ताजा अपडेट »

दशैँ पर्व : मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव

आइतबार, ०९ कार्तिक २०७७, १८ : ३१
44 Shares


विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको असर शारीरिक तथा मानसिक सस्थ्यमा मात्र होइन आर्थिक, सामाजिक , धार्मिक , सांस्कृतिक, चाडपर्व , रहन–सहन लगाएतका प्राय सबै क्षेत्रमा परेकोछ । कोरोना संक्रमणका कारण यस बर्ष दशैँलाई खुलेर हर्षोल्लासका साथ मनाउने अवस्थामा छैनौं। तर, जस्तोसुकै विषम अवस्थामा पनि हामीले हाम्रो धर्म, संस्कृति र परम्परा भुल्नु हुँदैन । यसको संरक्षणमा जोड दिनुपर्छ । यो वर्ष भने कोरोनाको संक्रमणलाई ध्यान दिँदै भौतिक दूरी कायम गरेर सुरक्षाका उपायहरु अपनाउँदै जो–जो जहाँ छन् त्यहिँबाट दशै मनाउनु नै उत्तम हुन्छ।

दशैैको सबैभन्दा महत्वपूर्ण पक्ष आशिर्वाद लिने,दिने र शुभकामनाको आदन–प्रदान गर्ने कार्य भएकाले भौतिक रुपमा भेटघाट हुन नसकेपनि बैकल्पिक रुपमा फोन वा सोसियल मिडियाको प्रयोग गर्न सकिन्छ । चाडपर्वको धार्मिक रूपमा मात्र होइन, सामाजिक, सांस्कृतिक र मनोवैज्ञानिक रूपमा समेत ठूलो महत्व रहेको हुन्छ। दशैँ–तिहार जस्ता महत्वका चाडपर्वहरुलाई कुनै जात , जाति र धर्म सम्प्रदायसँग मात्र सिमित नबनाई परम्परा र संस्कृतिका रूपमा विकसित गर्नुपर्दछ। यस्ता राष्ट्रिय चाडपर्वहरूले नेपालीहरुमा राष्ट्रिय एकता, शान्ति र सद्भाव कायम राख्न मद्दत गरिरहेको हुन्छ साथै नेपाली हुनुको गौरव र पहिचान गराउँछ ।किंवदन्ती अनुसार पनि बिजया दशंै असत्य माथि सत्यको जितको उत्सवका रुपमा मनाइन्छ । विजयको उत्सवले आत्मबल , आत्मविश्वास, जोश जागर, हौसला बढाउने तथा नैरास्यतालाई हटाउने गर्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार स्वस्थ्य भनेको शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिक चारै तवरबाट स्वस्थ हुनु हो । दशैँजस्ता चाडपर्वहरुले मानिसलाई यी चारै किसिमबाट स्वास्थ्य रहनका लागि मद्दत पुर्याइरहेको हुन्छन । दशैँ यस्तो मौसममा पर्छ जुनबेला खेती किसानी गर्ने व्यक्तिलाई कामको कुनै बोझ हुँदैन । कामको चपेटाबाट मुक्त भएर आराम गर्ने अवसर पनि हो दशैँ । चाडपर्वमा प्रायः सबैले सधैको भन्दा फरक मीठो मसिनो र पोषिलो खानेकुरा खाने गर्दछन् । दशैँमा विशेष रूपमा खाइने दही, चिउरा, घ्यू, फलफूल, मिठाई, माछा–मासु जस्ता खानेकुराले शरीरमा शक्ति प्रदान गर्छ । जसले शारीरिक रूपमा स्वस्थ्य रहन मद्दत पुर्याउँछ । दशैँमा पिङ्ग खेल्दा शारीरिक व्यायम हुनुका साथै खाएको गरिष्ठ भोजन पचाउन मद्दत गर्छ। पिङ्ग खेल्दा मनोरञ्जन पनि भैरहेको हुन्छ ।

