ताजा अपडेट »

संकट र संक्रमण माथि विजयी प्राप्त होस् !

आइतबार, ०९ कार्तिक २०७७, २१ : १३
8 Shares

नेपालीहरुको महान पर्व विजयादशमी,बडादशैँको महत्वपूर्ण दिन अर्थात् दशैंको दशौं दिन टिकाको दिनको पूर्वसन्ध्यामा छौं । हिन्दू धर्मअनुसार नेपालमा सबैभन्दा वृहत र महत्वपूर्ण मानिने यस पर्व यसपटक भने कोरोना महामारीका बीच परेको छ । हरेक वर्ष आश्विन शुक्ल प्रतिपदाबाट घटस्थापना गरेर सुरु हुने यो पर्व अहिले भने विगतका वर्षहरुमा जस्तो हर्ष,उल्लासमय छैन । घटस्थापनादेखि टिकाको दिन र पूसर्णमासम्म मनाइने यो पर्व लामो पर्वका रुपमा मानिन्छ । जमरा राखेर सुरु भएको बडादशैँ विजयादशमीको दिनसम्म घरमाा चण्डीपाठ गरेर मनाइन्छ भने दशैँको दशौं दिन मुख्य आकर्षण टीका हो ।

यसदिन मान्यजन र ठूलाबडाबाट जमरा र टीका थापेर आशिर्वाद लिने चलन छ । असत्यमाथि सत्यको विजयको खुसियालीका रुपमा मनाइने विजयादशमीमा आफ्ना मान्यजनबाट टीका तथा आशीर्वाद लिने गरिन्छ । दशैँका अवसरमा नयाँ वस्त्र धारण गर्ने तथा आफ्नो क्षमता अनुसार मिठो कुरा खाने, घर आँगन तथा वस्ती सरसफाइ तथा रङ्गरोगन गर्ने प्रचलन पनि छ । दशैँ पर्वले काम, क्रोध, लोभ, मोह, अहङ्कार, आलस्य, हिंसा र चोरी आदि त्याग्ने सत्प्रेरणा दिने विश्वास गरिँदै आइएको छ । घटस्थापनादेखि प्रत्येक दिन विभिन्न शत्तिपिठदेवीहरुलाई पूजा गरिन्छ । क्रमशः शैलपुत्री, ब्रह्मचारिणी,चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता,कात्यायिनी, कालरात्री,महागौरी,सिद्धिदात्री गरी नवदुर्गाकोपूजा गर्दै सप्तशती(चण्डी) पाठ गरी नव दुर्गा र तृशक्ती महाकाली, महालक्ष्मी र महासरस्वोतिकोविशेष पूजाआजा र आराधाना गरिन्छ ।

प्रतिपदादेखि विजयादशमीको दिन भगवतीले दानवी शक्ति माथि र रामले रावण माथि विजय हासिल गरेको अवसर तथा खुसीयालीमा नवदुर्गा भवानीको प्रसादस्वरुप रातो टिका र जमरा लगाउने चलन हो । असोज महिनाको शुक्ल पक्षको दशमी तिथिको दिन यस पर्वको प्रमुख दिन मानिन्छ । किंवदन्ती अनुसार भगवान रामले यसै दिन रावणको वध गरेका थिए । यसलाई असत्य माथि सत्यको विजयको रूपमा लिइन्छ । विजयादशमीको दिन टिका लगाउन नसकेका,केही टाढाकाहरुले पनि लगाउन मिलोस् भनेर पूर्णिमासम्म टिका लगाउने प्रचलन छ ।

दानवमाथि देवताको,अन्यायप्रति न्यायको,असत्यमाथि सत्यको विजय भएको धार्मिक तथा ऐतिहासिकसँगै सामाजिक महत्व बोकेको यस पर्वले यतिबेला भने नेपालीहरुमा विगतका वर्षहरुमा जस्तो उमङ्ग,उत्साह र खुशी ल्याउन सकेको छैन । विश्वव्यापी कोरोना संक्रमणको महामारीका कारण यस वर्षको दशैं ओझेलमा मात्रै होइन प्रभावितनै भएको छ । हिन्दु धर्म र संस्कृतिमा धेरै पर्वहरु छन् । ती पर्वहरु मध्ये विजयादशमी हिन्दुहरुको महत्वपूर्ण मात्रै होइन समग्र नेपालीहरुको साझा पर्व बनेको छ । यस पर्वले समग्र नेपालीहरुमा खुशियाली र हर्षोल्लास ल्याउँदै आएको छ । त्यसैले यस पर्वका केहि दिन अगाडिदेखि नै निकै चहल–पहल हुने गर्दथ्यो । तर, यस वर्ष कोरोनाका कारण सामाजिक दूरी राख्नुपर्ने,स्वास्थ्य सतर्कता अपनाउनु अपरिहार्य आवश्यकता छ ।

