ताजा अपडेट »

विश्व बजारमा पुनः घट्न थाल्यो तेलको मूल्य

शनिबार, २२ कार्तिक २०७७, १६ : ०७
8 Shares


एजेन्सी । ऐतिहासिक नकारात्मक मूल्यलाई छोएर उकालो लागेको तेलको मूल्यमा फेरि गिरावट सुरु भएको छ । युरोपेली देशहरुमा घोषणा गरिएको राष्ट्रव्यापी लकडाउन तथा अमेरिकी चुनावका कारण पछिल्लो समय तेलको मूल्य फेरि घट्न थालेको हो । कच्चा तेलको मूल्य शुक्रबार अमेरिकी (डब्लुटीआई) बजारमा २.७ प्रतिशत र युरोपेली (ब्रेन्ट) बजारमा २.६ प्रतिशतले गिरावट आएर क्रमशः ३७.३७ र ३९.८८ अमेरिकी डलरमा झरेको थियो ।

शनिबार पनि मूल्य घट्ने क्रमले निरन्तरता पाएको छ ।  त्यसो त, लकडाउन वा चुनावले पारेको डिमान्ड साइड इफेक्टका कारण मात्रै मूल्यमा यो गिरावट आएको होइन । रसिया लगायत अन्य तेल उत्पादक राष्ट्रले विश्व बजारको मागमा आएको गिरावट बमोजिम तत्कालै तेलको उत्पादनमा कटौती गर्ने संकेत नदेखाएका कारणले पनि तेलको मूल्य घटेको हो ।  युरोपमा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएको छ ।

इटालीमा एकैदिन १ लाख २० हजार भन्दा बढी संक्रमित देखिएर ऐतिहासिक राष्ट्रिय रेकर्ड बनाएको छ । यस्तै अवस्था अरु देशमा पनि छ । सोही कारण युरोपेली युनियनको एक्जुकेटिभ कमिसनले आफ्नो आर्थिक प्रक्षेपणलाई कटौती गरेर सन् २०२३ सम्म अर्थतन्त्र पहिलेको अवस्थामा नफर्कने जनाएको छ । युरोपेली क्षेत्रको लकडाउनका कारण आगामी जनवरीसम्म यो क्षेत्रमा प्रतिदिन २० लाख ब्यारेल तेलको माग कम हुने प्रक्षेपण गरिएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।