ताजा अपडेट »

सम्झनामा सिमला सफर-२

आइतबार, २३ कार्तिक २०७७, १९ : ३३
26 Shares

अहिले सोच्छु चिनको वुहानबाट फैलिएर बिश्वभर आतङ्क मच्चाइरहेको कोरोना महामारीको कारण भारतमा मजदुरी गर्न गएका लाखौं नेपालीहरु आफ्नो भूमि फर्किदा होस् वा रोजगारी गुमाएर भारतको विभिन्न स्थानमा विचल्नी भएर विजोक भएको दारुण कथाहरुमा ति युवकका कथा पनि मिसिए होलान् । भोकै प्यासै महिनौं लगाएर पैदलै आफ्नो घर फर्किने नाङ्गो पैतालाहरुमा सायद तिनका पैतालाहरु पनि मिसिए होलान् ।

अप्ठ्यारो ग्याङ्ग्रीन बाटोमा चलिरहने घोडाहरुको दोहोरीलत्तले घरी घरी सातो पुत्लोनै उडाउथ्यो । किनकी साँगुरो बाटोको कारण तिनीहरु एक आपसमा ढेस्सिएर क्रस हुन्थे । मुन्तिर झरेको घोडसवारको खुट्टा बेसमारी पेलिन्थ्यो । त्यस्तै हुदा बिमला भाउजुको खुट्टा बेस्सरी पेलिएछ । कुफ्रीको यात्रा भरी बिचरी भाउजुले पेलिएको खुट्टाको पिडा साथीहरुलाई नमज्जा नलागोस् भनेर
सक्दो लुकाएरै राख्नुभएछ । लज फर्किए पछि घोडा सवारीको प्रसङ्गमा आ(आफ्नो अनुभव एक अर्कामा सेयर गर्दा पो बल्ल देखाउनु भयो । घुँडा नेर पेलिएर पुरै निलो भएछ ।

सायद ! हिँउ पर्ने सिजन नभएर होला नोभेम्वर तिर चाँही हेर्दा सामान्य देखिने डाँडामा सयौं घोडा देखी चौरी , खरायो र मान्छे रोजगारी पाएको देखेर मलाई आफ्नो देशको सुन्दर सम्पदाहरु सरकार र स्थानिय निकायहरुको वेवास्ताले गर्दा पर्यटक विकास र पारखीहरुको अभावमा त्यसै खेर गैरहेको संझेर कुफ्री प्रति इर्श्या लागेर आयो साँच्चै भन्नु पर्दा जलन नै भयो । प्राकृतिक सौन्दर्यले भरिपुर्ण भएर पनि पुग्नु पर्नेहरुको नजर नपुगेको आफ्नो देशको तेस्तो सयौं सुन्दर स्थानहरु संझे । साथै सधैं पद पैसा कुर्सी र सत्ताको लागी लडीरहने नाकाम नेतृत्वहरु संझे । देश विकासमा लगाउनु पर्ने रकम भ्रमण र भत्तामा झ्वाम पार्ने वेकाम संसद् र सरकार संझे । मनमा धिक्कार लागेर आयो ।नेपालमा भने केही त्यस्ता पर्यटकिय स्थानहरुमा केवल होटल व्यावसाय फस्टाएको छ । मदिरा पसलहरुले मात्र माल कमाएका छन् । त्यहाँ त हजारौं सर्वसाधारणले पनि रोजगारी पाएको देखियो ।