एक–अर्काबाट कोरोना संक्रमणको डरले सरकारले जहाँ छौं त्यही बसेर भिडभाड नगरी , स्वास्थ्य सतर्कता अपनाई सामान्य रुपमा दशैं पर्व मनाउन आग्रह गर्दै निर्देशन गरेको छ । त्यसैले यस वर्ष दशैंका लागिनै भनेर शहरबाट गाउँ र विदेशबाट स्वदेश फर्कनेहरुको संख्या न्यून छ । एकातर्फ महिनौंको लकडाउन र त्यसका कारण परेको आर्थिक अभाव र संकट छ भने अर्कोतर्फ संक्रमणको जोखिम बढेको छ । त्यस्तै लाख बढी नेपालीहरु कोरोना संक्रमित छन् । ८ सय बढीको मृत्यु भइसकेको छ । सयौं संक्रमित होम तथा अस्पतालको आइसोलेशनमा छन् भने कैंयौं अस्पतालको भेन्टिलेटरमा छन् । लकडाउनको अन्त्य भएतापनि कतिपय क्षेत्र अझै सञ्चालनमा आएका छैनन् । सञ्चालनमा आएका क्षेत्रमा कोरोना जोखिम र प्रभाव कायमै छ । यस्तो संकट ,संक्रमण र विषम परिस्थितिमा महान पर्वको आगमन भएको छ ।

सुख,शान्ति,समृद्धि,सफलता र दिर्घायुको कामनासहित आर्शिवाद लिने पर्व विजयादशमी पर्वको समयमा कोरोना कहर र जोखिम कायमै छ । यस अवस्थामा स्वास्थ्य सतर्कता प्रमुख प्राथमिकता हो । अहिलेको दशैंमा धेरै आफन्त,वृद्धवृद्धा तथा अग्रजसित टिका ग्रहण गर्न र आशिर्वाद लिनुभन्दा सबै नेपालीले मिलेर एकताका साथ वर्तमान संकट र संक्रमणमाथि विजयी प्राप्त गर्ने प्रण र कामना गरौं ।

पर्वको अवसरमा घर सजाउने,खरिद–बिक्री गर्ने,विदेशबाट स्वदेश,शहरबाट गाउँ फर्कने आर्थिक तथा अन्य गतिविधि भन्दा पनि दैनिक हजारौंको संख्यामा थपिने कोरोना संक्रमितको खबरले नेपालीहरु आक्रान्त बनेका छन् । यस्तो अवस्थामा रमाइला र आर्थिक गतिविधि मात्रै प्रभावित भएका छैनन् । सामाजिक सांस्कृतिक,धार्मिक गतिविधिहरु पनि निकै प्रभावित भएका छन् । त्यसैगरी यस पर्वको मुख्य विशेष्ता आफूभन्दा ठूला वा अग्रज तथा वृद्धवृद्धाहरुबाट टिका र आर्शिवाद ग्रहण गर्ने परम्परामा पनि अवरोधनै आएको छ । पर्व निरन्तर आउने अवसर हो । तर,मानवीय जीवन फेरि फर्कदैंन । त्यसैले पनि यस वर्षको दशैंमा स्वास्थ्य सावधानी प्रमुख प्राथमिकता हो । विजयादशमीको स्वास्थ्य,शान्ति,सुख,समृद्धि,सफलता । दिर्घायुको कामना गरिन्छ । यस वर्ष यी कामनाहरुको अझै महत्व बढेको छ ।

विशेषगरी स्वास्थ्य,शान्ति र दिर्घायु वर्तमान समयमा मुख्य आवश्यकता हुन् । सुख ,समृद्धि र सफलताका लागि जीवन अनिवार्य छ । अहिले पर्वसँगै जीवन बाँच्नु र बचाउनु प्रमुख दायित्व हो । आर्शिवाद लिने भनेर सतर्कता नअपनाई अग्रज,वृद्धवृद्धाबाट टिका लगाउनु भन्दा उनीहरुलाई जोखिममा नपार्नु नै उत्तम हुन्छ । त्यस्तै अन्यले पनि स्वास्थ्य सतर्कता र सावधानी अपनाई टिका तथा आशिर्वाद ग्रहण गर्न सरकार र स्वास्थ्य विज्ञले सूचित गरिरहेका छन् । त्यसैले यस वर्षको विजयादशमीमा भिड–भाड नगरौं,टिका र आशिर्वाद लिन भनेर टाढा नजाउँ,धेरैको सम्पर्कमा नपुगौं , नियमित रुपमा स्वास्थ्य सतर्कता अपनाऔं । स्वस्थ रहौं , जीवन जोगाऔं । आफू सुरक्षित रहौं,आफ्नालाई पनि सुरक्षित राखौं । आर्शिवाद दिनेले शब्द,मनले दिऔं दूरीनै कायम गरेर लिनेले पनि लिन मिल्छ । यसै अवसरमा हाम्रा पाठकवृन्द,दर्शक,विज्ञापनदाता,सहयोगी,शुभेच्छुक,सहकर्मी लगाएत देश–विदेशमा रहनुहुने सम्पूर्ण नेपालीमा र्वतमान संकट र कोरोना भाइरसमाथि विजयी प्राप्त गर्ने सामथ्र्य मिलोस् भन्ने विशेष कामनासहित विजयादशमी–२०७७ को अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

https://www.globalaawaj.com/archives/60818
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।