ताजा अपडेट »

लकडाउनविरुद्ध लन्डनमा प्रदर्शन, १०४ जना पक्राउ

शुक्रबार, २१ कार्तिक २०७७, १७ : ०२
8 Shares

लन्डन । बेलायतको राजधानी लन्डनमा सरकारले जारी गरेको लकडाउनका विरुद्धमा प्रदर्शनमा उत्रिएका १०४ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रतिबन्धात्मक व्यवस्थाको उल्लंघन गरेकाले उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी अधिकारीहरुले जनाएका छन् ।

कोरोनाभाइरसको महामारी फैलिँदै गएपछि सरकारले दोस्रो पटक देशव्यापी लकडाउनको घोषणा गरेकाले त्यस विरुद्ध बिहीबार हजारौँले प्रदर्शन गरेका थिए । प्रदर्शनमा उत्रिएकाहरुलाई तत्काल भिडभाडबाट भाग्न र घरघर जान प्रहरी अधिकारीहरुले निर्देशन दिएका थिए । निर्देशन दिँदा पनि अवज्ञा गरेपछि उनीहरुलाई पक्राउ गरिएको हो । प्रहरी कमाण्डर जोन कोन्नर्सले कोरोनाभाइरस विरुद्ध लागु गरिएका प्रतिबन्धात्मक व्यवस्थाहरुको उल्लंघन गरेकाहरुलाई पक्राउ गरिएको स्पष्ट पारे । हाम्रो मुख्य जिम्मेवारी लण्डनलाई सुरक्षित राख्नु हो, त्यसका लागि हामीले भिडभाड गर्न नदिने नियम लागु गरेका छौँ, केही व्यक्तिहरुले त्यसलाई अटेरी गर्नुभयो, त्यसैले हामीले पक्राउ गरेका हौँ, उनले भने ।

झण्डै आठ महिना लामो महामारीका क्रममा बेलायतमा पटक पटक लकडाउन गरिएको छ र त्यसको अस्थालाई कहिले खुकुलो र कहिले कसिलो बनाउने गरिएको छ । केही हप्ता अगाडि महामारी फेरी बढ्न थालेपछि सरकारले लकडाउनलाई फेरी कडाइ गर्ने घोषणा गरेको हो । विश्व स्वास्थ्य संगठनले गत मार्च ११ देखि विश्वभरी कोरोनाभाइरसको महामारी घोषणा गरेको छ । संगठनका अनुसार महामारीका कारण विश्वभरी अहिलेसम्म चार करोड ९० लाख ५६ हजार ६६४ जना सङ्क्रमित भएका छन् । त्यसैगरी १२ लाख ३९ हजार ९९१ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने तीन करोड ५० लाख एक हजार ६२४ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि अहिले मुक्त भइसकेका छन् ।

विश्वभरी अहिलेपनि कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाहरुको संख्या एक करोड २८ लाख १५ हजार ४९ रहेको छ । ती मध्ये झण्डै एक प्रतिशत मात्रै गम्भीर अवस्थामा रहेका छन्

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।