ताजा अपडेट »

लुम्बिनीकाे मायादेवी मन्दिर बन्द, पर्यटक खिन्न

विहीबार, २० कार्तिक २०७७, ११ : ३०
22 Shares

लुम्बिनी । पछिल्ला दिनमा बुद्ध जन्मस्थल लुम्बिनीमा आन्तरिक पर्यटकको चहलपहल बढे पनि मायादेवी मन्दिरसहित दुई दर्जनभन्दा बढी बिहारहरु बन्द हुँदा पर्यटकहरु खिन्न भएका छन् । उनीहरु ती सबै ठाउँमा घुम्न नपाउँदा निराश भएर फर्कने गरेका छन् । रुपन्देहीको शङ्करनगरका प्रकाश ज्ञवालीलाई गत शनिबार लुम्बिनी जाँदा त्यस्तै अनुभव भयो ।

स–परिवार लुम्बिनी पुगेका ज्ञवालीले मायादेवी मन्दिरको दर्शन गर्न पाएनन् । कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण मायादेवी मन्दिर बन्द भएपछि बाहिरबाटै दर्शन गरेर उनीहरु फर्किए। ज्ञवालीजस्तै अन्य आन्तरिक पर्यटक लुम्बिनी गएर पनि मायादेवी मन्दिरमा दर्शन गर्न नपाउँदा खिन्न छन् । “कोरोना भाइरस सङ्क्रमणका कारण धेरै समय घरमा बस्दा दिक्क लागेर लुम्बिनी घुम्न गयौँ तर त्यहाँका मन्दिर त खुलेकै रहेनछन् ”, ज्ञवालीले भने, “मायादेवी मन्दिर हेर्न नपाएपछि लुम्बिनी गएको जस्तो पनि भएन ।”

महामारी रोकथामका लागि जारी बन्दाबन्दीसँगै सरकारले मठमन्दिरहरु प्रवेशमा रोक लगाएपछि मायादेवी मन्दिर पनि बन्द गरिएको हो । लुम्बिनीमै बस्ने योजना बनाएर आएका पर्यटकहरु मन्दिर बन्द भएपछि फर्किने गरेको लुम्बिनी होटल सङ्घका महासचिव लीलामणि शर्माले बताउँदै स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मन्दिर खोल्ने व्यवस्था मिलाउन आग्रह गरे। उनले भने, “पर्यटन व्यवसायी सुरक्षित भएर सेवा दिन तयार छौँ, अब लुम्बिनीमा पर्यटकीय गतिविध बढाउन मन्दिरहरु खोल्नुपर्छ ।”

मन्दिर बन्द हुँदा नियमित पूजापाठको काम समेत रोकिएको छ । भिक्षु, भिक्षुणी तथा स्थानीय बौद्ध उपासक उपासिकाले मन्दिरमा पूजा गर्न पाएका छैनन् । मायादेवी मन्दिरसँगै लुम्बिनीमा रहेका विभिन्न देश जोडिएका बिहार पनि बन्द छन् ।

सात दिनको चेतावनी

मायादेवी मन्दिर खुल्ला गर्न माग गर्दै विभिन्न सङ्घसंस्थाले लुम्बिनी विकास कोषलाई सात दिनको अल्टिमेटम दिएका छन् । कोभिड–१९ को प्रभावका कारण लामो समयदेखि मन्दिर बन्द हुँदा नियमित पूजाआजा रोकिएको र आएका पर्यटकले दर्शन गर्न नपाएको भन्दै ती संस्थाले कोषका उपाध्यक्ष भिक्षु मेत्तेयलाई ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा बन्दाबन्दी अन्त्यपछि पनि मन्दिर खुल्ला नहुँदा लुम्बिनी आएका पर्यटक पूजाआजाबाट वञ्चित रहेकाले सात दिनभित्रै मन्दिर खुल्ला गर्न माग गरिएको छ । लुम्बिनीका करिब एक दर्जन उद्योग, पर्यटन तथा समाजिक क्षेत्रमा क्रियाशील संस्थाका अध्यक्ष तथा प्रतिनिधिले कोषलाई ज्ञापनपत्र बुझाउदै सामाजिक दूरी कायम गरी धार्मिक र आध्यात्मिक गतिविधि शुरु गर्न आग्रह गरेका हुन् ।

लुम्बिनी होटल सङ्घका अध्यक्ष मिथुनमान श्रेष्ठले सात दिनभित्र मायादेवी मन्दिर खोल्ने व्यवस्था नभए त्यसपछि उत्पन्न हुने परिस्थितिको जिम्मेवारी कोषले लिनुपर्ने चेतावनी दिए। उनले स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर मायादेवीमा नियमित पूजापाठ शुरु गर्नुपर्ने र पर्यटकलाई दर्शन गर्न दिनुपर्ने बताए ।

लुम्बिनी होटल सङ्घ नेपाल, लुम्बिनी पर्यटन व्यवसायी सङ्घ, उद्योग व्यापार सङ्गठन, लुम्बिनी संरक्षण नागरिक समाज, लुम्बिनी बुद्ध धर्म संरक्षण समिति, सिद्धार्थ होटल सङ्घ नेपाल, मायादेवी प्रगतिशील आमा समूह, बौद्ध युवा सङ्घ, रिक्सा व्यवसायी सङ्घ, ट्याक्सी व्यवसायी सङ्घ, होटल तथा रेष्टुरेण्ट व्यवसायी सङ्घले ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्र बुझ्दै कोषका उपाध्यक्ष मेत्तेयले धार्मिक मठमन्दिर प्रवेशमा रोक लगाउने निर्णय नेपाल सरकारको भएकाले कोषले निर्णय लिन नमिल्ने जानकारी गराएका थिए । उनले यसबारे संंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा जानकारी गराई मन्दिर खोल्ने वातावरण मिलाउन पहल गर्ने वचन दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।