ताजा अपडेट »

लुम्बिनीमा ३ वर्षको अवधिमा ४९ बाल विबाह, प्रहरीले थाल्यो १५ दिने अभियान

विहीबार, १३ कार्तिक २०७७, १७ : २३
12 Shares

बुटवल । लुम्बिनी प्रदेशमा विगत तीन वर्षको अवधिमा ४९ वटा बाल विबाहका घटना प्रहरीमा आएका छन् । लुम्बिनै प्रदेश प्रहरीले तयार पारेको पछिल्लो ३ वर्षको अवधिमा सबैभन्दा बढी प्यूठानमा १९ वटा बाल विबाहका घटना भएका छन् । आर्थिक वर्ष २०७५/७६ मा लुम्बिनी प्रदेशमा सबैभन्दा बढी २२ वटा बाल विबाहका घटना भएका छन् भने त्यसअघिको वर्ष २०७४/५४ मा १८ वटा बाल विबाहका घटना भएको तथ्याङ्क छ । यसैगरी चालु आर्थिक वर्ष २०७७/७८ मा ९ वटा बाल विबाहका घटना भएका छन् ।

विहिबार बाल विबाह विरुद्धको १५ दिने अभियानको शुभारम्भ गर्दै लुम्बिनी प्रदेश प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार ३ वर्षको अवधिमा दाङ जिल्लामा १३, बाँकेमा ८, अर्घाखाँचीमा ३ तथा गुल्मीमा २ वटा बाल विबाहका घटना भएका छन् । यसैगरी रुपन्देही, कपिललवस्तु, बर्दिया र रुकुममा एक/एक वटा बाल विबाहका घटना भएका छन् भने नवलपरासी, पाल्पा र रोल्पामा घटना घटेका छैनन् । प्रहरीको तथ्याङ्क अनुसार अध्ययन गरिरहेका ३० जना बालबालिका तथा कृषि पेशामा लागेका ११ जना र ज्याला मजदुरी गरेर खाने ८ जना बाल बालिका पिडित भएका हुन् ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङले बालविवाह विरुद्ध प्रहरी अभियान (पोलिस क्याम्पिङ अगेन्स् चाइल्ड म्यारिज) सञ्चालनमा ल्याएको छ । प्रदेश अन्तरगतका सबै प्रहरी कार्यालयहरूले लक्षित वर्गसम्म पुगी बालविवाहलाई निरुत्साहन तथा नियन्त्रण गर्न कानून कार्यान्वयनलाई प्रभावकारी बनाउन आम जनता, स्थानिय तहहरू, संचार माध्यम, नागरीक समाज लगायत सबै सरोकार निकायहरूसँग सहकार्य गरी कोभिड-१९ को सुरक्षा अपनाई सचेतनात्मक कार्यक्रम संचालन गर्ने भएको हो ।

विहिबार आजदेखि कार्तिक २८ गतेसम्म सञ्चालन गरिने १५ दिने अभियानमा विभिन्न स्थानीय निकाय, सामाजिक संघ-संस्था लगायतसँग समन्वय गरी सचेतना अभियान सञ्चालन गरिने प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।