ताजा अपडेट »

बालबालिकामा सिसाजन्य पदार्थको असर बढ्यो

शनिबार, १५ कार्तिक २०७७, १७ : ३१
4 Shares

ललितपुर । बालबालिकामा सिसाजन्य पदार्थको असर बढी पर्ने गरेको पाइएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले मनाइरहेको सप्ताव्यापी सिसाजन्य पदार्थको असर तथा रोकथामको अवसरमा नेपाल पोलिमर इन्स्टिच्यूटको आयोजना तथा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट), व्यावहारिक विज्ञान तथा प्रविधि केन्द्र (रिकाष्ट) र नेपाल विकास अनुसन्धान प्रतिष्ठान (एनडिआरआइ)को सहआयोजनामा भएको ‘सिसाजन्य तथा टल्कने पदार्थले स्वास्थ्य र वातावरणमा पारेको असर’ विषयक कार्यक्रममा बालबालिकाको दिमाग कलिलो हुने भएकाले उनीहरुमा यस्ता चिजले बढी असर पार्ने गरेको जानकारी गराइएको छ ।

त्रिचन्द्र बहुमुखी क्याम्पसका सह-प्राध्यापक तथा इन्स्टिच्यूटका कोषाध्यक्ष डा. ज्योति गिरीले विभिन्न प्रकारका रङ्ग र मानिसले प्रयोग गर्ने सौन्दर्यका सामग्रीमा सिसाजन्य अर्थात टल्कने प्रदार्थ हुनेहुँदा यसले मानवको शरीरमा असर गर्ने बताए । उनले भने, “यस्ता वस्तुले साना बालबालिकको दिमागमा असर गरेर विभिन्न रोगको सिकार बनाउँछ ।” जमिनमा प्रयोग भएका सिसाजन्य पदार्थले पानी र माटो हुँदै उत्पादन भएको अन्नमा समेत प्रभाव पार्न नछाड्ने गिरीको भनाइ छ । मोबाइलको ब्याट्री, रङ्ग उद्योग, बालबालिकाले खेल्ने खेलौना, घरमा प्रयोग गरिने काठपात तथा हस्तकला र गरगहना आदिमा पोतिने चिजमा पनि सिसाजन्य पदार्थको प्रयोग हुने गर्छ । यसको असरलाई थप बढवा दिन उद्योग र कलकारखानाबाट निस्कने धुँवा, मलखाद र विषादी थप मद्दत गर्ने जानकारको मत छ ।

जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र (सिइपिएचइडी) का कार्यकारी निर्देशक रामचरित शाहले अन्य वस्तुको तुलनामा घरमा लिपिने रङ्गमा अधिक मात्रामा सिसाजन्य प्रदार्थको प्रयोग हुने जानकारी गराए । उनले भने, “नेपाली बजारमा अधिक मात्रामा सिसाजन्य पदार्थ प्रयोग गरिएका रङ्गहरु अहिले पनि उतिकै उत्पादन भइरहेका छन् । यसको नियन्त्रणमा सरकार नै लाग्नुपर्ने देखिन्छ ।” ती रङ्ग उद्योगमा सरकारका प्रतिनिधिले अनुसन्धान गरेर मापदण्ड तोकिदिएमा मात्रै मानवीय जीवनका साथै वातावरणमा पर्ने असर समेत घट्ने शाहले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।