कुफ्रीमा एउटा चौरीको याक लिएर बस्ने मान्छेले पनि वर्षदिनमा लगानी उठाएर पनि लाखौं आम्दानी गरेको भेटियो । एउटा याक लिएर बस्नेले प्रति व्यक्ति याकमा चढेको भा रु ३० रुपैया शुल्कले दिनको ३ हजार सम्म आम्दानी गर्छन् भने अनुमान लगाउनुहोस् त्यहाँ दिनको कति पर्यटक आउदारहेछन् ? जबकी कुफ्री जाने जति जम्मैले याक चढ्दैनन् र याक पनि एउटा मात्र हुदैन । खरायोका धनिहरुले पनि केवल फोटो खिचाएको भरमा खरायोबाटै पेट पालेको पाइयो । त्यस्तै गरी त्यहाँको स्थानिय मौलिक पोशाक हिमाञ्चली पहिरन लगाएर फोटो खिच्नेको धुइरो थामी नसक्नु थियो । उनीहरुले ठुल्ठुला ५ (७ वटा बाकसमा गहना सहितका सयौं जोडी हिमाञ्चली ड्रेस लिएर बसेका थिए । जुन पहिरन लगाउन पालो पर्खिनु पर्थ्यो । त्यस्ता ड्रेस लिएर बसेका पन्ध्र २० वटा त्रिपालको छाप्रीहरु परिहन लगाएर फोटो खिच्ने पर्यटकहरुको भिडले खचाखच थियो । हिमाचली पहिरन लगाएर केही फोटोसुटीङ पछि हामी नास्ताको खोजीमा हिड्यौं । भ्यू टावरबाट दृश्यावली हर्नेहरुको उस्तै घुइँचो थियो । प्लास्टिकका अस्थाइ कटेरामा तयार पारिएको स्थानिय मौलिक खाजा र चियाले पेट सेकाएर फेरी उही अभ्यासविहिन घोडसवारीमा मन कमाउदै शरिर थाम्दै सिमलातिर ओर्लियौं । सिमला मालरोड पुग्दा करिव साँझ पर्न लागेको थियो ।

ज्याकुहिलको नीरव शान्तिमा साँझको आरती

मालरोड घुम्नुभन्दा पहिले ज्याकुहिल जाने हाम्रो सल्लाह भयो । ४ बजीसकेकोले केवलकार बन्द भैसकेको रहेछ । ३ वटा कार रिजर्भ गरेर ज्याकुहिलमा अवस्थित हनुमान मन्दिरमा पुगियो । ७ जना चाँही नजाने भनेर मालरोड तिरै छुटे । त्यँहा बिश्वकै अग्लो हनुमानको प्रतिमा ठड्याइएको रहेछ ।
उक्त हनुमान प्रतिमा वलीउडका सुपरस्टार अमिताभ बच्चनको परिवारको लगानी र अनावरण भएको देखी खुलेको हो । प्रतिमा छेउको हनुमान मन्दिरमा साँझको आरतीको तयारी हुदैथियो । त्यहाँ जाने जति सबै जना आरतीमा सहभागी भयौं ।

सुगन्धित धुप र उज्यालो वत्तिहरुले झकमक्क हनुमान मन्दिरमा विभिन्न वजरंगवलीका आरतीका श्लोक र मन्त्रोच्चारण सहितको साँझ आरतीले मनमा नीरव शान्तिको अनुभूति भयो । साँच्चै भन्नु पर्दा जुनसुकै धर्ममा होस् धार्मिक सहिष्णुता सहितको आस्था र श्रद्धाले मनमा शान्ति दिनुको साथै मानिसलाई नैतिक मूल्य र मान्यतामा हिड्न सिकाउछ जस्ले मानिसलाई सभ्य र शालिन समाज निर्माण तर्फ अग्रसर गराउदछ । आरती सकिएपछि हनुमान प्रतिमाको परिक्रमा गरियो । साँझको बेला, सरद ऋतुको मौसम, मन्दिर परिसर, सुनसान बाटो, फुस्-फुस् बहेको पातलो कुहिरो, हल्का चिसो-चिसो हावा त्यो समय साँच्चै संझन लायकको सुन्दर र आनन्दमय थियो ।

