद्योग मन्त्री सोमप्रसाद पाण्डेकै पहल र नेतृत्वमा सरकारले नै मोतिपुरमा औद्योगिक क्षेत्र बनाउने भनेपछि संघले निर्माणको सबै प्रकृया सरकारलाई हस्तान्तरण गरेको थियो । उद्योगी श्रेष्ठले मोतिपुर औद्योगिक क्षेत्र निर्माणको कुरा सरकारको नीतिमा भर पर्ने भएकोले बुटवलका उद्योगीले निर्माण छिटोहोस भन्ने कामना मात्र गर्न सकिने प्रतिकृया दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।