ताजा अपडेट »

डेढ दशकपछि भेटघाटफाँटामा बिजुली बल्यो

आइतबार, २३ कार्तिक २०७७, ११ : १५
4 Shares

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ भेटघाटफाँटामा बस्ती बसेको डेढ दशकपछि बिजुली पुगेको छ । विद्युत् सेवा विस्तार भएपछि भेटघाटफाँटाका बासिन्दाले अँध्यारोमै बस्नुपर्ने बाध्यताबाट मुक्ति पाएका छन् ।

बस्तीमा रहेका १३२ परिवारका घरमा विद्युत् जडान गरिएको हो । विद्युत् सेवा नहुँदा स्थानीय बासिन्दाले रातिका बेला टुकीको सहारामा बस्तै आएका आएका थिए । “नजिकैको बस्तीमा विद्युत्को व्यवस्था थियो”, समाजसेवी अर्जुनबहादुर साउदले भने, “पूर्वपश्चिम राजमार्गभन्दा झण्डै २०० मिटर टाढा रहेको बस्तीमा विद्युत् सेवा थिएन । नजिकैको बस्तीको उज्यालो हेरेर चित्त बुझाउनुबाहेक अर्को विकल्प थिएन । विद्युत् सेवा विस्तार भएपछि टुकीको सहारामा बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।” निकै वर्षपछिको पहलपछि गाउँमा बिजुली बाल्न सकिएको उनले बताए। “नजिकै बत्ती बलेको देखिन्थ्यो हाम्रो बस्तीमा विद्युत् नहुँदा बत्तीमुनिको अँध्यारो थियो”, करन चन्दले भने, “बस्तीमा बिजुली पुगेपछि हर्षको कुनै सीमा नै छैन । बस्तीका सबै जना खुशी छन् ।”

धेरै वर्षको पहलपछि जनप्रतिनिधिसँगै राजनीतिक दलका अगुवाहरुको पहलमा विद्युत् सेवा विस्तार भएको उनको भनाइ छ । केही परिवारले सौर्य प्यानलको व्यवस्था गरी उज्यालोको व्यवस्था मिलाएका भए पनि आर्थिक अवस्था कमजोर भएका धेरै परिवारले उज्यालोको व्यवस्था गर्न नसक्दा टुकी बाल्दै आएका थिए ।

“टुकीको धुवाँका कारण बस्तीमा श्वासप्रश्वाससम्बन्धी समस्या अधिक रहेको छ”, कुम्भजङ्ग शाहीले भने, “विद्यालय पढ्ने बालबालिकालाई रातिका बेला गृहकार्य गर्न र पढ्न झनै समस्या थियो । विद्युत्को व्यवस्थाले अब टुकीको सहारामा बस्नुपर्ने अवस्था रहेन ।” बस्तीका बासिन्दालाई विद्युत् सेवा विस्तार भएपछि सिँचाइ गरी व्यावसायिक खेती गर्न र घरेलु उद्योग सञ्चालन गरी आयआर्जन गर्नका लागि समेत सहज भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।