ताजा अपडेट »

सम्झनामा सिमला सफर

शनिबार, २२ कार्तिक २०७७, १६ : ००
50 Shares

सहज होस् या चूनौतीपूर्ण, सिधा होस् या नागबेली यात्रा त यात्रा हो जस्ले जीवनमा अनुभूति र अनुभवका सहर्ष बैभव बटुल्न मद्दत गर्दछ । जिन्दगीमा जसले यात्रा गर्दैन उसले यात्राको अपूर्व खुशी र आनन्दको क्षितिज उघार्दैन । यात्रामा रहँदा मनले भने पाइलाहरुलाई बरोबर पछ्याउनु पर्दाेरहेछ । अथवा भनौं हृदयलाई साथै हिडाउँनु पर्दाेरहेछ तब मात्र लिन सकिने रहेछ यात्राको अपूर्व आनन्द ।

मनालीको मन हर्ने वादिया

असोज २८ गते भारतको सुन्दर पर्वतिय नगरी मनालीबाट सिमला प्रस्थानको तयारी गर्दैथियौं। चिसोको पर्वाह नगरी सबैभन्दा पहिले जब म बाल्कोनीमा निस्किएँ । तातो पानीको ग्लास बोकेर रोशन चौधरी दाई पनि निस्कनु भयो । त्यो प्रभात साँच्चैनै सुन्दर थियो । शीरमा हिरा जस्तो हिमालको मुकुट लगाएकी मनालीको हर अङ्ग-अङ्गमा बिहानी घामको लालीमय सुनहरी किरण पोतिँदै थियो । हेर्दै मात लाग्ने पहाडी वादियाहरु कुनै सिपालु चित्रकारले क्यानभासमा कोरेको सुन्दर चित्रकलाझै देखिन्थ्यो । हुन त सुन्दरता नजरको हेराइमा पनि फरक पर्ने कुरा हो, मनको सोँचाइमा फरक पर्ने कुरा हो । मैले त्यो सुन्दर वादियाहरुलाई त्यसै स्वतन्त्र छोडिदिन चाहिन । क्यामराको दुई-चार वटा क्लिकमा कैद गरी दिएँ ।

वरीपरीको पहाडहरुमा देखिने सल्लाका हरिया रुखहरुले हामीलाई फेरी आउने अनुरोध गर्दै हाम्रो बिदाईमा उभिएझै देखिन्थ्यो। हामी १५ जनाको समुहले दुई रात बिताएको त्यो कलात्मक कटेज लजको बरण्डाबाट पारी सम्म देखिने दृश्यहरु उस्तै मन मोहक थियो ।तर पनि हामीले मनालीलाई छोड्नुनै थियो । यसपल्ट नपुगेका स्थान नटेकेको जमिन अर्काे पल्ट फेरी पुग्ने,अर्काे चोटी फेरी टेक्ने र मनालीको सुन्दरता मनग्गे पिउने मनमनै बाचा गर्दै बिहानको चिया नास्ता पछि हामीले कटेजलज छोड्यौं ।

जात र धर्मले होइन, कर्मले पुजिएकी हिडिम्बा

हामीलाई चढाएर गाडी वोल्ड मनालीको वारी पट्टीको सडक हुदै मालरोडको दाहिने पट्टीबाट छड्के लाग्यो । जहाँ महाभारत काल देखिको धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सुन्दर र शान्त स्थानमा हिडिम्बा देबीको टेम्पल अवस्थित छ । त्यहाँ पुग्दा यस्तो लाग्छ मानौ हिडिम्बा अझै तपस्यारत छिन् । ‘संसारमा कोही पुजिन्छ भने वर्ण ,समुदाय, जात र धर्मले होइन कर्मले पुजिन्छ । जस्को साक्षात उदाहरण हो हिडिम्बा टेम्पल । महाभारतको कथा अनुसार हिडिम्बा देवी एक राक्षसकन्या हो ।