पुष्पा दिदीको परिवार र कविता चौधरी दिदीको दम्पती मालरोडमै हामीलाई पर्खिरहनु भएको थियो। फोन आए पछि हामी हतार गरेर ओरालो झर्याैं । मन त लाग्दैथियो त्यो शान्ति र सुन्दरताको समवेत साँझमा अझै केही पल हराउँ । ज्याकुहिल बाट छुट्दो साँझमा तल तिर हेर्दा देखिने सिमलाको सौन्दर्यमा मोहित नहुने मान्छे विरलै होला । तर त्यहाँ प्राकृतिक देन मात्र भने थिएन । मानव सिर्जनाहरुको सम्मिलन पनि अवस्य थियो। हामीलाई ख्रीष्ट चर्च , पार्लियामेन्ट भवन , द रिज र मालरोडको रौनकता हेर्ने हतारो थियो । त्यो सुन्दर साँझ गुमाउनु भनेको हाम्रो लागी खर्चको बजेट बढाउनु थियो ।

साहसिक नारीरत्न लक्ष्मी बाई

मालरोड उक्लिदै गर्दा हामी ६ जना सानो पार्कको बाटो हुदै गयौं । सिमेन्टको बुट्टेदार ब्लक र दुबोको सज्जाले पार्कको भुइँ कलात्मक कार्पेट बिछ्याए जस्तो देखिन्थ्यो । पार्कको एक छेउमा पिठ्युमा बच्चा र हातमा तरबार बोकेर सारा ब्रम्हाण्डलाई हाँक दिए झै विजयको लागी युद्धभुमिमा होमिएकी भारतकी नामुद वीराङ्गना झाँसीकी रानी लक्ष्मी बाईको सालिक थियो । उक्त सम्मानगारत सालिक देख्ने जो कोहीलाई लाग्दो हो नारी भनेको केवल मझेरीको सोभा होइन आईपरे आफ्नो देश र माटोको लागी सास रहेसम्म शत्रुसँग भिड्न र राष्ट्रिय स्वाभिमानको लागी प्राणको आहुती दिन तयार हुने योद्धा पनि हो ।

अंग्रेजको दाषत्वबाट मुलुकलाई मुक्त गर्ने अनन्त अभीप्सा बोकेर देशको लागी जीवन बलीदान गर्ने लक्ष्मी बाई भारतको मात्र नभएर बिश्वकै एउटा उदाहरणीय नारी रत्न हो । जस्ले भारत स्वतन्त्र बनाउने अभियानमा अत्यन्त शाहसिक र ऐतिहासिक कदम चालेकीछन् । ईतिहासले लक्ष्मी बाईलाई कति न्याय गर्न सक्यो त्यो त ईतिहास विज्ञहरुलाई थाहा होला तर एउटा परम सत्य यो हो की मानिस शरिरले होइन योगदान कर्म र कृतिले जन्मजन्मान्तर अमर र अजर रहन्छन् । जसरी बिश्वका हजारौं रत्न वा निधिहरु उनीहरुका विशिष्ट कर्म र योगदानले अमर भएकाछन्

स्वर्गको एक टुक्रा

जब हामी प्राचिनकालिन ख्रीष्ट चर्च पुग्यौं । मनमा अनौठो कल्पनाहरु सल्वलाउन थाल्यो । सताब्दियौं देखी सिमलाको सिरेटो हिमपात र तुषारो कती पटक चुपचार खपेर उभिएको होला त्यो प्राचिन चर्च ? यो निर्माण गर्नेहरु कालीगडहरुले ख्रीष्टलाई कसरी चिन्दथे होलान् ? उनीहरु स्वयम्ले भने त्यो चर्चमा प्राथना गरेका थिए कि थिएनन् होला ? यस्तै तर्कनाले मन तुलबुल हुन्दैथियो । दिनको समयमा सामान्य देखिने ख्रीष्ट चर्च साँझको समयमा लाइटहरुको संयोजनले सुनै सुनले निर्माण गरिएको स्वर्णइमारत झै देखियो । त्यो स्वर्णकार चर्चलाई मनको क्यामेरामा कैद नगरी रहन सकिन्नथ्यो । दुईचार क्लिक मोबाइलको क्यामेरामा पनि गरेँ । सायद सबैले गरे ।सिमलाको मालरोड भ्रमणमा भने हाम्रो टोली छुटियो । रोशन दाई बिमला भाउजु, देवी जी, प्रमिला दि र आस्था अनि म एक टोली भयौं ।

