ताजा अपडेट »

सुदूरपश्चिममा कोरोना सङ्कटः संक्रमितहरूले होम आइसोलेसनमै ज्यान गुमाउँदै

आइतबार, २३ कार्तिक २०७७, १५ : २९
6 Shares

धनगढी । शुक्रवार राती कैलालीको टिकापुरका दुई जना कोरोना सङ्क्रमितले होम आइसोलेसन मै ज्यान गुमाए । कैलाली टीकापुर नगरपालिका–१ का ४९ वर्षीय पुरुष र बर्दगोरिया गाउँपालिका–४ का ५९ वर्षीय महिलाको समयमै उपचार नपाउँदा घरमै ज्यान गयो । यो त एक प्रतिनिधि घटना मात्रै हो ।

सुदूरपश्चिममा कोरोना सङ्क्रमण भयावह बनिसकेको छ । चैत १४ गते पहिलो सङ्क्रमित देखिएको सुदूरपश्चिममा अहिलेसम्म ९ हजार ८ सय ७७ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार तीमध्ये १ हजार ४ सय ७३ जना अझै सक्रिय सङ्क्रमित छन्। अहिलेसम्म सुदूरपश्चिम प्रदेशभित्र २७ जनाको ज्यान गएको छ भने अन्यत्र उपचार गराउने क्रममा ज्यान गुमाएकाको समेत सङ्ख्या जोड्दा यस प्रदेशका ४० जनाले कोरोना सङ्क्रमणबाट ज्यान गुमाइसकेका छन्।

अस्पतालमा आइसियु र भेन्टिलेटर अभाव
पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या मात्रै बढेको छैन, सङ्क्रमितमा कडा खालको लक्षण देखिन थालेको छ । अहिले प्रदेशमा दैनिकरुपमा एक सय देखी डेढ सयको हाराहारीमा सङ्क्रमण पुष्टि भइरहेको छ । ति मध्ये दैनिक रूपमा लक्षण देखिएका दर्जनौँ सङ्क्रमित अस्पताल भर्ना भइरहेका छन् । शनिवार मात्रै ७ जना सङ्क्रमित कोरोना अस्पताल भर्ना भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए ।

‘आइसियुको आवश्यकता पर्ने गम्भीर प्रकृतिका १७ सङ्क्रमित अस्पताल भर्ना भएका छन,‘सूचना अधिकारी श्रेष्ठले भने,’तर हामी सँग १५ वटा मात्र आइसियु बेड छन् । अहिले दुई जनाको अक्सिजन जडित बेडमा राखेर उपचार गर्दैछौ । यस्तै खाले सङ्क्रमितको सङ्ख्या बढेमा व्यवस्थापनमा निकै समस्या पर्छ।’

‘गम्भीर प्रकृतिका लक्षणसहित सङ्क्रमित बढेपछि सुदूरपश्चिममा भएका सीमित आइसियु, भेन्टिलेटर र आइसोलेसन बेड भरिभराउ छन्,सूचना अधिकारी श्रेष्ठले भने,‘आइसियु र भेन्टिलेटर अभाव भएको छ । सेती प्रादेशिक अस्पतालका १५ वटै आइसियु बेड भरिएका छन्। अब आउने बिरामीलाई समस्या हुन्छ ।’

५० आइसोलेसन बेड रहेको सेती प्रादेशिक अस्पतालमा ४९ बेड भरिएका छन् । थप सङ्क्रमित आए बेड अभाव हुने सूचना अधिकारी श्रेष्ठले बताए। ‘आइसोलेसन बेड पनि भरिसकेका छन्, अब सङ्क्रमित आए भर्ना गर्न सक्ने अवस्था छैन,’ उनले भने ।
चिकित्सक भन्छन्,‘कोरोना नियन्त्रण बाहिर गइसक्यो’

भारतबाट आउनेहरू परीक्षणविनै घर गइरहेका छन् भने अर्कातिर सङ्क्रमण पुष्टि भएकाहरू पनि खुलेआम गाउँ–सहर घुमिरहेका छन् । नागरिक स्तरबाट पनि लापरबाही निकै बढेको छ । सरकारी कार्यालयमा मात्रै हैन बजारका पसल पसलमा पनि भीड बढेको छ ।

‘धनगढीमा ठेलमठेल देखिने सर्वसाधारणहरूले न सामाजिक दुरी कायम गरेका देखिन्छन्, न त मास्कको प्रयोग नै गरेका हुन्छन् । दसैँका नाममा त झनै लापरबाही बढ्यो,’स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले भने,‘लापरबाही निकै बढेको छ, अवस्था यस्तै रहे धनगढीमा पनि काठमाडौँको जस्तै स्थिति आउँछ । हामी फेरि समुदाय स्तरमा पनि परीक्षणको तयारीमा छौँ’, उनले भने ।

सेती प्रादेशिक अस्पताल कोरोना उपचार विभाग प्रमुुख चिकित्सक शेरबहादुर कमरले कोरोना सङ्क्रमणका कारण अवस्था नियन्त्रणबाहिर गएको बताए। ‘कोरोना सङ्क्रमण र गम्भीर लक्षण भएका सङ्क्रमितको सङ्ख्या बढ्दै गएर अवस्था जटिल बनेको छ,’ उनले भने,‘अवस्था नियन्त्रणबाहिर गइसक्यो ।’ जटिल प्रकृतिका सङ्क्रमितको संख्या र मृत्युदर पनि बढ्दै गएको उनले बताए। ‘जटिल प्रकृतिका सङ्क्रमितको सङ्ख्या बढेसँगै आइसियु अभाव हुन लाग्यो,’ उनले भने, ‘अब अवस्था भयावह हुने देखिन्छ।’

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।