मान्छेको मांस भोजन गर्ने राक्षस प्रजातीका राजा हिडिम्बकी बहिनी । पाण्डवपुत्र भिमसेनको रुप र ब्यक्तित्वबाट मोहित भएकी हिडिम्बाको प्रेम, तपस्या, कर्तब्य र सुकर्मको बारेमा महाभारतमा उल्लेख गरिएको छ ।हिडिम्बा देबी महाभारत युद्धमा पाण्डव पक्षबाट लड्ने बिर पराक्रमी योद्धा भिमसेन पुत्र घटोत्कचका माता हुन् भने महा पराक्रमी योद्धा बर्बरिककी हजुर आमा हुन् ।महाभारतको कथाअनुसार घटोत्कच यस्ता माहाबीर थिए जो एक्लैले सम्पुर्ण कौरव सेनालाई समाप्त गर्न सक्थे भने बर्बरिकले महाभारत युद्धका सम्पूर्ण सैनिकहरुलाई नै समाप्त गर्न सक्थे ।

बर्बरिकको युद्ध लड्ने पृथक विशेषता थियो ।उनी कमजोर पक्षको तर्फबाट लड्थे र मजबूद पक्षका लडाकुहरुको संहार गर्थे र कमजोर बनाउन सक्थे । फेरी जो कमजोर भयो उसैको पक्षबाट लड्थे । यसरी उनी सम्मिलित युद्ध अनन्तकाल सम्म चलिरहन सक्थ्यो । जुन युद्धरत राज्यहरुको लागी ठूलो दुर्भाग्य सावित हुन्छनै । घटोत्कचलाई कर्णले बैजन्ती अस्त्रको साहाराले मात्र संहार गर्न सकेका थिए । यही पूर्वज्ञानले बर्बरिकलाई श्रीकृष्णले छल गरी शिर र शरिर अलग गरेर अग्लो स्थानमाबाट केवल युद्ध हेर्नको लागी बिवश गराएका थिए । भनिन्छ प्रेममा परेपछी मान्छेले उमेर वर्ण जात धर्म केही देख्दैन। पौराणिक काल देखिनै यस्तै एउटा आदर्श प्रेम र तपस्याको प्रतिकको रुपमा हिडिम्बा देबीलाई पूजिँदो रहेछ ।

विशिष्ट र पृथक कर्मका कारण आज सम्म चर्चित रहेको हिडिम्बा टेम्पल मनालीको रोहताङ पछि दोश्रो पर्यटकिय महत्वपूर्ण सम्पदा भित्र पर्दाेरहेछ । जस्ले एउटा फरक धार्मिक आस्था बोकेको छ ।सयौ बर्ष पुरानो ठूला-ठूला देवदारका सुरिलो रुखको शितल छहारीले मन्दिरको शान्तिमा अझ शालिनता थपेको छ । रुखका छिद्रहरुबाट छिरेका स्वर्णकिरणहरुले मन्दिरको आँगन मोतीका दानाहरु असरल्ल पोखिए जस्तै छिरबिर देखिन्थ्यो । बगैँचा भित्रको वृक्षको सेपमा रहेका कारण लेउ लागेका बडे बडे पथ्थरका ढेलाहरुले साँच्चै प्राचिनताको आभास दिलाउथ्यो ।

विभिन्न जंगली जनावरका शीरहरुको सजावटले अन्य मठ मन्दिर भन्दा पृथक लाग्ने प्यागोडा शैलीमा बनाइएको काठै काठको हिडिम्बा देबीको कलात्मक मन्दिरको दर्शन पछी नजिकैको खाजाघरमा सबैले आ-आफ्नो इच्छा अनुसारको चिया कफी र नुडल्स सुप खाजा खायौं । रोशन चौधरी दाईको गायडेन्सीमा हामी पूरै परनिर्भर थियौं । सानो सानो निर्णय पनि दाईले गर्दिनु पर्ने । पाइला पाइला हामीलाई भर दिँदै ल्याउनु भएका दाइले मनालीमा चाँही लज खोज्ने जिम्मा अरुलाई छोडिदिनु भयो । दाई पछिको गाइड रोशन दाईकै माइला दाजु र भिनाजु हुनुहुन्थ्यो । दाईहरु तन चार दोहोर वल्लो लज र पल्लो लज गरीसक्दा पनि निर्णयनै दिन नसकेपछि आखिरमा दाइले नै गर्नु पर्याे डिसिजन । त्यहाँ पनि अब यति बजे मनाली छोडेनौ भने समयमा शिमला पुग्न सक्दैनौ भन्दै हतार लगाएर सबैलाई बटुल्दै बाँकी सफर तिर डोर्याउनु भयो ।