पुष्पा दिदी, भिनाजु, कविता चौधरी दिदी माल्दाई अर्काे टोली भए । रोशन दाईको २ भान्जाहरु, भान्जी बुहारी र भतिज लगाएर ४ जना नानीहरुको टोली अलग्गै भएछ । सुनौलो ख्रीष्ट चर्चलाई आँखा भरी नियालेर हृदयमा स्वर्णकार छाप राखीसकेपछि हामी द रिजको विशाल पटांगिनीमा पुग्यौं । धेरै मान्छेहरु द रिज माथीको खुल्ला मैदानमा साँझ आनन्द लिदै टहलिदै थिए । केही युगल जोडीहरु पनि हात समातेर गफिदै यताउती घुमिरहेका थिए । कोही भने भारतकै अग्लो तिरंगाको फेदमा झुम्मिएका थिए सायद उनीहरु देशको झण्डा र राष्ट्रियताको उचो गर्वानुभूति लिइरहेका थिए । मलाई लाग्छ त्यहाँ पुग्ने सबै भारतियहरु त्यो अग्लो तिरंगा देख्दा भारत स्वतन्त्र भएको दिन संझेर राष्ट्रिय स्वाभिमान त्यस्तै अग्लो भएको महसुस गर्दाहुन् ।

द रिज माथी उभिदा यस्तो लाग्यो अंग्रेजहरुलाई कुनै कुराको लागी सिमलाबासीहरुले साधुवाद पनि दिए होलान् किनकी भारतले अबको बीस वर्ष उत्तरमा पनि नसोचेको विशेष प्रविधिबाट पुरा सिमलालाई थेग्ने विशाल पानीको ट्याङ्की को निर्माण गरि शिमलाको प्यासी भुगोललाई अमृत समानको जीवन दिएको छ । यति मात्र होइन शिमलाको भौतिक बिकासमा अंग्रेजको विशेष योगदान सर्हानिय छ । अंग्रेजले भारतको उष्ण गर्मिलाई छल्दै सिमला जस्तो सित्तल सुन्दर उच्च हिमालयको काखमा बसी सारा भारतमा राज गर्ने सपना देखेर त्यँहाको भौतिक बिकासमा सक्दो नलेज र नगदको लगानी गरेको थियो होला ।

द रिजसँगै जोडिएको मालरोड बिचको सुन्दर र कलात्मक पार्लियामेन्ट हाउस शिमलाको अर्काे आकर्षण हो । अंग्रेजको शासनकालमा निर्माण गरिएको उक्त भवन भित्र विभिन्न हल र खण्डहरु छन् । निस्चित समय र बारमा मात्र खोलिने भवन पर्यटकिय संग्रालयको रुप राखिएको रहेछ । विशेष प्रकारको ढुंगा माटो र संसाधनले तयार गरिएको पार्लियामेन्ट हाउसमा कलरफुल बत्तिको सजावटले साँझको समयमा हेर्दा स्वर्गको एक टुक्रा ल्याएर थपक्कै राखीदिए जस्तो लाग्दथ्यो ।

