ताजा अपडेट »

प्रविधिका क्षेत्रमा आत्मनिर्भर हुने चीनको योजना

शुक्रबार, १४ कार्तिक २०७७, १३ : ४३
2 Shares

बेइजिङ । चिनियाँ नेताहरूले उच्च स्तरको प्रविधिका क्षेत्रमा आत्मनिर्भर हुने गरी नयाँ पञ्चवर्षीय योजना अघि सारेका छन् । पछिल्लो समय अमेरिकी कम्प्युटर चिप्सहरू र अन्य उच्च–प्रविधिका अवयवहरूको पहुँचमा अमेरिकाले बाधा उत्पन्न गरेपछि चीनले नयाँ महत्वाकाँक्षी योजना सार्वजनिक गरेको हो । सत्तारुढ कम्युनिष्ट पार्टीका नेताहरूले नयाँ पञ्चवर्षीय योजनाको मस्यौदा बिहीबार बेइजिङमा सार्वजनिक गर्दै यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

राष्ट्रपति सी जिनपिङको नेतृत्वको चीनले ट्रम्प प्रशासनले अमेरिकी प्रविधि बिक्रीमा लगाएको प्रतिबन्धबाट सिर्जित क्षतिलाई सीमित गर्ने प्रयास गरिरहेको छ । अमेरिकाले खासगरी सुरक्षा र जासुसीको आरोप लगाउँदै चिनियाँ प्रविधि कम्पनीहरुलाई एकपछि अर्को आदेशद्वारा अमेरिकी चिप्सहरु बिक्री गर्न रोकिराखेको छ । चिनियाँ कम्पनीहरुले टेलिकम, बायोटेक र अन्य क्षेत्रमा प्रतिस्पर्धा गर्न थालेपछि अमेरिकाले नयाँ रणनीति अपनाउन थालेको चिनियाँ नेताहरुको बुझाई छ ।

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा प्रकाशित विज्ञप्तिमा “विज्ञान र प्रविधि राष्ट्रिय विकासको लागि रणनीतिक महत्वका भाएकाले यो क्षेत्र आत्मनिर्भर हुनु पर्दछ” भनिएको छ । विज्ञान र प्रविधिमाथिको सामथ्र्य निर्माणका कार्यलाई द्रुत गतिमा अघि बढ्नुपर्ने विज्ञप्तिमा उल्लेख छ तर यसबारे विस्तृत विवरण दिइएको छैन । चीनमा सन् १९५० को दशकदेखि पञ्चवर्षीय योजना लागू छ । चार दशकयता खुला बजार र आर्थिक उदारीकरणको नीति अंगालेको चीनले पञ्चवर्षीय योजनाका आधारमा देशको समग्र आर्थिक, सामाजिक तथा पूर्वाधार विकासलाई सम्बोधन गर्ने गरेको छ जसमा चिनियाँ कम्युनिष्ट पार्टीको भूमिका प्रमुख रुपमा रहने गरेको छ । योजनाको पूर्ण विवरण अर्को वर्षको मार्चमा सार्वजनिक गरिनेछ ।

नियमहरुमा संशोधन तथा उद्योगहरुका लागि नयाँ योजना त्यसपछि अगाडि सारिने बताइएको छ । बिहीबार सार्वजनिक वक्तव्यमा “हरित र कम कार्बनयुक्त विकास”लाई बढावा दिइने तथा चिनियाँको जीवनस्तर माथि लैजाने वाचा गरिएको छ । साथै वक्तव्यमा २३ लाख सैनिकलाई थप सुदृढ र सुसज्जित गरी “राष्ट्रिय सार्वभौमिकताको रक्षा गर्न” सक्षम तुल्याइने उल्लेख छ । चीनले हाल एक “जटिल अन्तर्राष्ट्रिय परिस्थितिको सामना गरिरहेको छ,” वक्तव्यमा भनिएको छ, तर कोरोनाभाइरस महामारी वा अमेरिकासँगको कर युद्धका बारेमा कुनै उल्लेख गरिएको छैन ।

चीनका कारखानाहरूले विश्वको अधिकांश स्मार्टफोन, पर्सनल कम्प्युटर र दैनिक उपभोग्य इलेक्ट्रोनिक्स उत्पादन गर्दछन्, तर त्यसका लागि अमेरिकी, युरोपियन र जापानी सामान जरुरी हुन्छ । चिनियाँ कम्युनिष्ट नेताहरूले यी वस्तुको उत्पादनमा विदेशीसँगको परनिर्भरतालाई रणनीतिक कमजोरीको रूपमा हेर्छन् । बिहीबारको वक्तव्यमा कुनै खास प्रविधिका बारेमा उल्लेख छैन, तर नेताहरूले विशेष गरी चीनमा उत्पादित स्मार्टफोन, इलेक्ट्रिक कारहरू र अन्य प्रविधिमा प्रयोग गरिने प्रसेसर चिप्सहरुका लागि अमेरिकासँग निर्भर रहनु परेकामा चिन्ता व्यक्त गरेका छन् ।

चीनले मूल्यका आधारमा हाल कच्चा तेलको भन्दा बढी मूल्यको सेमीकन्डक्टर आयात गर्दछ । टेलिकम उपकरण निर्माता हुवावे टेक्नोलोजिजले अहिले चिप्स र अन्य उपकरण निर्माण गर्न थालिसकेको छ । तर, यसले आफ्ना सबै आवश्यकता पूर्ति गर्न सक्दैन । राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१८ मा चिनियाँ कम्पनीमाथि दबाब बढाएसँगै चिनियाँहरुले प्रसेसर चिप्स र प्रविधि विकासतर्फ ध्यान दिन थालेका हुन् । गत वर्ष, ह्वाइट हाउसले चिनियाँ चिप्स र अन्य सामानको आयातमा समेत कडा नियन्त्रण घोषणा गरेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।