घुम्न छुटेको कुल्लु घाँटी

हिडिम्बा टेम्पलको दर्शन पछी ब्यास नदिको किनार हुदै हामीलाई बोकेर गाडी कुल्लु तिर लाग्यो । कुल्लु हिमाली भेगको महशुर ब्यापारिक घाँटी होरहेछ । बिभिन्न विदेशी तथा स्वदेशी सामानहरु खरिदारीको लागी हिमाचल प्रदेशको प्रख्यात व्यापारिक किल्ला । ड्राइभर रामुले कुल्लुको महशुर सल ( बर्की ) को होलसेल पसलको अगाडी गाडी रोकेर हामीलाई खरिदारीको लागी स्वतन्त्र छोडिदियो ।सबैले केही न केही किन्यौं ।कसैले सल कसैले स्वीटर कसैले बर्कि ज्याकेट तन्नासेट आदि किने । मैले पनि संझनाको लागी एउटा पन्छु किनेँ । त्यस पछी फेरी पहाडी धुलैटे बाटो हुदै ओरालो झर्याैं ।अघी देखी ड्राइभर रामुले कुल्लु कुल्लु भन्दै थियो तर हामीले मनमनै कल्पना गरेजस्तो चाँही भटिएन कुल्लु । समयको अभावले सायद हामी कुल्लुको मुख्य बजार मालरोड प्रवेश गर्न नपाएर पनि होला त्यस्तो लागेको ।

दुःखको कुरा कुल्लुमा पश्चिमी नेपालका छोरीचेलीहरुलाई समेत यौन कर्ममा संलग्न गराइएको समाचारहरु फेला पर्याे । ठूला–ठूला होटलहरुमा आउने स्वदेशी तथा विदेशी पाहुनाहरुको स्वागतमा युवतीहरु पेश गर्नमा कुल्लु विख्यात रहेछ । हामी कुल्लुको मेन बजार मालरोड नडुली सरासर अघी बढ्यौं , किनकी बेलैमा शिमला नपुगिएला की भन्ने सबैको मनमा त्रास थियो । विभिन्न ठाँऊमा भत्किएर मर्मतरत अवस्थामा रहेका सडक किनारमै त्रिपालको डेरा हालेर बसेको मजदुरहरु बेफिक्री विरुप भएर कामगरिरहेका देखिन्थे । ठाँउ ठाँउमा भत्किएको सडक मर्मत स्थलमा विभिन्न साइजका डोजर स्काभेटरहरु आफ्नै सुरमा चलिरहेको भेटिन्थे । पहाडको सडक जग्गा जग्गामा पहिरोले भत्काएर घाइते हुदा पनि बिश्राम भने लिन पाएको थिएन । सायद बाटोको नियतिनै होला घाइते भएर पनि मान्छेका पाइताला र गाडीका चक्काहरुको चोट छातीमा थापी लम्पसार परिरहनु ।

मध्यरात पछि इश्वरलोकमा बास

१४ घण्टाको यात्रा पार गरेपछी रातको १२ बजे मात्र एप्पलमण्डी शिमलाको ईश्वरलोक लज पुग्यौं ।सबैजना थकाइ र निन्द्राले चुर भएका थियौं ।रुम हेर्न माथी जाने दाईहरु निकै बेर सम्म पनि तल ओर्लनुभएन । बिसाउने आत्तुरीमा हामी पनि आ-आफ्नो झोला झ्याम्टा बोकेर माथीनै उक्लियौं ।जस्तो होस् हामीलाई बास बस्नु थियो र बिसाउनु थियो १२ घण्टा मोटरले थेचारेको शरीर । तर लजको साहुनीले रुमको रेट निकै चर्काे बताइन् । चारवटा रुमको रेट २५ हजार भारु भने पछि सबै जना वाल्ल पर्याैं । कताको मनालीमा सिंगै घरलाई रातको ४ हजार भारु, कताको ४ वटा बेडरुमलाई २५ हजार । यो सुनेर के गर्ने के नगर्ने अलमल परियो । बिचरात, बिरानो मुलुक, यात्रा र निन्द्राले थाकेको ज्यान, महगो मानेर अलपत्र पर्ने कुरो भएन । तैपनि रोशन दाईले लास्ट रिक्वेस्ट गरी २१ हजारमा कुरा मिलाउनुभयो ।