भिर माथीको अग्लो डाँडामा बसेको शिमला मालरोडको झलमल पार्लियामेन्ट भवनलाई घुमि घुमि हेर्दा हेर्दै हामीलाई साथीहरुले छोडीसकेछन् । रोशनदाईले कल गरेर बोलाए पछि मालरोडको सोपिङ एरिया तिर दगुर्याैं जँहा अरु खरिदारीमा ब्यस्त थिए । मलाई सामान किन्नु भन्दा घुम्नुमै आनन्द आइराखेको थियो । यती टाढाबाट सामान जोगाएर घर पुर्याउनु एक किसिम दिग्दार लाग्थ्यो मलाई ।किनकी फेरी हामी जयपुर भ्रमणमा पनि जाने योजनामा थियौं । नगद भए सामान कहीँबाट उपलब्ध हुनसक्थ्यो तर शिमला फेरी पुग्नु त नगद मात्र भएर हुन्न । हरेक तजबीज सहितको साइत नै जुर्नु पर्छ ।

दिनमा भन्दा रातमा गुल्जार मालरोड घुम्नुको अलग्गै मज्जा लिन शिमलानै पुग्नु पर्दछ । यस्तै के के सोच्दै थिएँ ।मनालीको रोहताङमा छुटेको दुइवटै गगल्सको खुब माया लागेर आयो । त्यस्तै गगल्स खोज्दै मालरोडको सपिङ एरिया पुरा चक्कर लगाउदा पनि खोजे जस्तो फेला परेन । छुट्टा छुट्टै घुम्दा घुम्दै अन्तिममा सबै एक ठाँउ भेला भयौं । ड्राइभर राजुलाई बोलाएको ५ मिनेटमै आइपुग्यो हामीलाई गाडीमा हालेर एम्पलमण्डी पुर्यायो । बेलुका खाना खाइसक्दा ११ बजेको थियो । त्यसपछि विभिन्न गढी र किल्ला ऐतिहासिक शहर जयपुर पुगेको कल्पनामा हराउदै भोलिको बिहान पर्खाईसँगै निन्द्रा देवीको शरणमा गयौं ।

देशको पिरलोले कुँडिएको मन

हुन त हाम्रो देशमा पनि सिमला भन्दा सुन्दर विभिन्न पहाडी र हिमाली क्षेत्रहरु छन् । मुस्ताङ, मनाङ, खप्तड, जोमसोङ् सोलु जस्ता अनेकौं सुन्दर हिमाली भेकहरुलाई स्वर्ग भन्दा कम सुन्दर ठान्न सकिन्न । यति सुन्दर स्थानहरुमा सरकार र सम्बन्धित निकायहरुको ध्यान पुग्न नसक्दा त्यसै ओझेलमा परेर सौन्दर्य निख्रिएको जवान युवती जस्तो भएका छन् । हङकङ सिंगापुर अरव दुवई जस्तो मुलुकले बिकास पोखाउनको लागी भुगोल नपाएर समुन्द्र पुरेर शहर बसाएका छन् भने हाम्रो देशको सरकार भने यहाँको भुगोलको महत्व नबुझेर बन्जर बनाउन तुलेका छन् । यस्तो संझेर एक किसिम मन खिन्न भयो ।

सिद्धान्तको ज्यावल बोकेर बिचार र विवेकको जोडाई गर्दै राष्ट्र बिकास र निर्माणमा अघी बढ्नुको साटो सत्ता र सरकारमा बसेका पार्टी र नेताहरु संमृद्धि र बिकासको लागी नभई हड्डीको लागी फुट र जुटको खेल खेल्नमै मस्त देख्दा हरेक नेपाली नागरिकको छाती बिझाउछ ।पर्यटनले धानेको शिमलाको बिकासको अनुसरण यो देशले गर्न सके लाखौं युवाले अरवको मरुभूमिमा पसिना बगाउनु पर्ने थिएन होला । उज्यालो भविस्य खोज्दै विदेश पलायन हुनुपर्ने थिएन होला । यतिखेर रोजगारी र अवसरको अभावले चरम गरिवीको मार झेलेका लाखौं नागरिकहरु महामारीको दलदलमा पनि पेट पाल्न मुग्लान पस्न थालेको बग्रेल्ती समाचारहरुले मन अमिलो भएर कुडिन्छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।