ताजा अपडेट »

कोरोना कहरबीच सुरु गरौं 'औद्योगिक जागरणको अभियान'

विहीबार, २० कार्तिक २०७७, १८ : ००
4 Shares

कोरोना सन्त्रास र त्यसको प्रभावले नेपालको औद्योगिक क्षेत्र आठ महिनादेखि उठ्नै कठिन हुनेगरी थिचिएको छ । त्यससँगै जोडिएको निर्माण, पर्यटन, व्यापार, यातायात र सेवाका क्षेत्र पनि प्रभावित भएका छन् । नेपालको तल्लो तहको श्रम बजार नराम्रोसँग प्रभावित भएको छ । रोजगारी कटौती हुँदा बेरोजगारी दर बढेको छ । त्यसको प्रत्यक्ष असर देखिन थालिसकेको छ । हजारौं श्रमिक मजदुरले रोजगारी गुमाएका छन् । यस्तो लाग्दैछ नेपालमा एकपटक फेरी औद्योगिक पुनर्जागरणको समय आएको छ ।

नेपालको आर्थिक गतिविधिमा २० प्रतिशत बढीको योगदान दिने नीजि क्षेत्र कोरोना कालले ग्रसित भएपछि त्यसलाई पुनःजीवन दिने कुरा अहिले चर्चा र बहसको विषय बनेको छ । सरकारले पनि थला परेको औद्योगिक क्षेत्रको श्रीवृद्धिका लागि ठूलो मात्रामा उत्साह जागृत गर्नुपर्ने देखिएको छ । कोरोना कहरले साना–सानामात्र होइन ठूला औद्योगिक उत्पादनमा समेत प्रत्यक्ष असर परेको छ । जसको क्षतिपूर्ति तत्काल संभव नै छैन । सरकारले मौद्रिक नीतिमार्फत केही भएपनि सम्बोधनको प्रयास गरेको छ । तर त्यतिले मात्र पुग्ने अवस्था छैन । औद्योगिक गतिविधि बढ्न सकेन भने मुलुकले ठूलो आर्थिक घाटा बहन गर्नुपर्ने अवस्था आउन सक्छ । त्यसकारण कोरोना कालको यो बीचबाट फेरिपनि उद्योगको संरक्षण र तिनका उत्पादन बढाउने दिशामा सोच्न जरुरी छ ।

अब औद्योगिक जागरण घर–घरबाट सुरु गर्नुपर्दछ । उद्योग भन्नासाथ ठूलोमात्र होइन गाउँघरमा चलाउन सकिने कुटिर उद्योगको संरक्षण र विस्तारमा पनि अब नेपालको ध्यान जान जरुरी छ । चेतनासहितको औद्योगिक जागरणको समय फेरीपनि आएको छ । नेपाललाई पुनःनिर्माण गर्ने हो भने कोरोना कहरपछि सामूहिक प्रतिवद्धतासहितको जागरणका लागि हामी सबै तयार हुनैपर्दछ ।

सन्दर्भः मेला र महोत्सवको
कोरोना कहरका बीच नेपालीहरुले दशैं राम्रैसँग मनाएका छन् । दशैंपछि तिहार अर्थात दिपावलीको रौनक सुरु हुँदैछ । कोरोना कहरका बीच दशैंलाई बिदागर्दै तिहारको स्वागत भैरहेको छ । दशैं र तिहार सँगसँगै तराईमा विगतका वर्षहरुमा मेला र महोत्सवको उल्लास सुरु हुने गथ्र्यो । यो वर्ष मेला र महोत्सवको चर्चासम्म गरिएको छैन । कोरोनाले आफ्नो स्वरुप बढाउँदै लगेको छ । नपत्याउँदो गरी मानवीय क्षति भैरहेको छ ।