त्यसपछि पर रुम ३/४ जनाको दरले भाग लगाई त्यो रातको निन्द्रा र थकाइ बिसायौं । साथी देबी जी, प्रमिला पराजुली दिदी ,छोरी आस्था र म गरी जम्मा ४ जना एउटा रुममा पस्यौं । प्रमिला जीको अलिक पेट खराब भएको कारणले भुईमा ओछ्यान लगाएर सुत्नुभयो । मध्यरात पछिको बास, दिनभरीको यात्राले गलेर होला बिहानको ७ बजे सम्म कोही छटपटाएनन् । हुनत यात्रा सबै सहज र सुखदायी मात्र हुदैनन् । कठिन र चूनौतीपूर्ण पनि हुन सक्छन् । यात्रामा खान, पिउन, बस्न र सुत्नको ठेगान हुँदैन जाँहा पुगिन्छ त्यहीँ बास बस्नुपर्ने हुनसक्छ कहिले रातभर हिड्नु पर्ने पनि हुनसक्छ कहिले भोक भोकै कुद्नु पर्ने पनि हुन्छ । यस्तै पृथक अनुभूतिहरुको संगालोनै यात्राबाट आर्जन हुने सम्पत्ति हुँदो रहेछ । असोजको दिन, सिमलाको सुन्दरता, सरद ऋतुको मौसम, प्रभातकालिन घाम यसै मनमोहक थियो ।

जब म बरण्डामा निस्किएँ र वरी परीको दृश्यहरु नियालेँ । हरियो पहाडमा कपेर कतै भिरमाथी जग उठाएर बनाएका सेता आधुनिक घर होटल लजहरु प्रसस्तै देखिन्थ्यो । जसले सिमलाको सौन्दर्यलाई थप उजिल्याएको थियो । सिमलाको प्राकृतिक सुन्दरताले जति मोहित तुल्याउछ मान्छे लाई भौतिक संरचनाहरु पनि कम आकर्षक छैनन् । हामी बसेको ईश्वरलोक नामक लज पनि भिर मुनीबाट गाह्रो उठाएर बनाएको रहेछ ।बरण्डाको रेलिङबाट तल जग उठाको भाग तिर हेर्दा त आङै सिरिङ्ग भयो । सिमलामा सबैभन्दा समस्या पानीको रहेछ । बाटोमा जति खोल्सा खोँचहरु भेटिन्थ्यो तर कुनैमा पानीको अस्तित्व देखिएन । न त कतै झर्ना खसेको थियो न कतै नदि ,खोलानै बगेको थियो । सिमलामा जति पनि घर बिल्डिङ बनिन्छ सबै ट्याङ्करमा ओसारेको पानीले बनिदो रहेछ । पहाडकी रानीको नामले प्रख्यात शिमला सदियौं देखि पानीले तृप्त नभई काकाकुल भएर बाँच्नु चाँही यसको नियति रहेछ ।

अंग्रेजको अद्भूत निर्माण द रिज

पूरा भारतमा अंग्रेजले शाषन गरेको समयमा शिमलाबाट ३०७ किलोमिटर टाढा चड्विक झर्नाको पानी ल्याएर बिशाल पानी ट्यांकीको निर्माण गरी सम्पूर्ण शिमला भरी पानी सप्लाई गरिएको रहेछ । जुन वाटर ट्यांकी द रिचको नामले प्रख्यात रहेछ । शिमलाको मुख्य बजार मालरोडकै मुटुमा रहेको विशेष प्रविधिद्वारा सिमेन्टको प्रयोग नगरी अंग्रेजहरुले निर्माण गरेको द रिज नेर पुग्दा लाग्दैन की त्यो बिशाल सफा र सुन्दर खुल्ला पटागिंनी मुनी बिशाल पानीको ट्यांकी छ । अनेकौं दमन र अत्याचार गर्दै भारतमा अंग्रेजले लामो समय शाषन चलाउदा गरेको भौतिक बिकासहरु मध्ये द रिज पनि शिमलाको लागी एउटा काँडासँगैको गुलाफ जस्तै सुन्दर उपहार मान्न सकिनेरहेछ । जुन ट्यांकी भारतले अबको २० बर्ष पछि पनि निर्माण गर्न सक्दैन थियो ।

