ताजा अपडेट »

पाल्पामा ५ करोडको पुल निर्माण शुरु

शुक्रबार, २१ कार्तिक २०७७, २१ : २२
10 Shares

लुम्बिनी सरकारको सहयोगमा बन्ने पुलको मन्त्री चौधरीद्वारा शिलान्यास

परासी । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री एवं प्रदेश सरकारका प्रवक्ता वैजनाथ चौधरीले पाल्पाको माथागढी गाउँपालिकाको वदवारी(तिनाउ खोला) पुलको शिलान्यास गरेका छन् । पाल्पाको रुप्से–बदवारी–चिदीपानी सडक खण्डमा पर्ने उक्त पुल लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको लागतमा निर्माण हुन लागेको हो । रु रु ५ करोड ८२ लाख ४३ हजार ४०७ रुपैँयाको लागत अनुमान गरिएकोमा उक्त पुल चार करोड ८ लाख ४९ हजार ३१८ रुपैँयामा ठेक्का भएको मन्त्रालयले जनाएको छ ।

सडक पूर्वाधार विकास कार्यालय पाल्पाले कार्यान्वयन गर्ने उक्त आयोजना(पुल निर्माण)को जिम्मा १८ महीनामा सम्पन्न गर्ने गरी काष्ठमण्डप तिरुपति जेभी सुनवलले ठेक्का पाएको छ । ४० मिटर लम्बाई र ११ मिटर चौडाईमा बन्ने उक्त पुल आरसिसी प्रिस्टेस्ड कंक्रिट विमको बन्नेछ । यो पुल बनेपछि सिद्धार्थ राजमार्ग अन्र्तगत तिनाउ गाउँपालिकाको चरचरदेखि विभिन्न गाउँ जोड्दै आर्यभन्ज्याङ्को सिद्धार्थ राजमार्गसम्म जोड्ने मन्त्री चौधरीले जानकारी दिए । आज भएकोउक्त पुल शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री चौधरीले जनसंख्याको हिसावले पाल्पाको लागि प्रदेश सरकारले सबैभन्दा उच्च बजेट विनियोजन गरेको बताए ।

सालझण्डी पश्चिम पाल्पा, सुनवल बाँसटारी सडक, पूर्वी पाल्पा अरुणखोला सडक लगायतका सडकमा प्रदेश सरकारले उच्च प्राथमिकता दिएर बजेट विनियोजन गरेकोउनलेजानकारी दिए । यहाँको पुल निर्माणपछि सिद्धबाबा पहिरोको विकल्प मार्गको रुपमा समेत प्रयोगमा आउने उनको भनाई छ । जिल्ला समन्वय समिति पाल्पाकी मिरा मरासिनीको अध्यक्षता तथा मन्त्री चौधरीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य नारायण आचार्य, रमा घर्ति, माथागढी गाउँपालिका अध्यक्ष सन्तोष थापा मगर, बग्नासकाली गाउँपालिका उपाध्यक्ष सरस्वती चिदी लगायतको सहभागिता रहेको मन्त्री चौधरीका स्वकीय सचिव राजन कुमार आचार्यले जानकारी दिए । पुल निर्माण शुरु भएपछि यस क्षेत्रका बासिन्दामा खुशीयाली छाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।