November 27, 2020, Friday
२०७७ मंसिर १३, शनिबार

‘सञ्चारगृहले नै श्रमजीवीहरुलाई लात हान्ने काम भयो’

216

बुटवल । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले मिडिया हाउसहरुले कोभिड महामारीका बेला श्रमजीवीहरुलाई लात हान्ने काम भएको बताएका छन् । संक्रमणको बहाना बनाउँदै उनीहरुले पत्रकारलाई जागिरबाट निकाल्ने, समयमा सेवा सुविधा उपलब्ध नगराउने, बेतलबी विदामा राख्ने तथा न्यूनतमभन्दा पनि न्यून पारिश्रमिकमा काम लगाउने गरेको गुनासो गरे ।

‘श्रमजीवी पत्रकाहरुले नै उठाएका मिडिया हाउसहरुले कोरोना संक्रमणले संकटमा परेको बहाना बनाउँदै लात हान्ने काम भएको छ ।’–आचार्यले भने ‘मिडियामा लगानीकर्ताहरुको समस्या पनि हामीले बुझेका छौं, उनीहरुले भनेजस्तो भयावहको अवस्था नभएपनि बहानाबाजी गरेर पत्रकारहरुलाई अन्याय गर्ने कार्य भएको छ ।’ मिडिया हाउसका समस्या तथा श्रमजीवीहरुको बारेमा छलफल गरौं उनिहरुनै पछि सर्ने गरेको बताउँदै उनले महामारीको समयमा मिडिया सञ्चालकहरुले श्रमजीवीको समस्या बुझ्नु पर्ने आवश्यकता औँल्याए ।

प्रेस काउन्सिल नेपालको सहयोगमा नेपाल पत्रकार महासंघ रुपन्देही शाखाले शुक्रबार बुटवलमा आयोजना गरेको कोभिड जागरण अभियान तथा अन्तरक्रियामा बोल्दै महासंघका अध्यक्ष आचार्यले सरकारको तर्फबाट सञ्चारकर्मी तथा सञ्चारगृहका लागि राहत प्याकेज ल्याउन आग्रह गरे । महासंघले सरकारलाई बुझाएको मागमा उल्लेख भएअनुसार तत्कालीन रुपमा मिडिया हाउसहरुलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउने, पत्रकारहरुका लागि विभिन्न विषयमा लेखन वृत्ति सञ्चालन गर्ने, पत्रकार कल्याण कोष स्थापन गरी व्यवहारिक कार्यान्वन गर्नुपर्ने तथा समानुपातिक विज्ञापन नीति लागु गर्न आग्रह गरे ।

कोभिड विरुद्धको अभियानमा अग्र पङ्तीमा सबैभन्दा बढी जोखिम मोलेर काम गर्ने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुलाई राज्यले विशेष सुविधाहरुको व्यवस्था गरेको भएपनि सोही अनुसारको जोखिम मोलेर काम गरिरहेका पत्रकारहरुका लागि राज्यले कुनै राहतको व्यवस्था नगरेको गुनासो गरे । श्रमजीवी पत्रकार तथा मिडिया हाउसका समस्याहरु समाधानका लागि सरकारले दीर्घकालिन रुपमा योजना निर्माण गर्दै स्वरोजगार, व्यवसायिक लगाएतका वर्गिकरण गर्नुपर्ने आवश्यकता औल्याए ।

पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष भरत केसीले कोभिडका कारण सबैभन्दा बढी श्रमजीवी पत्रकारहरु मारमा परेको गुनासो गरे । मिडिया हाउसहरुले कोभिडको बहाना बनाएर आफूहरुले कुनै पनि सुविधा नछाड्ने तर सोही बहाना बनाएर आफ्नो जिम्मेवारीबाट पन्छिने गरेको आरोप लगाए । कोभिड महामारीले पत्रकारहरुको जिम्मेवारी र जोखिम थप वृद्धि भएको तर सेवा सुविधा कटौती हुने गरेको बताए ।

सोही कार्यक्रममा बोल्दै पत्रकार महासंघ रुपन्देही शाखाका सल्लाहकार नारायण सापकोटा, महासंघका अध्यक्ष यानेन्द्र जिसी, उपाध्यक्ष दिनेश पाण्डे, निरु गौतम तथा अन्य पत्रकारहरुले आफ्ना विचार तथा अनूभव सुनाउँदै राज्यले श्रमजीवीको पक्षमा कुनै पनि काम गर्न नसकेको गुनासो गरे । महामारीको समयमा स्वयम् पत्रकार महासंघले समेत प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको बताउँदै अन्तरक्रियामा सहभागीहरुले त्यसका लागि संघीय, प्रदेश तथा स्थानीय सरकार, सञ्चारगृहका सञ्चालक तथा सञ्चारकर्मीहरु बीच छलफल गरी अघि बढ्न सुझाब दिए । कार्यक्रम महासंघ रुपन्देही शाखाका सचिव आरपी आचार्यको सञ्चालनमा भएको थियो ।

पछिल्लो अपडेट