दशैँको बेला ठूलाले सानालाई टिका लगाएर दिइने आर्शिवाद र एकअर्कामा गरिने शुभकामनाको आदान–प्रदानले व्यक्तिमा जोश, जाँगर र हौसला बढाउँछ । निराश मनमा पनि आत्मवलको सञ्चार हुन थाल्छ। आफन्त र साथीभाइसँगको भेटघाटले निराशा र एक्लोपन हटाउँछ । व्यक्तिलाई सही मार्गमा हिंड्ने प्रेरणा मिल्दछ र सकरात्मक सोचको विकास हुन्छ । यसले व्यक्तिको मानसिक स्वास्थ्य प्रवद्र्धनमा मद्दत गर्दछ । कोरोनाले धेरैलाई निराश बनाएको अहिलेको अवस्थामा आत्मबल, प्रेरणा र सकारात्मक सोँचको सञ्चार हुनु अति आवश्यक छ । दशैंको रमझमले खुसियाली र उमङ्ग लिएर आउँछ । अझ केटाकेटीहरू त दशैँ कहिलेआउँला भनेर दुई चार महिना अगाडिदेखि नै औँला भाँच्न थाल्छन्।

दर्शैँको अवसरमा आफन्त तथा साथीभाइहरूसँग गरिने भेटघाट र शुभकामनाको आदन–प्रदानबाट आत्मीयता, माया, प्रेम, सद्भाव, भाइचारा, मेलमिलाप र निकटता कायम राख्न मद्दत गर्दछ । यसले मानिसलाई सामाजिक रूपमा स्वस्थ्य बनाउछ । घर छोडेर विदेशिएका वा टाढा परदेश गएका परिवारका सदस्यहरूलाई एकै ठाउँमा ल्याउने चाड हो दशैँ । विदेशिएका धेरै नेपालीहरू दशैँको अवसरमा स्वदेश फर्किने समय कुरेर बसेका हुन्छन् । तर भलै यो पटक भने धेरै नेपालीहरु दशैमा पनि घर फर्कन पाएनन् । नाती–नातिनादेखि हजुरबुबा, हजुरआमा एकै ठाउँमा भेला भएर हर्षोल्लासका साथ मनाइने दशैँले बढ्दै गएको जेनेरेशन ग्यापलाई कम गर्न र सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत गर्दछ । दशैँको बेला विभिन्न शक्तिपिठहरूमा गएर गरिने पूजापाठले व्यक्तिलाई आध्यात्मिक बनाउन मद्दत गर्दछ । आत्मिक शक्ति प्रदान गर्दछ । आत्मिक शक्तिले व्यक्तिलाई मानसिक रूपमा पनि सवल बनाउँछ । आध्यात्मिक स्वास्थ्यले व्यक्तिलाई अनुशासित, नैतिकवान र कर्तव्यनिष्ठ बनाउँछ ।

मानसिक स्वास्थ्यका लागि चाडपर्वले थेरापीकै काम गरिरहेको हुन्छ । चाडपपर्वको मनोवैज्ञानिक पक्षलाई बुझि यसलाई धर्मको रुपमा नहेरी चाडपर्वको रूपमा स्विकार गर्ने र मनाउने हो भने धेरै राम्रो हुन्छ । दशैँ नेपालीहरूको मौलिक पर्व पनि हो । नेपालमा मगर, गुरुङ, राई, लिम्बु, थारु, नेवार, क्षेत्री, बाहुन आदि जातिमा जस्तो चामलको टिका र जमरा लगाउने चलन संसारका अन्य कुनै पनि जाति वा हिन्दुहरूमा पाइँदैन। दशैमा चामलको टीका लगाएर अन्नको नाश भयो भन्ने गरेको पनि सुनिन्छ। तर,चामलको टिका लगाउनु अन्नको सम्मान गर्नुहो । यसको महत्वलाई बुुझ्नु हो । यसले नेपाल कृषि प्रधान देश हो भन्ने कुरा पनि झल्किन्छ ।

