ताजा अपडेट »

माछा पोखरीमै मर्दै, किसान लाखौं घाटा व्यहोर्दै

विहीबार, २० कार्तिक २०७७, ०० : १७
6 Shares

सैनामैना । किसान रमेश कुमार मल्लाहाको माछापोखरीमा माछा मर्न थालेका छन् । रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर १मा पाल्दै आएको माछा एक्कासी मर्न थालेपछि माछापालक किसान चिन्तित बन्न थालेका हुन् । मल्लाहाले विगत ४ वर्षदेखि विभिन्न प्रजातिका माछा पाल्दै आएका छन् । तर, एक्कासी पोखरी नै रित्तो हुने गरी माछा मर्न थालेपछि उनी चिन्तित बनेका छन् ।

माछापालक मल्लाहा भन्छन्, ‘केही दिनमा माछा बेचौंला र लिएको ऋण तिरौँला भनेको । माछा पानीमा तैरियो म चाँहि ऋणमा चुर्लुम्म डुबेँ । अहिले के गरौं र कसो गरौं भएको छु ।’ एक्कासी माछा मरेपछि यो वर्षको पहिलो चरणमै झण्डै १४ लाख बराबरको क्षति भएको किसान मल्लाहाले दाबी गरेका छन् । मायादेवी गाउँपालिकाको स्वामित्वमा रहेको जग्गा लिजमा लिई विगत ४ वर्ष देखि सुरु गरेका उनले वर्षेनी घाटा ब्यहोर्नु परेको बताएका छन् ।

माछा उत्पादन गरेर विक्रीका लागि तयारी अवस्थामा रहेका रौँ, नैनी, सिल्बर, विगेट, ग्रास, कमन लगाएतका प्रजातिका अनुमानित ५० क्विनीन्टल माछा मरिसकेको र मर्ने क्रम नरोकिएको किसान मल्लाहाले बताए । माछा बचाउन एग्रोभेटदेखि पशुसेवा ज्ञान केन्द्र पुगेपनि मल्लाहाले माछा बचाउन सकेका छैनन् । के कारणले माछा मरेको छ भन्ने यकिन हुन नसकेको उनले बताएका छन् । ‘माछा मरेको पिर एकातिर, दुर्गन्ध फैलिएर व्यवस्थापन गर्न कठिन उस्तै । मरेको माछा टिप्दै खाल्डो खनेर पुर्दैछु ।’ उनले भने । ‘आधा किलो भैसकेको माछा तुलोमा हाल्ने बेला खाल्डोमा हाल्नु पर्या छ । पिरैपिरको भारीले थिचिएको छ,’ उनले दुःखेसो पोखे ।

माछा विशेषज्ञ नभएकाले पनि माछा मर्नुको कारण पत्ता लागेको छैन । तर अन्य जीव जनावर हेर्ने प्राविधिकहरु अक्सिजनको कमी र माछालाई चाहिने ठाउँ नपुगेकाले मरेको अनुमान लगाउँछन् । मायादेवी गाउँपालिकाको १० विगाहा क्षेत्रफलमा माछा पालन गर्दै आएका मल्लाहाले वर्षेनी क्षति ब्यर्होदै आएका छन् भने सम्बन्धी निकायले भने यस विषयमा विशेष चासो नदिँदा किसान बढी मर्कामा परेका हुन् । गत वर्ष १४ लाखको बराबरको क्षति ब्यहोरेका मल्लाहाले यस वर्ष ५० हजार माछा उत्पादन गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।