स्वास्थ्य क्षेत्रमा देखिएको यो गम्भीर संकटकालमा मेला र महोत्सव ठूलो कुरा होइन । मेला र महोत्सव अर्को वर्षपनि गर्न सकिन्छ । यहाँ उल्लेख गर्न खोजिएको चाहीँ मेला र महोत्सवले बढाउने आर्थिक गतिविधिको महत्वपूर्ण कुरा हो । मेला महोत्सवबाट सिर्जना हुने औद्योगिक जागरणको हो । रुपन्देहीमा हुने मेला र महोत्सवमा मात्रै वार्षिक एक अर्व ५० करोडको आर्थिक कारोबार हुने गरेको तथ्याङ्क विगतका वर्षहरुमै सार्वजनिक भएको हो । कारोबारको त्यो अनुपात प्रत्येक वर्ष बढ्दो छ ।

बिडम्वना भनौं कोभिड–१९ को संक्रमणका कारण यो वर्ष त्यो कारोबारमा बिराम लाग्ने अवस्था देखिएको छ । लुम्बिनी एक्स्पो, अन्तर्राष्ट्रिय व्यापार मेला, राष्ट्रिय औद्योगिक प्रदर्शनी, व्यापार मेला एवम् पर्यटन, कृषि प्रवद्र्धन महोत्सव रुपन्देहीमा हुने मेला र महोत्सवका उपमा हुन । मेला र महोत्सवले यस क्षेत्रको आर्थिक गतिविधि विस्तारमा ठूलो योगदान गरेको विदीत छ । रुपन्देहीका एक दर्जन स्थानमा बृहद स्तरका मेला र महोत्सवको आयोजना हुने गरेको विर्सन सकिदैन । त्यसबाट ठूलो मात्रामा आर्थिक गतिविधि हुने गरेको थियो । उता कृषि मेला, जुत्ता, मोबाइल, फूड–फेस्टिबल आदि साना स्तरका मेला महोत्सव हुन ।

वर्षा लागेसँगै सुस्ताएको मेला र महोत्सवको व्यापार र आर्थिक गतिविधिको चहलपहल मनसुनको समाप्तिसँगै अघि बढ्ने प्रत्येक वर्षको नियमित आकस्मिकता हो । पश्चिम नेपालको आर्थिक र वाणिज्यको केन्द्र मानिने बुटवल लगायत सिँगो रूपन्देहीमा हुने मेला र महोत्सवबाट करिव डेढ अर्व बढीको आर्थिक कारोबार सानो आँकडा होइन । जसबाट हुने आर्थिक गतिविधिले मुलुकको कूल गार्हस्थ उत्पादनमा ठूलो योगदान दिने गरेको छ । तर बिडम्वना यो वर्ष त्यो गतिविधिमा विराम लाग्ने अवस्था छ ।

मेला र महोत्सवको कारोवारबाट मुलुकको सम्मृद्धिका साथै मुद्रा चलायमान बनाउन ठूलो सहयोग पुग्ने कुरामा कुनै शंका छैन । निश्चितरुपमा मेला र महोत्सवबाट मुलुकका मौलिक संस्कृति संरक्षण र सम्वद्र्धनमा ठूलो टेवा पुगेको निश्चित छ । मेला र महोत्सवमा केवल वस्तुको व्यापार किनबेच मात्र गरिदैन बरु बिभिन्न जात जाति, धर्म, समूदायको लोक संस्कृति झल्किने खालका झाँकी सहितको जनचेतनामूलक र्यालीसमेत प्रदर्शन गरिन्छ । वास्तवमा यी प्रदर्शनले नेपालको आर्थिक बजार उन्नतीशील बनाउन योगदान पुगेको कुरालाई यहाँ विर्सिन सकिँदैन ।

जनचेतना र्याली प्रदर्शन गर्न पनि आयोजकले लाखौं रकम खर्च गर्नुपरेको छ जसबाट समाजको धेरै क्षेत्रमा आर्थिक लाभ मिलेको छ । र्यालीमा यस क्षेत्रको थारु समूदायको मयुर नाच, नेवार संस्कृतिको लाखे नाँच, मगर समूदायको घाटु तथा सोरठी नाच, गुरुङ समूदायको रोदी नाच, क्षेत्री समाजको सरायँ नाच, ब्राहमण समुदायको भजनकिर्तन लगायत बिभिन्न झाँकीसहितको सहभागिता रहने गरेको छ । ती समुदायले प्रदर्शन गर्दा लगाउने पोशाकमै हजारौं खर्च हुने गरेको छ जसबाट आर्थिक कृयाकलाप उन्नयतमा सहयोग मिलेको छ भन्दा अत्युक्ति नहोला ।

