December 3, 2020, Thursday
२०७७ मंसिर १८, बिहीबार

बाढी पीडितका पीडा : आश्वासन आए, राहत आएन

333

भजनी : अछामको बान्निगढी जयगड गाउँपालिका वडा नं ६ का चक्रबहादुर थापाको गत भाद्र २ गते आएको कैलाश खोलाको बाढीले पुरै खेत बगायो । करिब २० मुरीभन्दा बढी धान फल्ने खेत बाढीले बगाएपछि अहिले के खाने भन्ने चिन्तामा उनको परिवार रहेको छ । खेतसँगै रहेको भैंसी गोठ पनि बगायो र घरसँगै रहेको पाखोबारी पनि बाढीले बगाउँदा केही दिन घर छोडेर अरुको घरमा साहरा लिन पुगेको उनी बताउँछन् । 

“खाने खेत, तरकारी बारी बाढीले बगाउँदा अहिले भोकमरीको चिन्ताले सताउन थालेको छ ।” उनले भने, “कुनै ठाउँबाट पनि राहतको लागि केही भएको छैन । नेता आए, मन्त्री आए आश्वासन दिएर गए तर बाढी गएको तीन महिना पुग्नै लाग्दा पनि राहत कतैबाट आएन ।” उनले आएको राहत पनि रामारोशन गाउँपालिकाको वडा नं ५ बाढीले बढी क्षति भएको क्षेत्रमा मात्र सीमित भएको गुनासो गरे । 

रामारोशन गाउँपालिकाको वडा नं १ का भक्तप्रसाद खनालको करिब ५० मुरी धान फल्ने खेत बाढीले बगर बनायो । आधाभन्दा बढी खेत बगर भएपछि आउँदा दिनहरुमा कसरी गुजारा चलाउने भन्ने चिन्तामा खनाल छन् । उनको आम्दानी स्रोत भनेकै त्यही खेत थियो । ८ जनाको परिवार पाल्ने आधार त्यही खेत थियो भने ६  छोराछोरीको शिक्षा दिक्षा पनि त्यही खेतबाट उत्पादन भएको अन्न बिक्री गरेर चल्थ्यो ।

“दैबी प्रकोपभन्दा ठूलो केही रहेनछ । सपना सबै बाढीमै बगेर गए । बाँकी रहेको धानखेती पनि बालुवामै पुरियो ।” उनले भने, “कतैबाट राहत पाइएको छैन तर पनि पाइन्छ कि भन्ने आशा जीबितै छ । राहत पनि नपाए भोकभोकै मर्नु पर्छ कि भन्ने डर छ ।”

बाढीका कारण सबैभन्दा बढी प्रभावित भएको रामारोशन गाउँपालिकामा पर्ने कैलाश खोला किनारका अधिकांश खेतीयोग्य जमिन बगर बनेको छ भने बाँकी रहेको जमिन पनि बालुवाले पुरिएका छन् । अब सो क्षेत्रमा खेती बिस्तार गर्न सक्ने अवस्था समेत छैन । सम्भावना बोकेको रामारोशन पुरानै अवस्थामा फर्किन अब १० बर्ष लाग्ने स्थानीय बताउँछन् ।

कैलाश खोलाले दिएको पीडा भुल्न वर्षौ लाग्ने स्थानीय खडक बिकले बताए। “यो हाम्रो इतिहासकै कैलाश खोलाले पुर्याएको सबैभन्दा ठूलो क्षति हो । सायद यस्तो क्षति पहिले पनि भएको थिएन । पछि पनि हुँदैन होला ।” उनले भने, “कैलाशले दिएको पीडा सजिलै भुल्न सकिने अबस्था छैन । यसले कैयौंका सपना चुराएको छ भने कैयौंलाई घरबार बिहिन बनाएको छ ।”

बाढीका कारण विच्छेद भएको सडक सञ्जाल अल्पकालीनरुपमा जोड्ने काम भएको छ भने स्थानीय स्तरबाटै उत्पादन हुँदै आएका साना लघु जलविद्युत आयोजना पनि बाढीले बिक्षिप्त भएपछि अहिले सोही विद्युत लाईनमा राष्ट्रिय प्रसारण लाइन जोड्ने काम भइरहेको गाउँपालिकाका अध्यक्ष झंकरबहादुर साउँदले बताए। गाउँपालिकाले आफ्नो क्षेत्रभित्र भएको क्षतिको विवरण समेत सङ्कलन गरिसकेको उनले जानकारी दिए । 

गाउँपालिकाका लेखा अधिकृत जनक न्यौपानेले ९ सय ३ जनाको खेतबारीमा क्षति पुर्याएको विवरण गाउँपालिकामा रहेको जानकारी दिए । बाढीबाट ६ हजार ५ सय ४३ जना परिवार प्रभावित भएको बताए । उनले २ हजार ८ सय २८ दशमलव ९ रोपनी खेत र ८ सय ८२ दशमलव ५ रोपनी पाखो बारीमा बाढीले क्षति पुर्याएको जानकारी दिए । उनका अनुसार बाढीका कारण ज्यान गुमाउने मृतक परिवारलाई ५ हजारका दरले र दुईजनाका परिवारलाई ४० हजारका दरले गाउँपालिकाले सहयोग गरेको छ भने गाउँपालिकाले बाढी प्रभावितहरुको सहयोग सङ्कलनका लागि खोलिएको खातामा हालसम्म ४ हजार ७५ हजार ७६ सय ८५ रुपैयाँ सङ्कलन भएको जनाइएको छ 

विनाशकारी बाढीका कारण करोडौंको क्षति भएको थियो । बाढीबाट ९ जना वेपत्ता छन् भने ८ जनाको अकालमा ज्यान गएको थियो ।

global-corona-notice

पछिल्लो अपडेट