यँहा होटल लजको रेट किन यती महगो भन्ने प्रश्नको जवाफमा शिमलामा पानीको समस्या बारे यति लामो कहानी हामी बसेकै लज मालिक किट्टीले बताइन् । उनी एक जमानामा बलीउडकी प्रख्यात हिरोइन प्रिती जिन्टाकी कजन रहिछन् । लगभग उन्को चेहरा पनि प्रिती जिन्टासँग मिल्दो जुल्दो देखिन्थ्यो । यात्राको थकानले आधा रात पछी आरामबाट बल्ल बल्ल ८ बजे बाट एक एक गर्दै ब्यूझिन लागे । देबीजी , प्रमिला दि , आस्था र म लगाएत हामी ४ जना भने बिहान ६ बजेबाटै पालै पालो घर तिर भिडियो कल गर्दै गफिरहेका थियौं । बल्ल बल्ल ९ बजे सबै जना उठीसके पछि बिहानको चिया नास्ता खाएर कुफ्री भ्रमणको लागि निस्कियौं।

बिना सिजनमा पनि गुल्जार कुफ्री

बिहानी घामको किशोर स्पर्षले शरिरमा एक प्रकारको स्फूर्ती महसुस भैरहेको थियो । वरी-परीका सुन्दर पहाडी दृश्यावलोकनको लागि प्रख्यात कुफ्री डिसेम्बर जनवरी र फेब्रुवरीमा हिँउको लागि फेमस रहेछ । त्यो समय पर्यटकहरु बिशेष गरी हिउँ को मजा लिननै कुफ्री जाने गर्दारहेछन् । तर अरु समयमा पनि कुफ्रीमा पर्यटकको घुँइचो कम थिएन ।सयौं नेपाली युवाहरु र बंगलादेशीहरुले पनि निम्नस्तरको नै सही त्यहाँ रोजगारी पाएका रहेछन् । सिमला मालरोडबाट करिव १४ किलोमिटर माथी पर्ने कुफ्री सम्म जानको लागी ट्याक्सी तथा बसको शुबिधा छ । तथापी साढे २ किलोमिटरको बाटो भने अनिवार्य घोडा प्रयोग गर्नुपर्ने रहेछ । सायद घोडा व्यावसायीहरुको व्यापारिक पर्यटन पोलिसी हुनुपर्छ यो ।

एकदुई पल्ट घोडसवारीको शानदार फोटोसुटका लागी समथर मैदानमा घोडा चढेको बाहेक जीवनमा कहिल्यै घोडा नचढेको मान्छे म पहाडको नागबेली उकालो बाटोमा घोडा चढेरै जानु पर्छ भने पछि भित्री मनमा डरले डेरा जमाइसकेको थियो ।बाहिर भने त्रसित अनुहार लुकाउन असफल प्रयास गरिरहेको थिएँ । पछि त थाहा भयो म मात्र होइन अरु साथीहरु पनि भित्र भित्रै डराइरहेका रहेछन् । त्यस मध्ये देबी जी धेरै डराउनु भएको कुरा वहाँको आवाजबाटै प्रस्टै थाहा पाइन्थ्यो । किनकी देबीजीले आफू चढेको घोडाको नाम डरले कामेर स्वरमा जोड जोडले पुकार्दै हुनुहुन्थ्यो । दिनमा आठ-दश पल्ट करिब १२ सय घोडाले कुल्चेको पहाडी ग्याङ्ग्रीङ सेपिलो बाटो त्यसमाथि ठाँउ-ठाँउमा सिमसार जस्तो हिलो बाटोमा सयौं घोडाको दोहोरीलत्ताले लडाउछकी भनेर त्रसित हुन्थ्यो मन ।उकालो चड्दा भन्दा ओरालो झर्दा शरिर थाम्नै मुस्किल पथ्र्याे घरी–घरी ।आफ्नोे गाइडले डोर्याउने गरेको प्रत्येक घोडाको आ-आफ्नै नाम थियो ।