अर्कोतर्फ मेला र महोत्सवमा सहभागी हुन आउने दर्शकहरुलाई आकर्षण र मनोरञ्जन प्रदान गर्न आयोजकले सांस्कृतिक कार्यक्रम समावेश गर्ने गरेका छन् । त्यसमा पनि आयोजकले लाखौं रकम खर्च गरिरहेका छन् जसबाट प्रमुख रुपमा रुपैयाँ नै चलायमान भएको छ र त्यसबाट पनि आर्थिक गतिविधि विस्तारका साथै देशकै सांस्कृतिक धरोहर अभिवृद्धिमा सहयोग भएको छ भन्दा अन्यथा नहोला । यी सबै जागरणका पर्याय हुन् । ती चाहे औद्योगिक जागरण हुन या अन्य यायावर ।

मेला महोत्सवले नेपालको उद्योग वाणिज्य क्षेत्रको विकासका साथै पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण सहयोग पुग्ने गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघले नेपालको आर्थिक गतिविधि चलायमान बनाउन देशैभरी आयोजना हुने यस प्रकारका मेला र महोत्सवले खर्व बराबरको योगदान दिइरहेको उल्लेख गरेको छ । निश्चित रुपमा घर–घरमा डम्प भएर वसिरहेको पैसा यस्तै मेला र महोत्सवका माध्यमबाट बजारमा पुग्छ र त्यसले आर्थिक कृयाकलाप वृद्धिमा ठोस योगदान नै पुग्दछ । त्यसकारण मेला, महोत्सव, एक्स्पो वा अन्य कुनै नाम दिइएका यस्ता कृयाकलापले देशको आर्थिक गतिविधि बढाउनमा योगदान पुर्याएको छ ।

मेला र महोत्सव लगायतका गतिविधिबाट मात्रै १५ प्रतिशतको आर्थिक योगदान हुन्छ भन्ने मात्रै मान्ने हो भने हामी सबैले यस्ता गतिविधि बढाउन आयोजकलाई अझै हौसला र प्रेरणा दिनु पर्दछ । कमसेकम सरकारले आर्थिक गतिविधि चलायमान बनाउन नसकिरहेको बेला नीजि क्षेत्र भरपर्दो आशाका रुपमा देखापरिरहेको छ । अहिले कोरोना कहरका कारण सुस्ताएको औद्योगिक क्षेत्रलाई जागृत बनाउन मेला र महोत्सवको आवश्यकता बोध भएको छ ।

सात महिनादेखि थला परेको औद्योगिक वातावरणमा उत्साह थप्न सरकारले नयाँ प्याकेजको घोषणा गर्नु अत्यावश्यक छ । त्यसमा औद्योगिक जागरण एउटा माध्यम हो । जागरण भन्ने बित्तिकै चेतनाको कुरा मात्र होइन, थला परेको औद्योगिक क्षेत्रको संरक्षण र प्रोत्साहन पनि हो । यस्तै मेला र महोत्सव गर्न प्रोत्साहन गरेर आर्थिक गतिविधि बढाउन सहयोग गर्ने कुरा पनि हो । प्रत्येक नागरिकमा औद्योगिक चेतना र जागरण पैदा गर्न सकियो भने त्यसले देशको विकासमा महत्वपूर्ण अर्थ राख्छ भन्ने कुरा हो ।

आजको युरोप र अमेरिका पुनःनिर्माणमा त्यहीँकै नागरिकको महत्वपूर्ण भूमिका छ । र त, उनीहरु आजको विशाल रुपमा आएका छन् । हाम्रो देशमा पनि सोही प्रकारको पुनःनिर्माण, जागरण र चेतनाको खाँचो छ जसले देशलाई कायापलट गर्न सकोस् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।