दशैमा लगाईने रातो रङ्ग मिश्रित चामलको टिकाले मानिसमा उर्जा , जोश ( जागर , उत्साह, साहस बढाउछ । रातो रंग शक्ति, उत्साह , सौभाग्य र बिजयको प्रतिक हो । दशैँमा टिकासँगै जमरा लगाउनुको पनि अर्थ छ । जमराको जुस जसलाई अमृतरस भनिन्छ । जमराको जुस दैनिक सेवनले धेरै किसिमका रोगहरू लाग्नबाट हामीलाई बचाउँछ र दीर्घ जीवन दिन्छ । दशैँमा जमरा लगाउनुको अर्थ जमराको औषधि गुण र महत्वलाई झल्काउने प्रतिकको रूपमा लिनु पर्छ। दशैँमा टीका लगाएर दक्षिणा दिनु पनि आफैमा नराम्रो होइन । चाडपर्वको बेला किनमेल गर्दा पैसा खर्च हुने, ऋण समेत लाग्न सक्ने हुँदा सक्नेले गच्छे अनुसार टिका लगाएर पैसा दिंदा यसले थोरबहुत ऋणबाट मुक्त हुन र आर्थिक अवस्था सुधार गर्न मद्दत गर्दछ ।

यस वर्ष त कोरोनाको कारण अर्थतन्त्र नै तहस–नहस भएको छ। धेरैको आर्थिक अवस्था कमजोर भएकोछ । ‘घाँटी हेरी हाड निल्नु ।’ पर्दछ भन्ने मान्यता अनुरुप आफ्नो गच्छे अनुसार बिना तडक भडक चाडपर्व मनाउनु पर्छ। ‘दशैँ आयो, खाउँला पिउँला के खाउँला, चोरी ल्याउँला ।’अर्थात् जसरी पनि मिठोमसिना खानैपर्छ, जसरी पनि राम्रो लगाउनै पर्छ भन्ने सोचले दशैँलाई बोझिलो र तनावपूर्ण बनाउनु हँुदैन । चाडपर्वलाई फजुल खर्च गर्ने बाहनाको रूपमा होइन , आफूलाई उत्साहित गर्ने , आपसी सम्बन्ध प्रगाढ बनाउने, माया प्रेम र सद्भाव बढाउने अवसरको रूपमा लिनु पर्दछ । साथै चाडपर्वको बेला जुवातास खेल्ने, होहल्ला गर्ने, रक्सी खाने, झै झगडा गर्ने जस्ता नकारात्मक पाटोलाई हटाउनु पर्छ ।

दशैँको बेला देवी–देवताको नाममा चढाइने बली भने एक किसिमको अन्धविश्वास नै हो । प्राणी हत्या महापाप हो। तर पेटको लागि मानिसहरु जस्तोसुकै पाप गर्न र बाहना बनाउन पछि पर्दैनन। मान्छेले आफ्नो पापलाई छल्न देवी–देवतालाई बली चढाएको प्रसाद भन्दै खाने निहुँ र बाहना बाहेक अरु केही होइन बली प्रथा। यदि सबै प्राणी देवी–देवताको सृष्टि हुन् भने आफैले सृष्टि गरेको आफ्नै सन्तानलाई आफ्नै आमाले भोग कहिल्यै माग्दिनन । बली प्रथाले स्वयम् व्यक्तिलाई हिंस्रक, मानसिक रूपमा कमजोर, चिट,चिटाहाट, अस्थिर र रिसाहा बनाउने गर्दछ ।


शाकाहारी व्यक्तिहरूलाई दशैँको बेला हुने मारकाटले अत्यन्तै धेरै तनाव पुर्याउछ । खसीबोकाको क्रन्दन, रगत र काटमारको दृश्यले उनीहरूलाई दुखी र मानसिक रूपमा अस्थिर बनाउने गर्दछ । वास्तवमा बली चढाउनु भनेको आफ्ना कमिकमजोरी, खराब आचरण, असुरी र दुर्बल पक्षहरू, पासाविक मनोवृत्ति, काम, क्रोध, लोभ र मोहजस्ता कुरा छोड्ने संकल्प देवीदेवताका सामु राख्नु हो । आफ्नो गलत कार्यको प्रायश्चित गर्नु हो । दशैमा विशेष गरि शक्तिपिठहरूमा दुर्गा भवानीको पूजा गरिन्छ । दुर्गा माता अर्थात् महिला वा स्त्रीलाई शक्तिको रूपमा पूजा गर्नु, शक्तिको प्रतीकको रूपमा लिनु हाम्रोजस्तो पुरुषप्रधान समाजका लागि अर्थपूर्ण र महत्वपूर्ण रहेकोछ।-(लेखकः ढकाल मार्क नेपाल मनोसेवा केन्द्रमा कार्यरत छन् )

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।