ती घोडाका सुसारेहरु सुदुर पश्चिमका केही नेपाली र बंगलादेशी थिए भने केही भारतिय पनि थिए ।यात्रामा उनिहरुसँग गफ गर्दै गयौं ।आफ्नो देशमा ब्याप्त बेरोजगारीको कारणले गर्दा कतिपय नेपाली दाजुभाई पराई मुलुकमा निम्नस्तरको पेशामा काम गर्न बाध्य थिए ।त्यहाँ हामीले २० (२२ जना नेपालीहरु घोडाको सुसारे भट्यौं । कोही वर्षौंदेखि त्यही पेशा गर्दै आएका थिए कोही त्यसैलाई जिविकाको माध्यम बनाउँदै आएका रहेछन् । हिउँ तुषारो झरी बादल केही नभनी ५० बर्षको प्रौढदेखि १५ बर्षको किशोरहरु घोडाको पछी पछि कुद्नुपर्ने दारुण दैनिकी संझेर मन कुँडियो । आखिर भोकले मान्छेलाई कतिसम्म कठोर पथ्थरमा पछार्दाे रहेछ भन्ने त्यहाँ महशुस भयो । लाखौं नेपाली यूवाहरुले अरबको खाडीमा बगाउने मूल्यहिन पसिना भन्दा मूल्यवान थिएन तिनीहरुको बग्दै गरेको जिन्दगी । तैपनि त्यसैमा वाध्यताले रमाएकै देखिए ।

म आफू चढेको घोडाको गाइड भने १५ वर्षको कलिलो तामाङ किशोर थियो । जुत्ता लगाएर विद्यालय जाने उमेरमा उ गमबुट लगाएर घोडाको लिदी सोहोर्छ । ब्याग बोकेर कलेज जाने उमेरमा ऊ घोडाको पुच्छर निमोठ्दै कुफ्रीको कच्ची बाटोमा उकालो र ओरालो गर्दै थियो ।
यात्राकै क्रममा उसित केहि वार्तालाप गरेँ ।
म : कति भयो घोडा डोर्याउन थालेको ?
उ : ३ वर्ष भयो ।
म : घर छोडेर किन यस्तो काम गरेको त ? पढ्नु पर्दैन ? ’
उ : किशोरले उल्टै प्रतिप्रश्न गर्याे ःघरमा खानै पुग्दैन । के पैसाले कापी किताव ड्रेस किन्नु र स्कूल जानु ?
उसोभए अब घर कहिले जाने त ?
उ : अब बैसाखमा घर जाने ।
म : किन त्यती पछि ?
उ : अब सिजनको बेला आउँदैछ । त्यसैले साहुले छुट्टीनै दिँदैन । यो जागिर छुट्यो भने अर्काे पाउन मुश्किल छ ।

पर्यटनमा प्रवर्द्धन र विकास गर्न सके नेपालमा सिमलाको कुफ्री जस्तो सिजनमा हिउँको साम्राज्य खडा हुने सुन्दर ठाँउहरु कति छन् कति ! जहाँबाट पहाड र हिमाली नजराहरु दृश्यावलोकन गर्दा चाँदीको शहरमा उभिएको भान हुन्छ । आर्थिक पक्षबाट मुलुकको मेरुदण्ड थाम्न सक्ने पर्यटनलाई सरकारको उचित ध्यान नपुग्दा सुन बग्ने नदी/नाला, पैसा फल्ने जमिन र अमृत सिञ्चन गर्ने लाखौं युवाहरुको पसिना र किम्ती जिन्दगीहरु विदेशको माटोमा विलिन भैरहेको देख्दा हर कोहीको हृदय दुख्छ ।ती नेपाली युवाहरुले आफ्नै भूमिमा अध्ययनलाई सँग-सँगै डोर्याउँदै त्यस्तो रोजगारी पाए त तिनिहरुको भविष्य कति उज्यालो हुन्थ्यो होला भनेर मन छुक-छुक भैरह्यो । क्रमशः

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।