ताजा अपडेट »

गोकर्ण राजनिकुञ्जको पर्खाल जीर्ण, सडकबाट यात्रा गर्नेहरु जोखिममा

बुधबार, १२ कार्तिक २०७७, ०८ : ४२
6 Shares

काठमाडौं । नेपाल ट्रष्टको कार्यालय अन्तर्गत रहेको गोकर्ण राज निकुञ्जको उत्तरपूर्वी भेगको पर्खाल जीर्ण हुँदा त्यसमुनिको सडकबाट यात्रा गर्ने सवारी एवं स्थानीयवासी जोखिममा परेका छन् ।

निकुञ्जको करिब चार हजार रोपनी जग्गा घेरिएको आठ किमी पर्खालमध्ये धेरै भाग जीर्ण छ । उत्तरवाहिनीबाट दक्षिणढोकासम्मको पर्खालमुनि सडक छ । जहाँबाट दैनिक मोटरसाइकल, साइकल लगायत साना सवारी र स्थानीयवासी ओहोरदोहोर गर्छन् । जीर्ण पर्खाल ठाउँ ठाउँमा भत्किएको छ । भत्किएका केही स्थानमा काँडे तार लगाए पनि धेरै स्थानमा खुला छ ।

गोकर्णबाट जोरपाटी निस्कने सडक बिस्तार भइरहेकाले धेरै जसो साना सवारी गोकर्णेश्वर मन्दिरबाट माकलबारी निस्कने सानो सडकबाट हिँड्छन् । बिस्तार भइरहेको सडक वर्षामा हिलो र हिउँदमा धुलो हुने भएकाले वैकल्पिक सडक रोज्नु परेको मोटरसाइकलमा यात्रा गरिरहेका दिलेन्द्र रायमाझी बताउँछन् । पर्खालभित्रतिर राजनिकुञ्जमा पक्की सडक छ । वैकल्पिक रुपमा उपयोग गर्ने गरी राज निकुञ्जभित्रको सडक खुलाउन गोकर्णेश्वर नगरपालिकाले पटकपटक माग गर्दै आएको छ ।

गोकर्णेश्वर नगरपालिका वडा नं. ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठ पर्खाल जीर्ण हुँदा साना सवारी जोखिममा परेको, भत्किएको स्थानबाट राज निकुञ्जका वन्यजन्तु आई खेतबारीमा लगाएको बाली नष्ट गर्ने गरेको बताउँछन् । नेपाल ट्रष्टको कार्यालयमा यस सम्बन्धी गुनासा धेरै पटक गरिएको उनले बताए ।

वर्षौंदेखि जीर्ण बनेको पर्खाल बनाउन कार्यालयको ध्यान नगएको स्थानीयवासी गुनासो गर्छन् । जीर्ण पर्खाल भत्किएकाले दाउरा, रुख लगायत चोर्न राज निकुञ्ज छिर्न पनि सहज भएको छ । नेपाल ट्रष्टको कार्यालयको एकाई कार्यालय दक्षिणढोकामा छ । जहाँबाट उत्तरवाहिनीतिर पुग्न समय लाग्ने भएकाले पनि निकुञ्जभित्र चोरी गर्न छिर्न चाहनेका लागि सहज भएको छ ।

एकाई कार्यालयका प्रमुख विष्णुबहादुर बस्नेत पर्खाल भत्किएको विषयमा केन्द्रीय कार्यालयमा वर्षौं अघिदेखि नै जानकारी गराउँदै आएको बताउँछन् । पर्खाल बनाउन चालु आर्थिक वर्षमा ठेक्का भएकाले छिटै काम हुने पनि उनले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।